हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका २ खेलाडीले नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्।
एक सय मिटर बलरफ्लाइटमा सैयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको प्रशिक्षक ईश्वर कार्कीले जनाएका छन्।
उनले १ मिनेट ०१.२२ सेकेन्डमा निर्धारित दूरी पौडिएका थिए। राष्ट्रिय रेकर्ड बनाए पनि हम्जा ८२ खेलाडी सहभागी भएकोमा ६४ औं स्थानमा रहे।
यसअघि यो कीर्तिमान ०१ मिनेट ०३.४३ सेकेण्डको टाइमिङमा आनन्द लेप्चाको नाममा थियो। लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए।
महिला एक सय मिटर ब्रेस्टस्टोकमा अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत वैद्यले ०१ मिनेट २३.८९ सेकेण्डमा पौडिएर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
वैद्यसँगै पौडिएकी टिसा शाक्यले पनि आफ्नै नाममा रहेको पनि राष्ट्रिय कीर्तिमान भंग गरेर आफ्नो टाइमिङ सुधारिन्। टिसाले १ मिनेट २४.५९ मा पौडिएकी थिइन्।
यसअघि यो रेकर्ड टिसाको नाममा १ मिनेट २५. ८२ सेकेन्ड टाइमिङमा थियो।
राष्ट्रिय रेकर्ड बनाएका अदिप्सा ६२औं र टिसा ६३औं स्थानमा रहे। यो प्रतिस्पर्धामा ६७ खेलाडीले भाग लिएका थिए।
आइतबारसम्म चल्ने प्रतियोगितामा नेपालका ४–४ पुरुष र महिला खेलाडीले भाग लिएका छन्।
पुरुष खेलाडीमा हम्जासँगै गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल छन्। महिलामा टिसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले बुडापेस्टमा छन्। प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन्।