जनकपुर उपमहानगरपालिकाले यसै आर्थिक वर्षको अन्त्यमा आएर मेयरकप प्रतियोगिता आयोजना गर्ने भएको छ।
उपमहानगरले जेठ महिनामै रकम भुक्तानी गरे पनि मेयरकप आयोजना नभएको भन्दै आलोचना भएपछि हतार हतारमा हुन लागेको हो।
चालु आर्थिक वर्षमा मेयर कपका लागि ४० लाख छुट्याइएको थियो। सो रकममा २९ लाख २१ हजार ७ सय ५० रुपैयाँ मात्रै प्रतियोगिताका लागि उपलब्ध गराइएको छ। बाँकी १० लाख ७८ हजार २ सय ५० रुपैयाँ जेठ महिनामै अर्को शिर्षकमा खर्च गरेर भुक्तानी समेत भई सकेको पाइएको छ।
मेयरकपको नाममा छुट्याइएको रकमबाट १० लाखभन्दा बढी रुपैयाँ कुन शीर्षकमा खर्च भएको भन्ने जानकारी आयोजक पक्षले दिएको छैन।
प्रतियोगिताको रकम भ्रष्टाचार हुन थालेको भन्ने आरोप लगाइ रहँदा आयोजक पक्षले भने प्राविधिक कारण र अनुकूल मौसम नभएका कारण प्रतियोगिता आयोजना गर्न ढिलाइ भएको जवाफ दिएको छ।
धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र उपमहानगरको सहयोगमा आयोजना हुने प्रतियोगितामा कराते, तेक्वान्दो र कब्बडी प्रदेशस्तरीय हुनेछ भने फुटबल र भलिबल खेल नगरस्तरीय आयोजना गरिने छ।
मेयर कपमा प्रदेश दुईको आठ वटै जिल्लाबाट ६ सय २८ खेलाडीले सहभागिता जनाउने छन्। कराते, तेक्वान्डो र कबड्डी खेलमा पुरुष र महिला दुबैको सहभागिता रहने छ।
असारको अन्तिम सातामा जम्मा दुई दिनसम्म चल्ने मेयरकपमा १ सय ८२ मेडलका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक खेलमा प्रथम हुनेलाई ३० हजार, दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।