प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता एवं ‘रन फर फन’ अन्तर्गत ४२ दशमलव १९५ किलोमिटरको उपाधि नेपाल आर्मीका कृष्ण बस्नेतले जितेका छन्।
२ घण्टा २२ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै बस्नेतले उपाधि जितेका हुन्। त्यसैगरी एपीएफका गोपिचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्टमा दुरी पार गर्दै तेस्रो भए।
त्यसैगरी २१ किलोमिटरमा पुरुष ४५ वर्षभन्दा कम उमेरको हाफ म्याराथनको उपाधि नेपाली सेना गजेन्द्रराज राईले जितेका छन्। उनले निर्धारित दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् ।
नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट २ सेकेन्ड र कल्याण बानियाँले १ घण्टा १० मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए। ४५ वर्ष मुनिका महिलातर्फको प्रतियोगितामा नेपाली सेनाकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरी पहिलो भएकी छन् ।
सेनाकी रेशु बस्नेतले १ घण्टा २२ मिनेट ४३ सेकेन्ड र एपीएफकी विन्द्रा धनके श्रेष्ठले १ घण्टा २३ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए। पुरुष ४५ वर्ष माथिको प्रतियोगितामा दामोदर बुढामगर पहिलो, भीमबहादुर गुरुङ दोस्रो र कपिल भट्ट तेस्रो भएका छन् ।
नेपाली सेनाका अधिकृत पुरुषतर्फको १० किलोमिटरमा रुपेश नेपाली, भुपाल अधिकारी र मधु थापा पहिलो, दोस्रो र तेस्रो भएका छन्। सेनाका अधिकृत महिलातर्फ भने करिष्मा प्रधान, मीनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
प्रतियोगितामा विदेशी सैनिक सहचारी र ५ किलोमिटरतर्फ विद्यार्थीहरू पनि सहभागी भएका थिए ।