दक्षिण एसियाली खेलकुद (साग) को चुनौतीको रुपमा रहेको निर्माणाधिन दशरथ रंगशाला मंसिर पहिलो साता तयार हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दाबी गरेका छन्।
आगामी मंसिर १५ गतेदेखि सुरु हुने सागको उद्घाटन र समापन रंगशालामा हुने तय छ। यस्तै रंगशालामा फुटबल र एथ्लेटिक्सको प्रतिस्पर्धा हुँदैछ।
'पूर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएका छौ, बढीमा १५ दिनमा सम्पूर्ण निर्माण सकिन्छ,' मन्त्री विश्वकर्माले आइतबार सेतोपाटीसँग भने।
अहिले दशरथ रंगशालाको भिआइपी प्याराफिटको छान हाल्नका लागि काम भइरहेको छ। प्याराफिटको 'बेस' रुपमा रहेको १९ वटा पोल मध्ये अहिले १३ वटा पोल ठड्याइएको छ।
'बाँकी ६ पोल पनि आज खडा गरिनेछ। ट्रास्ट हाल्ने काम भोलिदेखि सुरु हुन्छ,' मन्त्री विश्वकर्माले भने, 'बुधबारसम्म चाइनबाट फेब्रिकको छाना आउने छ। अर्को आइतबार चिनियाँ कम्पनिबाट छाना फिट गर्ने प्राविधिक आउँनेछन्। कुर्ची र लाइट फिट गर्ने काम गरिरहेका छौ। मंसिरको पहिलो साता प्याराफिटको निर्माण सकिन्छ।'
सागको अर्को भेन्यू पोखरा रंगशालाको निर्माण पनि मंसिर पहिलो साता सकिने मन्त्रीको दाबी छ।
'पोखरा रंगशालामा हालिने स्टिलको प्याराफिटको केहि सामग्री फ्रान्सबाट आएका छन्, केहि आइरहेका छन्,' मन्त्रीको भनाइ छ।
यस्तै सातदोबाटोमा निर्माण भइरहेको हिटिङ पौडी पोखरा पनि मंसिरको २–३ गतेसम्म सकिनेमा मन्त्री विश्वस्त छन्।
साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुने तय सागको अन्य पूर्वाधार लगभग तयार छन्।
अन्य पूर्वाधार निर्माण भने सकिएका छन्।
सागका लागि निर्माण भइरहेका पूर्वाधार निर्माणले गति लिन नसकेपछि मन्त्री स्वयम् निर्माणस्थलमा खटिएका छन्। विगत दुई सातादेखि मन्त्रीले रंगशालामा परिषरमा सचिवालय खडा गरेका छन् भने अधिकांस समय अनुगमनमा खटिएका छन्।
'मंसिर १५ आइसक्यो तर, पूर्वाधारका निर्माणका काम सकिएनन्। कामको गतिलाई दोब्बर-तेब्बर पार्नु भएकाले निर्माण स्थालमै केन्द्रित भएका हौं। काम गर्दै जादा स-सना समस्या हल गर्न तथा निर्माण कम्पनीलाई सहजीकरण गर्नका लागि निर्माणस्थालमै आउने गरेको छु, ' मन्त्रीले भने।
झन्झटिलो प्रक्रियाले काम ढिलाइ भएको पनि मन्त्री बताउँछन्। लभन्छन्,'निर्माण सामग्री विदेशबाट ल्याउनु पर्ने, ऐन–कानुन र प्रक्रियाले समय लाग्ने, ठेकेदारको सीमा र काम गर्ने शैलीले पनि चुनौती भएको थियो।'
पूर्वाधार अन्तिम समयमा निर्माण गर्दा गुणस्तरमा कमी आउने कतिपयको तर्क छ। तर मन्त्री विश्वकर्मा प्रतियोगिता राष्ट्रको प्रतिष्ठाको विषय भएकाले कमजोरी हुन नदिने बताउँछन्।
'तीव्र गति काम गर्दा गुणस्तरमा कमी हुन्छ की भन्नेमा गम्भीर छौं,' उनले भने, 'त्यसैले आफै फिल्डमा बसेको छु। गुणस्तरमा हामी सम्झौता गर्दैनौ।'
यसअघि निर्माणाधिन पूर्वाधार समयमा सम्पन्न गर्ने प्रतिबद्धतापछि मात्र साग निर्धारित मितिमै हुने शनिबार मात्र पक्का भएको थियो।
नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको थियो। बैठकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र भाल्दिभ्सका प्रतिनिधि सहभागी थिए।
सागमा २७ खेलमा प्रतिस्पर्धा हुने तय भए पनि प्याराग्लाइिङमा सहभागी देश संख्या नपुग्ने देखिएको छ।
नेपालले २७ खेलमै भाग लिन नाम दर्ता गराएको छ। श्रीलंका र बंगलादेशले समान २५ खेलमा भाग लिने पक्का भइसकेको छ। पाकिस्तानले १८, भारतले १७, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा मात्र सहभागिता जनाउनेछन्।