भुटानको राजधानी थिम्पुमा सम्पन्न पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी सिन्धु टाइगर टिमले तीन स्वर्ण पदकसहित छ रजत र दुई कास्य पदक जितेको छ।
जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीको नेतृत्वमा सहभागी १३ जनाको टोलीमध्ये १० जनाले ११ पदक जितेका हुन्।
प्रतियोगितामा पुम्सेतर्फ भण्डारीले टोलीको लागि पहिलो स्वर्ण पदक दिलाएका थिए। त्यस्तै, क्याडेटतर्फबाट ३३ केजी तौल समूहमा भिडेका सिसम श्रेष्ठले पनि फाइनल खेल आफ्नो पक्षमा पार्दै स्वर्ण जितेका हुन्। जुनियर ५२ केनी तौल समूहमा प्रतिस्पर्धा गरेकी सञ्चिता खड्काले पनि टोलीको लागि स्वर्ण पदक जित्न सफल भइन्।
अध्यक्ष भण्डारी पुत्र सगुनसहित सविन कार्की र दिप्सन केसी तीनै जनाले पनि १५ वर्षभन्दा कम उमेर समूहबाट प्रतिस्पर्धा गर्दै एक/एक रजत पदक हात पारे। टोलीको लागि रजत पदक जित्नेमा ५७ केजी तौल समूहबाट सोनी लामा, ४९ केजीबाट चमेली तामाङ र ७४ केजीबाट गंगा तामाङ छन्। उनीहरूले सिनियर समूहतर्फबाट प्रतिस्पर्धा गरेका थिए।
४१ केजी क्याडेटमा प्रतिस्पर्धा गरेका सागर खड्का एक कास्य पदक दिलाए भने जुनियर ४८ केजी समूहमा समेत प्रतिस्पर्धा गरेका सविन कार्कीले एक रजतसहित एक कास्य हात पारे। सहभागी सबै सिन्धुपाल्चोक जिल्लाका बासिन्दा हुन्।
जिल्लामा तेक्वान्दो विकासका लागि गरेको मेहेनत अनुसार राम्रै प्रतिफल हात परेको टोली संयोजक भण्डारीले बताए। सेतोपाटीसँग भुटानबाटै सामाजिक सञ्जालमा कुरा गर्दै भण्डारीले यो सफलताले आफूलाई धेरै हर्षित बनाएको बताए ।