दाङको तुलसीपुरमा सम्पन्न प्रदेश नं ५ स्तरीय टेबल टेनिस छनोट प्रतियोगिताको पुरूषतर्फ बाँकेका टेन्डी शेर्पा र महिलामा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन्।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्ज र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा रुपन्देहीका कपिल थापालाई ४–२ को सेटमा पराजित गर्दै सशक्त र सानदार जित निकालेका टेन्डी मेन्स् सिंगलको च्याम्पियन बनेका हुन्।
त्यस्तै दाङकी पवित्रा खनाललाई फाइनलमा ४–० को सोझो सेटमा पराजित गर्दै शानदार जित निकाल्दै अमिता ओमन्स सिंगलको च्याम्पियन बन्न सफल भएकी हुन्।
बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न फागुन १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा प्रदेश नं ५ का ११ जिल्लाका महिला तथा पुरुष गरी ४८ जना खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताबाट मेन्स् सिंगलतर्फ बाँकेका टेन्डी शेर्पा, रुपन्देहीका कपित थापा, प्युठानका प्रजोल केसी, रुपन्देहीका प्रवेश बस्नेत र कपिलवस्तुका तिलक अधिकारी त्यस्तै ओमन्स् सिंगलतर्फ रुपन्देहीका अमिता थापा, दाङकी पवित्रा खनाल, रुपन्देहीका स्वीकृति श्रेष्ठ, दाङकी रोषणी अधिकारी र गीता अर्याल प्रदेश नं ५ टेवल टेनिसको छनोटमा पर्न सफल भएका छन्।
यसैबीच प्रतियोगिताको समापन समारोह प्रदेश नं ५ स्तरीय खेलुकद सञ्चालन समितिका सह संयोजक दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं टेवलटेनिसका चिफकोच बिनोद शाक्यको विशिष्ट आतिथ्यमा भएको थियो।