नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले यहि भदौ २४ र २५ गते नवौं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ।
प्रतियोगितालाई व्यवस्थित एवं भब्य रुपमा सम्पन्न गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।
छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ।
पुरुष/महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
१६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने संयोजक मुस्लिमले जनाएका छन्। उक्त प्रतियोगितामा पुरुष/महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुने छन् । खेलाडी छनोट फिना अंक आधारमा गरिने छ ।
छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुनेछ ।
मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिता निकै भब्य र व्यवस्थित हुने संयोजक मुस्लिमले बताए।