‘हेलो, नमस्ते।’
स्कुले पहिरनमा दुई चुल्ठी बाटेर काँधमा झोला भिरेकी मतिना शाक्यले कुनै प्रतिक्रिया जनाइनन्।
उनको अनुहारमा लाजको भाव झल्किएन। हाँसोले उज्यालो भएन। बुवा प्रतापमानले हाँस्न आग्रह गरे। उनी हाँसिनन्।
उनले संकोच मानेकी होइन। अत्तालिएकी पनि होइन। तै स्कुल जाने तर्खरमा ढोकानिर उभिएकी उनी त्यहीँ अडिएकी अडियै भइन्।
काठमाडौंकी पूर्व कुमारी मतिनालाई स्कुल जाने हतारोले मात्र यस्तो बनाएको होइन। महाअष्टमीको दिन नयाँ कुमारी थापनासँगै नौ वर्षपछि घर फर्किएकी मतिनामा यस्तै शान्त स्वभाव देखिएको छ। बाह्र वर्षीया उनी कुमारीघर छाडेर आएदेखि प्रायः चुपचाप रहने, तर नयाँ कुरामा जिज्ञासु हुने परिवारका सदस्य बताउँछन्।
मतिना तीन वर्षकै उमेरमा काठमाडौंकी कुमारी छानिएर कुमारीघर गएकी थिइन्। त्यसयता उनलाई काठमाडौं मात्र होइन, संसारले नै ‘जीवित देवी’ का रूपमा पुज्यो। उनको हुर्काइबढाइ, लालनपालन, पढाइलेखाइ सबै कुमारीघरभित्रै भयो। यसको निम्ति कुमारीघरमा छुट्टै परिवार राखिएको छ।
यसरी लामो समय देवीका रूपमा पुजिएर अर्कै परिवारको निगरानीमा हुर्केबढेपछि सामान्य जीवनमा फर्कंदा मतिनाको आनीबानीमा के कुनै परिवर्तन आएको छ? घरपरिवारसँग उनी कसरी प्रस्तुत हुन्छिन्? स्कुलमा साथीभाइसँग कसरी बोल्छिन्?
इतुम्बहालकी मतिना अचेल गणबहालको ग्रिनपिस को–एड स्कुलमा कक्षा ७ पढ्न थालेकी छन्। त्यस दिन हामी पुग्दा उनी हतारमा थिइन्। आमा सुनीता र दिदी निजला उनलाई स्कुल पठाउने तयारी गर्दै थिए। प्रतापमानले स्कुटरमा राखेर मतिनालाई छाड्न लागे। उनले पछाडि सिटमा राखेर स्कुटर स्टार्ट गर्दा आमा र दिदी ढोकामा उभिएर हात हल्लाइरहेका थिए। अचेल यो उनीहरूको रोजको काम हो।
‘मतिना एकदमै कम बोल्नुहुन्छ,’ बिहानको हतार सकिएपछि आमा सुनीताले भनिन्, ‘हामीले सोधेको कुरा जवाफ दिनुहुन्छ, नभए धेरै समय चुपचापै बस्नुहुन्छ।’
यो पनि पढ्नुहोस्ः
चुपचापको अर्थ, मतिनाको मौनता होइन।
उनी कुनै नयाँ कुरा देखे जिज्ञासु हुन्छिन्। र, त्यसलाई उधिन्ने गरी तारन्तार प्रश्न गरिरहन्छिन्।
‘आफूलाई कुनै कुरामा चासो लाग्यो भने सोधेको सोध्यै गर्नुहुन्छ,’ आमाले भनिन्, ‘भर्खर भर्खरै घर आउनुभएकाले होला, उहाँ धेरै कुरामा चासो राख्नुहुन्छ। यो के हो, त्यो के हो, यो कसरी भयो, त्यो कसरी भयो, सोधिरहनुहुन्छ।’
यसको सबभन्दा भुक्तमान मतिनाकी दिदी हुन्।
पछिल्लो समय उनको पढाइलेखाइदेखि समाजमा घुलमिल गराउने जिम्मा दिदी निजलाले नै बोकेकी छन्। बेलुकी ४ बजे मतिनालाई स्कुल लिन जाने जिम्मा पनि उनकै हो।
‘हामी ९ वर्षपछि एक भएका छौं। असाध्यै खुसी लागेको छ। धेरै घुलमिल भएजस्तो अनुभव भइरहेको छ। भएभरको माया एकैपटक खन्याउँजस्तो लाग्छ,’ उनले भनिन्।
उनी पहिला कुमारीघरमा पनि कहिलेकाहीँ मतिनालाई होमवर्क सिकाउन जान्थिन्। त्यतिबेला पूरा ध्यान दिने समय हुन्नथ्यो। पढिरहँदा बेलाबेला भक्तजनलाई झ्यालबाट हेरेर दर्शन दिइरहनुपर्थ्यो।
‘चाहेजस्तो गरी सिकाउन पाइन्थेन, अब राम्रो हुन्छ,’ निजलाले भनिन्, ‘उहाँमा धेरै क्षमता छ जस्तो लाग्छ। उहाँको सबभन्दा ठूलो खुबी भनेको, उहाँ एकदमै जिज्ञासु हुनुहुन्छ।’
कतै घुम्न निस्किँदा होस् वा स्कुलबाट घर फर्किंदा, मतिनाले बाटोमा देखिने हरेक वस्तु वा घटनालाई चासोपूर्वक हेरेको निजलाको अनुभव छ। ‘सानो बच्चाजस्तो हुनुहुन्छ, जे पनि के हो, कसरी हो सोधिरहने,’ उनले भनिन्, ‘कतिपय कुरा पहिलोपटक देखेकाले उहाँमा यति धेरै जिज्ञासा जागेको हुनसक्छ।’
मतिना आफ्नो उमेरका साथीसँग खेल्न त्यति रुचाउँदिनन्। प्रायः घरकै दिदीबहिनीसँग खेल्छिन्। घुम्न जानुपरे उनीहरूसँगै जान्छिन्। बरु घरबाट कोही बाहिर जान लागे ‘म पनि जान्छु’ भन्दै पछ्याउँछिन्।
बुवा प्रतापमान छोरीको स्वभावलाई सामान्य मान्छन्।
‘उहाँ अरू केटाकेटीभन्दा फरक हुनुहुन्न। हामीले जे खायो त्यही खानुहुन्छ, तर कुमारीघरमा कुखुराको मासु र अन्डा खान प्रतिबन्ध भएकाले त्यो खानुहुन्न,’ उनले भने, ‘अरू खेल्ने, पढ्ने, बोल्ने त सामान्य केटाकेटीजस्तै हो।’
हामीले ग्रिनपिस को–एडका शिक्षक र विद्यार्थीसँग पनि मतिनाको आनीबानीबारे कुराकानी गर्यौं।
[caption id="attachment_94810" align="alignnone" width="1200"]
राजधानीको भोटेबहालस्थित ग्रिनपिस को-एड स्कुलमा अध्ययन गर्दै पूर्वकुमारी मतिना शाक्य। १२ वर्षकी मतिनाको सोमबार स्कुलमा पहिलो दिन हो। तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
मतिना कक्षा २ देखि यही स्कुलमा पढ्न थालेकी हुन्। उनी कुमारी छँदा यहाँका शिक्षक कुमारीघरै जान्थे। त्यहाँबाट निस्केपछि यही असोज २२ देखि उनी स्कुल जान थालेकी हुन्।
हामी पुग्दा उनी कम्प्युटर कक्षामा थिइन्। त्यो उनको पहिलो औपचारिक कम्प्युटर कक्षा थियो। शिक्षक दिपेश शाक्य ‘एक्सेल’ सिकाउने तयारी गर्दै थिए। कुमारीघरमै छँदादेखि मतिना कम्प्युटर, मोबाइल वा ल्यापटपसँग दख्खल राख्छिन्।
‘पहिलो कक्षा भएर पनि उनलाई कम्प्युटर चलाउन गाह्रो भएन,’ दिपेशले भने।
यो पनि पढ्नुहोस्ः
कक्षामा पनि उनी प्रायः शान्त स्वभावकी छन्। पहिलो बेन्चमा बस्छिन्। पढाउँदा प्रतिक्रिया जनाउँदिनन्। साथीहरूसँग विस्तारै घुलमिल हुन थालेकी छन्। शिक्षकसँग भने कमै बोल्छिन्।
‘लामो समय उहाँ एक्लै बसेर पढ्नुभएकाले हामीले उहाँलाई निकै गाह्रो हुने ठानेका थियौं,’ कक्षा–शिक्षक सरिना मानन्धरले भनिन्, ‘पहिलो दिन त उहाँ कसैसँग बोल्नुभएन। हामीले साथीहरूसँग परिचय गराएर छाडेका थियौं। अहिले विस्तारै कक्षामा प्रश्न गर्न र साथीहरूसँग घुलमिल हुन थाल्नुभएको छ।’
उनका अनुसार मतिनालाई घुलमिल गराउन र कक्षामा सक्रिय बनाउन सबै शिक्षक मिलेर प्रयास गरिरहेका छन्। स्कुल जान थालेको एक सातामै उनको पढाइमा सन्तोषजनक प्रगति भएको सरिनाले बताइन्।
मतिनाको कक्षामा २४ विद्यार्थी छन्। उनीसँग एउटै बेन्चमा बस्छिन्, अविज्ञा तुलाधर र प्रसिद्धी सिलाकार।
अविज्ञाले पछिल्लो एक सातामा मतिनाको स्वभावमा परिवर्तन देख्न थालेकी छन्। सुरुका केही दिन चुपचाप बस्ने मतिना अचेल बोल्न थालेको उनी बताउँछिन्।
‘पहिलो दिन त हामीसँग केही बोल्नुभएन। त्यसपछि भने नआएका कुरा सोध्ने, छलफल गर्ने गर्नुहुन्छ,’ उनले भनिन्, ‘अहिले हामी खाजा पनि सँगै बाँडेर खान्छौं।’
मतिनाले स्कुल जान भने पहिलो दिन नै कुनै धक मानिन्। त्यस दिन एउटा कक्षा मात्र पढाएर फर्काउने उनका बुवाको योजना थियो। तर, मतिना आधा दिनसम्मै बस्न चाहिन्। पहिलो दिन हाफटाइमसम्म कक्षा लिएकी उनी त्यसपछि दिनभरि नै स्कुलमा बसिन्।
प्रसिद्धीलाई पनि मतिना विस्तारै खुल्दै गएकी छन् भन्ने लाग्छ।
पहिलो दिन हेराहेरमै सकिएको उनी बताउँछिन्। दोस्रो दिन हल्का बोलचाल भयो।
‘अहिले त धेरै बोल्ने हुनुभएको छ। थरीथरीका प्रश्न सोध्नुहुन्छ। कुन विषय पढाइ हुन्छ? ट्वाइलेट कता हो? भनेर सोधिरहनुहुन्छ,’ प्रसिद्धीले भनिन्, ‘क्लासवर्क र होमवर्कको पनि धेरै कुराकानी हुन्छ।’
कक्षामा मतिनाभन्दा पछाडि बेन्चमा बस्ने निशा केसीलाई उनी अलि लजालु स्वभावको लाग्छ।
उनले एउटा घटना सम्झिन्। उनीहरू मतिनासहित स्कुलको ‘डान्स क्लास’ गएका थिए। मतिना अलि लजाएको निशाले अनुभव गरिन्। ‘हामीले डान्स गर्नुस् भनेका थियौं, उहाँले नाइँ भन्नुभयो,’ उनले सम्झिइन्।
अहिले भने मतिना आफैं नाच्ने र गितार बजाउने इच्छा देखाउन थालेको निशाले बताइन्।
मतिनालाई स्कुलमा अभ्यस्त गराउन उनी कुमारीघरमा छँदादेखि नै प्रयास भएको स्कुल संस्थापक सुनीता स्थापित बताउँछिन्।
कुमारीघरबाट बाहिरिनुअघि स्कुलकै पहलमा कक्षाका विद्यार्थी दुईचोटि मतिनालाई भेट्न गएका थिए। ‘उनी कस्तो वातावरणबाट आउँदै हो भनेर अरू विद्यार्थीलाई देखाउन हामीले कुमारीघर लगेका थियौं,’ उनले भनिन्।
प्रधानाध्यापक पेमा योञ्जन पूर्वकुमारी मतिनालाई पढाउनु स्कुलको गौरव भएको बताउँछिन्। उनको पढाइ सुधारेर राम्रो विद्यार्थी बनाउनुलाई चुनौतीका रूपमा लिएको पेमाको भनाइ छ।
मतिनाको नृत्य र गितारमा रुचि देखेर विस्तारै सहभागी गराउँदै लैजाने स्कुलको योजना छ। उनकी दिदी निजलाले त्यही स्कुलबाट एसएलसी दिएकी हुन् र उनी राम्रो नृत्यगंना हुन्।
गणतन्त्र नेपालकी पहिलो कुमारी मतिनालाई २०६५ असोज २१ गते कुमारी घोषणा गरिएको थियो। उनी यही असोज १२ गते घर फर्किएकी हुन्।
यो पनि हेर्नुहोस्ः
सबै तस्बिर: नारायण महर्जन