सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।
खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिए।
यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ।
प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ।
मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड स्नुकर तथा पुल संघ आज पुनर्गठन गरेको छ।
पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।
सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ प्रतिनिधि छन्।
पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव विष्टले आज प्रमाणपत्र हस्तान्तरण गरे।
पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिई तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ।