इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ।
पोखराबाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले विदाइ गरेका हुन्।
पहिलो पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडीहरू रहेका छन्।
नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका सबै खेलाडीहरू कास्कीका हुन्।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला/ पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन्।
खेलाडीहरू विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र महिला खेलाडीहरूमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ, टिम प्रशिक्षक योगश भट्टराई रहेका छन्।
नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेशिया जान लागेको हो ।
प्याराग्लाइडिङ खेल अगस्ट १८ देखि ३० गतेसम्म आयोजना हुँदैछ ।