प्रोफेसनल किक बक्सिङका खेलाडी अविरल घिमिरे ‘हिम चितुवा’लाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ।
जापानमा हालै सम्पन्न ‘किक बक्सिङ’ मा उनले ११ वटा भिडन्तमा १० वटामा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई नेपाल सि–क्योक’सिन कराते एशोसिएशन र चन्द्रागिरी नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो।
आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गत साता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए।
ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो। दुई दर्जन बढी व्यवसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले आगामी दिनमा खेललाई सशक्त बनाउँदै लैजाने बताए।
उनलाई स्वागत गर्न ‘नेपाल सि–क्योकी’ सिनका महासचिव ब्रान्च चिफ सूर्य बुढाथोकी पूर्व खेलाडीहरू,सुभ चिन्तकहरूको भीड लागेको थियो।
करिब दुई दर्जन व्यवसायिक किक बक्सिङ खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ वर्षीय नेपाली युवा किक बक्सर अविरलले १० औं पटक नेपालको झण्डा फहराउन सफल भएका थिए।
सो अगाडि बोलभिया, ब्राजिल, जापन लगायतका खेलाडीहरूलाई पाखा लगाउँदै सफलताको शिखर चुमिसकेका छन्।
सबै तस्बिरहरू : रोशन दानी