थाइल्याण्डमा हुने १६औँ विश्व मुवाँथाई च्याम्पियनसीपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही फागुन २८ देखि चैत ६ गतेसम्म बैंककमा हुने उक्त च्याम्पियासीपमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनसीपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाउन सफल दिनेश सुनारले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए ।
टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।
नेपाली टोली बुधबार बैंककतर्फ प्रस्थान गर्नेछ ।
(रासस)