नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना हुने भएको छ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेबाट सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा सो प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो। सुदूरपश्चिम प्रदेशको पहिचानलाई फराकिलो पार्दै त्यहाँको समृद्धिमा समेत योगदान पुर्याउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको पनि संघका महासचिव प्रकाश चन्दले जानकारी दिए।
प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन वटा विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा च्याम्पियन टिमलाई ७५ हजार नगद पुरस्कारसहित सम्मान गरिने पनि महासचिव चन्दले बताए।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिब १ हजार बढी महिला तथा पुरुष खेलाडीहरू सहभागी हुनेछन्।
राष्ट्रवादी विकासशील अभियान, नेपाल मुख्य प्रायोजक रहेको सो प्रतियोगिता विगत १६ वर्षयता नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतियोगितामा सबै प्रदेश, स्कुल, कलेज, डोजो तथा तीन वटै विभागीय टिमका खेलाडीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको पनि संघले जनाएको छ ।