फूल म्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फको उपाधि नेपाल पुलिसले जितेको छ।
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार बिहान दाङमा भएको म्याराथन प्रतियोगितामा नेपाल आर्मीका कृष्ण बस्नेतले स्वर्ण पदक हात पारे। उनले ४२.१२९ किलोमिटर दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए।
राष्ट्रिय प्रतियोगितामा भने बस्नेतले स्वर्ण जितेको यो नै पहिलो पटक हो।
म्याराथनमा प्रदेश ६ का दुर्गा बुढा यो स्पर्धामा द्वितिय स्थान हासिल गर्दै रजत पदक जिते। उनले यो दूरी पार गर्न २ घण्टा १८ मिनेट ३९ सकेन्ड लगाएका थिए । म्याराथनको तेस्रो स्थान भने विभागीय टिम सशस्त्रले हासिल गरेको छ। एपिएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट ७ सकेन्डमा ४२.१२९ किलोमिटर दूरी पार गर्दै कास्य पदक जितेका हुन ।
महिला फूल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले स्वर्ण पदक जितेकी छन् । दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा उनले उक्त दूरी पार गरेकी हुन्।
रजत पदक भने एपिएफले जितेको छ। ३ घण्टा ५३ सेकेन्डमा ४२.१२९ किलोमिटर दूरी पार गर्दै एपिएफकी पुष्पा भण्डारी रजत पदक जितेकी हुन्। म्याराथन दौडमा नेपाली सेनाकी सरिता बासीले तृतीय स्थान हासिल गर्दै कास्य पदकमा चित्त बुझाउनु पर्यो। उनले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा ४२.१२९ किलोमिटर दूरी पार गर्दै कास्य पदक जित्न सफल भएकी हुन्।
आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्तरगतको फूल र हाफ म्याराथन सोमबार बिहान साढे ६ बजेदेखि दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालाबाट सुरू भएको थियो।
४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट सुरू भएर घोराही–तुलसीपुर सडक खण्ड अन्तरगत हेमन्तपुर, विजौरी, ग्वारखोला, पर्सेनी, तुलसीपुर हुँदै सुर्खेत सडक खण्डको दोघरे, डाडाँचिस, बागर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ ७ नम्बर वडा कार्यालय अगाडि हुँदै कुमलगढी,गहतेखोला पुल बाट घुमेर फेरि तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुर हुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड लगाए पछि भएको थियो। योसँगै दाङमा भएका एथ्लेटिक्स अन्तरगतका सम्पूर्ण खेलहरू सकिएका छन्।