२१ राष्ट्रका १४९ खेलाडी सहभागी नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशिया ब्याडमिन्टन महासंघको तत्वावधानमा योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को बुधबार सुरुवात भएको छ।
पहिलो पटक संचालन भएको च्यालेञ्जमा दिपेश धामी र विष्णु कटुवालले विजयी सुरुवात गरेका छन्। दिपेशले भारतका दीपक शर्मा माथि २१ – १०, २१ – १६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन्। यस्तै विष्णुले भुटानका निदुप दोर्जीलाई पराजि गर्दै दोश्रो चरणमा स्थान बनाए। विष्णुले दोर्जीमाथि २१ – ९, २१ – ४ को सहज जित निकालेका थिए।
तर नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ्ग भने पराजित हुन पुगे। तामाङ्ग थाइल्याण्डका अदुईराच नामकुलसँग २१ – ९, २१ – ४ अंकका साथ पराजित भएका हुन्।
अर्का नेपाली खेलाडी नविन श्रेष्ठले भने प्रतिद्वन्दिबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन्। नविनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए।
विकास श्रेष्ठ र प्रफुल महर्जनले पनि आफुलाई खरो उतार्न सकेनन्। विकास इङ्गल्याण्डका खेलाडी वाङ्ग युह्वाङ्गसंग २१ – १३ र २१ – १४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसंग २१ – १४, २१ – १० ले पराजित भए। यसैगरि अर्का खेलाडी साजन कृष्ण ताम्राकारले वाकओभर दिए। उनको प्रतिस्पर्धा भारतका किरण कुमार मेलकासँग हुने तय थियो ।
नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरुको विश्वास कायम राख्न असफल भए। दुवई अन्तराष्ट्रिय सेरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१ – १७, २१ – १२ को पराजित भए।
खेलाडी सुनिल जोशी र जीवन आचार्यले पनि नेपाली दर्शकलाई निरासनै प्रदान गरे। सुनिल अष्ट्रेलियाका खेलाडी केथ मार्क ईडिसन संग २२ – २०, २१ – ११ ले तथा जीवन भारतका सिलि बर्मासँग २१ – १२, २१ – १३ ले पराजित भए।
महिलातर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनकनै रह्य। नजिकै आईरहेको १३ औं दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेको खेलाडीहरुले विदेशी खेलाडीका सामु टिक्न सकेनन्।
महिला युगलतर्फ अमिता गिरी र अनुमाया राईको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिख संग २१ – १७, २१ – ८ ले, पुजा श्रेष्ठ र जेशिका गुरुङ्ग बंगलादेशका अक्तर सप्ला र अलिना सुल्तानसँग २१ – ९, २१ – १४ ले, निता लम्साल र सिमा राजबंशीको जोडी भारतका मनिषा र रुतापर्ना पन्डा संग २१ – १४, २१ – १४ को समान अन्तरले तथा रशिला महर्जन र सिता राईको जोडी भारतकै अपर्ना बलान र त्रिशा जोलीसंग २१ – १०, २१ – १० को समान अन्तरले पराजित भए।
२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरि कुल ५ विधामा नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।