नेपाली सेनाले आयोजना गरेको ‘प्रथम रारा ट्रेल रन प्रतियोगिता’को उपाधि जुम्ला कनका सुन्दरी गाउँपालिका–३ का दुर्गबहादुर बुढाले जितेका छन् । जैविक विविधता दिवसको अवसरमा नेपाली सेनाले रारामा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
बुढाले ताल वरीपरीको १५ किलोमिटर दूरी ५५ मिनेट ३८ सेकेण्डमा पूरा गरेका थिए । उनले एक लाख रूपैयाँ नगद पुरस्कारसहित ट्रफी जिते ।
प्रतियोगितामा कनका सुन्दरी–१ का धीरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नवराज सावद तेस्रो, भीमबहादुर बुढा चौथो तथा कनका सुन्दरी–१ का प्रकाश कठायत पाँचौ भए । उनीहरुले क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत गरी १ सय ३० खेलाडी सहभागी थिए ।
उक्त प्रतियोगिताको उद्घाटन उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले उद्घाटन गरेका थिए । खेल पर्यटनलाई प्रवद्र्धन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
आगामी वर्ष महिला–पुरुष अल्ट्रा म्याराथुन प्रतियोगिता आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।
(रासस)