नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा काठमाडौंमा हुने लागेको १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ।
तेस्रो पटक नेपालमा हुन लागेको प्रतियोगितामा सार्क राष्ट्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका बडिबिल्डरको सहभागिता रहनेछ।
भोलि बिहीबार खेलाडी दर्ता हुनेछ भने शुक्रबार र शनिबार प्रतिस्पर्धा हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा १३० भन्दा बढी बडिबिल्डरले भाग लिनेछन्।
प्रतियोगितामा ५५, ६०,६५, ७०, ७५, ८०, ८५ र ९० केजी र सो भन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो पटक जुनियर शारीरिक सुगठन, पुरुष फिटनेट फिजिक्स, पुरुष एलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, महिला एथ्लेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स समूह गरी १८ समूहमा प्रतिस्पर्धा हुनेछ।
विश्व बडिबिल्डङ तथा फिजिक स्पोर्टस महासंघ र एसियन बडिबिल्डिङ तथा फिटनेस महासंघको अध्यक्ष डाटुक पाउल चाउ समेत प्रतियोगितामा उपस्थित हुनेछन्।