चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले हाफ म्याराथनमा स्वर्ण जितेका छन्।
सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले शुक्रबार सम्पन्न खेलमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका हुन्। ३० वर्षमाथिको विधामा कुदेका निमेष समग्रमा पनि पहिलो भएका हुन्।
प्रतिस्पर्धामा चीनका जुनफाङ देइले १ घन्टा १० मिनेट ०४ सेकेन्डमा दौडिएर दोस्रो भए। अस्ट्रेलियाका मार्क मार्टिन तेस्रो भए।
पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो। प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा हुन्छ।
एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।
निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।
सिंगापुमार हुने स्थानिय प्रतियोगितमा प्रत्येक साता जस्तो पुरस्कार जित्ने निमेषले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।