गोरखाको ऐतिहासिक लिगलिगकोटदेखि बारपाकसम्म म्याराथुन दौड हुने भएको छ।
दौडेर राजा हुने प्रचलन रहेको लिगलिगकोटदेखि २०७२ बैशाख १२ को भूकम्पको केन्द्र बारपाकसम्म करिब ५० किलोमिटर दौड हुन लागेको हो।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले साउन २५ गते दौड आयोजना गर्न लागेको धार्चे मनास्लु पर्यटन विकास समिति गोरखाका अध्यक्ष साने गुरुङले जानकारी दिए। बारपाकमा भूकम्पको केही असर बाँकी छ, घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा पुर्याउन दौड आयोजना गरिएको हो।
गुरुङका अनुसार पालुङटार लिगलिगकोटदेखि सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै अजिरकोटको भच्चेकबाट बारपाकसम्म पुग्नेछ। पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सहकार्यमा दौड आयोजना गरिएको उनले बताए।
दौडमा स्वदेशी/विदेशी धावक सहभागी हुन पाउँछन्।