विगत ४ वर्षदेखि युवा पुस्तामा निःशुल्क फिटनेशको तालिम दिँदै आएको नेपाल युथ फिटनेश एन्ड केलिस्थेनिकसले आउँदो शनिबार काठमाडौंको बौद्धस्थित शान्तिपार्कमा खुला ब्यायाम प्रतियोगिताको आयोजना गर्ने भएको छ।
‘तेस्रो स्ट्रिट वर्कआउट’ नामाकरण गरिएको प्रतियोगितामा महिला, पुरुष, ३५ वर्षमाथि र खुला गरी ४ वटा विधामा १ सय २१ खेलाडीले भाग लिदैछन्। जसमा बंगलादेशबाट एक महिला खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा ‘बार वर्कआउट’ तर्फ पुलअप, बारडिब्स, टोज टु बार र मसल्सअप समावेश गरिएको छ। यस्तै, ‘सर्किट वर्कआउट’ मा डेढ किलोमिटरको दौड, टायर फ्लिप, पुसप्रेस, बक्स जम्प र फार्मस क्यारी स्पर्धालाई समावेश गरिएको छ।
‘बार वर्कआउट’ र ‘सर्किट वर्कआउट’ गरी दुबै बिधामा उपाधि जित्ने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार र ‘नेपाल्स फिटेस्ट’ को उपाधि प्राप्त गर्नेछन्।
यस्तै, विभिन्न विधामा पुरस्कार जित्ने ४ जनामध्ये पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। नेपाल युथ फिटनेश एन्ड केलिस्थेनिक्सका अध्यक्ष सुकदेब कार्कीले प्रतियोगितामा १२ जना पुरस्कृत हुने बताए।
प्रतियोगिताको निर्णायक मण्डलीमा ‘क्रसफिट एल–१’ ट्रेनर समावेश रहने छन्। प्रतिस्पर्धाको दिन निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको पनि आयोजना हुनेछ।
‘यति बृहत स्केलमा आयोजना हुन लागेको पहिलो पल्ट हो,’ अध्यक्ष कार्कीले बताए। उनले प्रतियोगिता बिहान साढे ९ बजेदेखि सुरु हुने बताए। प्रतियोगितालाई ‘पिन्टोला पिनट बटर’ले प्रायोजन गर्दैछ। अध्यक्ष कार्कीले खुला स्थानमा पनि स्वास्थ्यसम्बन्धि गतिविधि गर्न सकिन्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
उनले भने–‘अहिलेको युवा पुस्ताले सानैदेखि अनुशाषित ब्यायाम गरेर जीवनमा ल्याउने सकारात्मक परिवर्तनलाई महसुस गरुन भन्ने उद्देश्यले संस्थाले विगत ४ वर्षदेखि यस्तो गतिविधि गर्दै आइरहेको छौं।’
संस्थाले हरेक शनिबार स्थानीय युवायुवतीलाई निशुल्क तालिम दिँदै आइरहेको छ। यो विगत ३४ हप्तादेखि नियमित छ। काठमाडौंको सफलतापछि यस्तो तालिम पोखरा र नेपालगञ्जमा पनि सुरु भइसकेको छ।