राफेल नाडालले १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। उनले विश्व वरियतामा चौथो स्थानमा रहेका अस्ट्रियाका डोमिनिक थिएमलाई पराजित गर्दै उपाधिमा लगातार तेश्रो वर्ष कब्जा जमाएका हुन्।
उनले डोमिनिकलाई आइतबार भएको फाइनलमा ६-३, ५-७, ६-१ र ६-१ को सेटमा पराजित गरेका हुन्।
३३ वर्षिय नाडाल एउटै ग्राण्ड सलाम उपाधि १२ औँ पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन्।
जितपछि नाडालले १२ औं पटक उपाधि जित्नुलाई 'सपना जस्तो' भनेर प्रतिक्रिया दिएका छन्।
'मैले के हासिल गरे भनेर बयानै गर्न सक्दिन। यो सपना हो', नाडालले भने, 'पहिलो पटक सन् २००५ मा खेल्दा मैले सन् २०१९ मा पनि यहि हुन्छु भनेर सोचेको थिइन। यो अभूतपूर्व क्षण हो र मेरा लागि अति विशेष।'
नाडालले कुल १८ वटा मूख्य उपाधि जितेका छन् । उनीभन्दा अगाडि रोजर फेडेरर सर्वाधिक २० वटा प्रमुख उपाधि जितेका छन् ।