गोपीचन्द्र पार्की २०६४ सालदेखि एथ्लेटिक्समा प्रवेश गरे।
हुन त उनले २०६३ सालमा एथ्लेटिक्स खेल्ने मन बनाएका थिए। कैलालीको गौरीपुरको श्री भावनी माविमा पढ्दै गर्दा उनलाई शिक्षकले नेपालको दक्षिण एसियाली खेलकुदमा पदक खोसिएको बताएका थिए। त्यहीँ बेलादेखि नेपालले जितेको सो पदक फिर्ता ल्याउने उनले सोच बनाएका थिए।
आफू पढेकै धनगढीको विद्यालयमा स्कुल स्तरीय दौड प्रतियोगिता गोपीले पनि भाग लिए। पहिलोचोटीमै उनले सबैलाई उछिने।
उनी २०६४ सालमा उनी राष्ट्रपति रनिङ सिल्ड खेल्न काठमाडौं आएका थिए। २०६६ सालमा उनी सशस्त्र प्रहरी बलमा भर्ती बए। त्यहाँबाट उनी राष्ट्रिय खेलाडीको रूपमा उदाए।
सुरुमा छोटो दूरीको दौडमा प्रतिस्पर्धा गर्ने गोपी पछि लामो दूरीको दौडतर्फ आकर्षित भए।
२०७० सालदेखि भने उनले राष्ट्रियस्तरमा सफलता पाउन सफल भए।
२०७३ सालमा प्रदेश एकमा भएको सातौं राष्ट्रिय खेलकुदमा गोपीले आफूलाई अब्बल खेलाडी भएको प्रमाणित गरे।
उनले सातौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जित्न सफल भए। सहभागी भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामै पाँच हजार र दश हजार मिटर दौडमा गोपीले बाजी मारेका थिए।
२०७६ सालमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि गोपी उत्कृष्ट ठहरिए। दाङको बलेझुण्डी रंगशालामा गोपीले १० हजार मिटर दौडमा स्वर्ण जिते।
त्यसपछि नेपाली एथ्लेटिक्समा छाउन थालेका गोपीले राष्ट्रियस्तरका दौडमा आफ्नो दबदबा कामय राखेक थिए।
२०७७ सालमा उनी ओलम्पिकका लागि छनोट हुन सफल भए। तर उनले प्राविधिक कारणले टोकियो ओलम्पिक २०२२ भने खेल्न पाएनन्। म्याराथनमा कोटाभन्दा बढी आवेदन परेपछि गोपी ओलम्पिक खेल्नबाट बञ्चित भएका थिए।
भारतीय खेलाडीलाई एक सेकेन्डले पछि पारेर स्वर्ण
२०७६ सालामा गोपीले देशका लागि स्वर्ण जितेर इतिहास बनाए। १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत गोपीले ५ हजार मिटर दौडमा स्वर्ण जित्दै इतिहास बनाएका थिए।
दशरथ रंगशालामा गोपीले स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई एक सेकेन्डले पछि पारेका थिए। स्वर्ण जित्ने क्रममा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका थिए। रजतमा सीमित बनेका भारतका सुनील धावरले १४ मिनेट ५५.२१ मा पूरा गरे।
पार्कीले स्वर्ण जित्दा कास्य पनि नेपालकै खेलाडीले हात पारेका थिए। नेपालका हरिकुमार रिमालले कास्य जितेका थिए। उनी दोस्रो स्थानमा रहेका भारतीय खेलाडीभन्दा झण्डै दुई सेकेन्डले पछि परे।
गोपीचन्द्रको स्वर्णसँगै नेपालले ५ हजार मिटर दौडमा पहिलो स्वर्ण भित्र्याएको थियो।
यसअघि बंगलादेशमा भएको १० औं सागमा नेपालका लागि राजेन्द्र भण्डरीले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका थिए। तर पछि डोपिङमा असफल भएपछि उनको पदक खोसिएको थियो।
त्यहीँ पदक खोसिएको समाचार आफ्ना शिक्षकले सुनाएपछि गोपी दौडतर्फ आकर्षित भएका थिए।
‘यो स्वर्णको लगि १४ वर्षको मेहनत छ। १० औं सागमा नेपालले गुमाएको स्वर्ण जसरी पनि फिर्ता गर्नुथियो। त्यहीँ भएर जसरी पनि जित्छु भन्ने थियो,’ जितको खुसीयाली साट्दै गोपीचन्द्रले भनेका थिए।
१४ वर्षअघि राजेन्द्रले स्वर्ण जित्दा उनी ६ कक्षामा पढ्थे। त्योबेला बंगलादेशमा १० औं साग चल्दै थियो। त्यहीँबेला शिक्षकले नेपालका राजेन्द्र भण्डारीले डोपिङका कारण सागमा स्वर्ण गुमाएको समाचार कक्षामा सुनाए।
उनले विगत सम्झिँदै भनेका थिए, ‘त्यही बेला अब यो मेडल म फिर्ता ल्याउँछु भन्ने लाग्यो।’
त्यतिञ्जेल उनलाई दौड भन्ने थाहा नै थिएन। कुद्ने, उफ्रिने त गर्थे तर दौडमा पनि प्रतियोगिता हुन्छ भन्ने उनलाई थाहा थिएन।
२०६३ सालमा उनी पढेकै धनगढीको विद्यालयमा स्कुलस्तरीय दौड प्रतियोगिता भयो। गोपीले पनि भाग लिए। पहिलोचोटिमै उनले सबैलाई उछिने।
जितेको पहिलोपटकमै गोपी काठमाडौं आउन छनोटमा परे। उनी राष्ट्रियस्तर खेल्न धनगढीबाट काठमाडौं आए।
राष्ट्रियस्तरमा आउँदा आर्मी, सशस्त्र र प्रहरीले जिते। उनी अन्तिम भए।
त्यसपछि उनलाई राम्रो खेल्न विभागमा छिर्नुपर्ने रैछ भन्ने अनुभूति भयो। नभन्दै २०६६ सालमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए। तीनवटा तालिम सकेर उनी विभागमा पनि दौडतिर लागे।
भारतमा भएको १२ औं सागमा उनी १० हजार मिटर दौडमा सहभागी थिए। तर राम्रो प्रदर्शन गर्न सकेनन्।
तर १३ औं सागमा उनले उत्कृष्ट खेल पस्के। भारतका खेलाडीलाई एक सेकेन्डले पछि पारेर स्वर्ण जितेपछि गोपीले भनेका थिए, ‘दौड भनेको मिलिसेकेन्डले फरक पार्छ। एक सेकेन्ड त धेरै हो।’
उनले त्यतिबेलै आफ्नो लक्ष्य कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको इच्छा पूरा गर्नु रहेको उनले बताएका थिए।
‘उहाँले सागमा आफूले म्याराथनमा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको रेकर्ड नेपाली खेलाडीले नै ब्रेक गरोस् भन्ने छ, त्यो म पूरा गर्न चाहन्छु,' उनको भनाइ थियो।
सागपछि पुन: म्याराथनमा फर्किएका गोपी नेपाली एथ्लेटिक्सका अब्बल खेलाडीमा पर्छन्।
तर यिनै अब्बल खेलाडी गोपीले नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघको लापरबाहीका कारण टोकियो ओलम्पिक २०२० खेल्न पाएनन्।
ओलम्पिकका लागि छनोट भएर अभ्यास गरे पनि दुई साताअघि मात्र उनले आफू ओलम्पिकमा सहभागी हुन नपाउने थहा पाएका थिए।