आइतबार भएको पाँच हजार मिटर दौडमा महिलातर्फ प्रदेश ३ ले स्वर्ण पदक जितेको छ। प्रदेश ३ की सन्तोषी श्रेष्ठले १६ मिनेट ३८ दशमलव ६ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्।
यो स्पर्धामा आर्मीकी विश्वरूपा बुढाले रजत पदकमा चित्त बुझाउनु पर्यो।
बुढाले उक्त दूरी पार गर्न १६ मिनेट ४६ दशमलव १ सेकेण्ड लगाएकी थिइन्। स्पर्धा अन्तरगत एपिएफकी बृन्दा धनके श्रेष्ठले १७ मिनेट शून्य ३ दशमलव ८ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक जितेकी छन्।
पुरुष ५ हजार मिटर दौडको उपाधि एपिएफलाई
५ हजार मिटर पुरुष दौडमा एपिएफका गोपीचन्द्र पार्कीले १४ मिनेट ४४ दशमलव ३ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका छन्।
प्रदेश ६ का दुर्गा बुढाले १४ मिनेट ४६ दशमलव शून्य ६ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जित्दा प्रदेश ४ का अनिष थापाले १४ मिनेट ५७ दशमलव १ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक हात पारे।
महिला ट्रिपल जम्पको उपाधि एपिएफलाई
ट्रिपल जम्प अन्तरगत आइतबार भएको फाइनलमा महिलातर्फ शिला चौधरीले स्वर्ण पदक हात पारिन्।
उनले ११ मिटर १४ सेन्टिमिटरका साथ स्वर्ण पदक जितेकी हुन्। यो स्पर्धामा प्रदेश ५ की पूजा चौधरीले १० मिटर ६० सेन्टिमिटर छलाङ मार्दै रजत पदक र प्रदेश ५ कै सिमा चौधरीले १० मिटर ५७ सेन्टिमिटर छलाङ मार्दै कास्य पदक हात पारिन्।
पुरुषतर्फको उपाधि प्रदेश नं. ३ लाई
पुरुषतर्फ ट्रिपल जम्प पुरुषतर्फ प्रदेश ३ का भुवन महतोले स्वर्ण पदक जितेका छन्।
उनले १४ मिटर ६० सेन्टिमिटरको छलाङ मारेका थिए। आर्मीका डिल्ली खत्रीले १३ मिटर ९८ सेन्टिमिटरका साथ रजत पदक हात पार्दा आर्मीकै आशिष चौधरीले १३ मिटर ९० सेन्टिमिटरका साथ कास्य पदक जिते।
महिला चार गुणा चार सय मिटरको उपाधि आर्मीलाई
चार गुणा चार सय महिला रिले दौडमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। उक्त स्पर्धामा आर्मीका खेलाडीहरू कृष्णा चौधरी, संगीता मेचे, तुलसा खत्री र सरस्वती भट्टराईले ४ मिनेट २ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन्।
एपिएफका भागिरती थारु, सानुका थापा, फूलमती राना र स्वस्तीका श्रेष्ठको समूहले ४ मिनेट १३ दशमलव १४ सेकेण्डका साथ रजत पदक हात पारे।
प्रदेश ५ ले कास्य पदक हात पारेको छ। यो स्पर्धामा सहभागी अरुणा रिजाल, पूर्णीमा खड्का कमला जैसी र पूजा चौधरीको समूहले ४ मिनेट २२ दशमलव ४९ सेकेण्डको समय निकालेका थिए ।
पुरुष ४ सय मिटरको उपाधि एपिएफलाई
पुरुषतर्फ ४ सय मिटर रिले दौडमा एपिएफ ३ मिनेट २० सकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेको छ भने आर्मीले ३ मिनेट २४ सेकेण्डका साथ रजत पदक हात पारेको थियो।
त्यसैगरी कास्य पदक जितेको प्रदेश ५ ले ३ मिनेट ३४ सेकेण्डमा उक्त दूरी पार गरेको थियो।