आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको बेलझुण्डीमा बिहीवारदेखि एथ्लेटिक्सका खेल सुरू भएका छन्।
बेलझुण्डी रंगशालाको सेन्थलेटिक ट्रयाकमा जारी प्रतियोगिता अन्तर्गत एक सय मिटर महिला र पुरुष, दस हजार मिटर महिला पुरुष र सटपुटका खेल सकिएका छन्।
१०० मिटर दौडमा आर्मीकी सरस्वती र पुरुषतर्फ आशिषलाई स्वर्ण
एक सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक हात पार्न सफल भएकी छन्।
चौधरीले १२ दशमलव १९ सेकेण्डमा उक्त दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
एक सय मिटर दौडमा प्रदेश नं. ५ की जयरानी चौधरीले १२ दशमलव १९ सेकण्डमा दूरी पार गर्दै रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले १२ दशमलव ५२ सेकेण्डमा उक्त दूरी पार गर्दै कास्य पदक जित्न सफल भएकी छन्।
पुरुषतर्फको एक सय मिटर दौडमा विभागीय टोली एपिएफका आशिष चौधरीले स्वर्ण पदक जिते। चौधरीले ११ सेकेण्डमा सय मिटरको दूरी पूरा गरेका हुन्।
त्यस्तै, कर्णाली प्रदेशका यमसाजन सुनारले ११ दशमलव १० सेकेण्डमा उक्त दूरी पार गर्दै रजत पदक जिते भने आर्मीका आनन्द देव चौधरीले ११ दशमलव १५ सेकेण्डमा उक्त दूरी पार गर्दै कास्य पदक हात पार्न सफल भए ।
१० हजार मिटर दौड : महिलातर्फ विश्वरुपा र दुर्गालाई स्वर्ण
बेलझुण्डी रंगशालामा बिहीवार बिहान नै भएको १० हजार (दस हजार) मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जितिन्।
नेपाल पुलिसकी राजपुरा पछ्याइ प्रतियोगितामा दोस्रो भइन्। तर उनीहरूले त्यो दूरी पार्न गर्न लिएको समय भने समान थियो। विश्वरुपा र राजपुराले समान ३७ मिनेट ३० दशमलव ९ सेकेण्डमा १०हजार मिटर दूरी पार गरेको निर्णायक मण्डलले जानकारी दिएको छ।
यो प्रतियोगितामा प्रदेश नं. ३ की सन्तोषी श्रेष्ठ तृतीय हुँदै कास्य पदक जितिन्। उनले १० हजार मिटरको दूरी पार गर्न ३७ मिनेट ५० दशमलव ६ सेकेण्ड लगाएकी हुन्।
पुरुषतर्फको १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते। बुढाले ३१ मिनेट शून्य ३ दशमलव १ सेकेण्डमा उक्त दूरी पार गरेका हुन्।
त्यसपछि गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलव ८ सेकेण्डमा उक्त दूरी पार गर्दै रजत पदक जित्न सफल भए। यो प्रतियोगितामा एपिएफका गोपिचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलव ३ सेकेण्डमा १० हजार मिटरको दूरी पार गर्दै कास्य पदक जित्न सफल भएका छन्।
सटपुटमा चन्द्रकलाले बनाइन् नयाँ रेकर्ड
बिहीवार बिहान नै तुलसीपुरको बेलझुण्डी रंगशालामा भएको सटपुट प्रतियोगितामा पुरुषतर्फ आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जित्न सफल भएका छन्। दाहालले १२ मिटर १९ सेन्टिमिटर दूरी फालेका थिए।
त्यसैगरी १२ मिटर शून्य ४ सेन्टिमिटरको दूरी सटपुट फाल्दै नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते भने नेपाल आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटर दूरी फालेर कास्य पदक जित्न सफल भए ।
महिला सटपुटतर्फ नेपाल पुलिसकी चन्द्रकला लामगादेले भने नयाँ रेकर्ड राख्न सफल भएकी छन्। उनले १२ दशमलव शून्य ४ सेन्टिमिटरको दूरी सटपुट फाल्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन्। लामगादेको यसअघिको राष्ट्रिय रेकर्ड ११ मिटर ५६ सेन्टिमिटरको थियो ।
सटपुट तर्फ ५ नं. प्रदेशकी संगीता अधिकारीले १० मिटर १५ सेन्टिमिटर फालेर रजत पदक जितिन् भने नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटर टाढा सटपुट फालेर तृतीय स्थान आउन सफल भइन्।
वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुषको समान १८ इभेन्ट्स १ सय , २ सय , ४ सय , ८ सय , १५ सय, ५० हजार, १०हजार मिटर छोटो तथा लामो दूरीका दौड, म्याराथन ४२.१९५ किलोमिटर, ४×१००,४×४०० रिले, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो, १०० मिटर हडल्स् महिला र पुरुष, ४०० मिटर हडल्स्मा विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ र सात प्रदेश तथा एनआरएन टिमका बीच प्रतिस्पर्धा हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक चन्द्रबहादुर गुरुङले जानकारी दिए।
आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मूल नाराका साथ दाङमा प्रतियोगिता चैत २७ गतेदेखि जारी छ। बिहीवार नै प्रतियोगिताको उद्घाटन बाँकेका भएको छ भने वैशाख ११ गते बाँके मै समापन गर्ने कार्यतालिका रहेको छ ।