सिमोना हलेपले पहिलो पटक विम्बल्डन ओपन टेनिस प्रतियोगिता जितेकी छिन्।
रोमानियाका सिमोनाले अमेरिकाकी सेरेना विलियम्सलाई २-० को सोझो सेटमा पराजित गरेर महिला एकलतर्फ उपाधि जितेकी हुन्।
उनले पहिलो दुवै सेट समान ६-२ को स्कोरमा जितेकी थिइन्। फाइनल जित्न उनले केवल ५६ मिनेट लगाएकी थिइन्।
सिमोनाले यसअघि सेरेनासँग खेलेका १० मध्ये ९ खेल गुमाएकी थिइन्। एघारौं खेलमा दोस्रो जित निकाल्दा उनले ग्रान्डस्लामको उपाधि जित्न सफल भइन्।
यता हारसँगै सेरेनाको २४औं ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। ३७ वर्षीय सेनाले पछिल्लो १२ महिनामा तेस्रो पटक मुख्य प्रतियोगिताको फाइनल गुमाएकी हुन्।
पुरुष एकलको उपाधिका लागि आइतबार राति नोभाक जोकोविच र रोजर फेडेररबीच प्रतिस्पर्धा हुँदैछ।