आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बुटवलमा सम्पन्न लन टेनिस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ५ वटा स्वर्ण जितेको छ।
एपिएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरी ५ इभेन्ट्समा स्वर्ण हात पारेको हो।
प्रतियोगितामा नेपाली सेनाले महिला टिम इभेन्ट्सतर्फ एकमात्र स्वर्ण जितेको छ। त्यस्तै प्रतियोगितामा पहिलो पटक भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण पदक हात पार्न सफल भयो।
सोमबार पुरुष एकलमा भएको फाइनल खेलमा एनआरएनका संरक्षण भुषण बज्राचार्यले नेपाली सेनाका प्रणव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै आफ्नो पक्षमा स्वर्ण पदक प्राप्त गरे। नेपाली सेनाका प्रणवले रजत पदकमा चित्त बुझाए ।
यसैगरी, एपिएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदिप खड्काले कास्य पदक प्राप्त गरेका छन्।
सोमबार नै भएको महिला एकलतर्फको फाइनल खेलमा एपिएफकी प्रेरणा कोइरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दै स्वर्ण जितिन्। उनले फाइनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन्। उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाइन् भने प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावतले कास्य पदक जितेका छन्।
महिला टिम इभेन्ट्समा भने नेपाली सेनाले स्वर्ण पदक हात पार्न सफल भयो भने एपिएफले रजतमा चित्त बुझाउनु पर्यो। त्यस्तै प्रदेश ३ र गण्डकी प्रदेशले कास्य पदक प्राप्त गर्न सफल भए।
पुरुष युगल इभेन्टतर्फ एपिएफका जितेन्द्र परीयार आइभन्हो लिसानोभीचको जोडीले स्वर्ण पदक हात पार्न सफल भए भने गाण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरको जोडीले रजत पदक हात पारेका छन्।
त्यस्तै, गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल शाहीको जोडीले कास्य पदक तथा एपीएफका छेवाङ्ग लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन् ।
त्यस्तै महिला युगलतर्फ एपिएफका सलोनी तामाङ र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण पदकमा कब्जा जमाए भने एपिएफकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत पदक प्राप्त गरे।
त्यस्तै, गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमीका बुद्धाचार्यको जोडीले कास्य पदक भने नेपाली सेनाका अभिलाषा विष्ट र आईरा एम रावतको जोडीले कास्यमा चित्त बुझाए ।
मिश्रित ईभेन्ट्समा एपिएफका आईभन्हो लिसानोभीच र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण पदक हात पारे भने नेपाली सेनाका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले रजत पदक प्राप्त गरे ।
त्यस्तै, गण्डकी प्रदेशका अनील शाही र गंगा शर्माको जोडीले कास्य तथा नेपाली सेनाका अविनभ आचार्य र आईरा एम रावतको जोडीले कास्यमै चित्त बुझायो ।
गत चैत २७ गतेदेखि बुटवल ११ देविनगरस्थित लन टेनिस कोर्टमा संचालित प्रतियोगिता सोमबार सकिएको हो ।
बिजेता खेलाडीलाई प्रदेश ५ का सांसद तथा नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकाल, लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले प्रमाणपत्र तथा सिल्ड र मेडल प्रदान गरेका हुन्।