सोमबार साँझ खबर आयो। खबर सरकारी थियो। गुठी संस्थानबाट आएको।
सुन्नासाथ इतुम्बहालका प्रतापमान शाक्यको घरमा यसपालि बल्ल दसैं आएजस्तो भएको छ। महाअष्टमीको दिन उनकी १२ वर्षीया छोरी मतिना शाक्य नौ वर्षपछि घर जाे फिर्दै छिन्।
मतिना तीन वर्षकी थिइन्, जब गुठी संस्थानले विधिअनुरुप उनलाई काठमाडौंकी कुमारी छानेको थियो। त्यही संस्थान सञ्चालक समितिको सोमबार बैठकले मतिनालाई राजकीय सम्मानसाथ कुमारीघरबाट विदाइ गर्ने निर्णय गरेको हो।
उनको ठाउँमा राजधानीको ओमबहालकी तीन वर्षीया तृष्णा शाक्यलाई कुमारीका रूपमा प्रतिस्थापन गरिनेछ।
‘नौ वर्षअघि छोरी विदा गरेको थिएँ, आज देवी भित्र्याउँदैछु,’ खुसीले चम्केका आँखा नचाउँदै प्रतापमानले सेतोपाटीसँग भने।
हामी कुमारी प्रतिस्थापनको दुई दिनअघि मंगलबार इतुम्बहालको घर पुगेका थियौं, जहाँ मतिनालाई विधिपूर्वक भित्र्याउने तयारी हुँदैछ। र, घरका चोटा–चोटामा नाच्दैछ मतिनासँग जोडिएका सम्झना–बिर्सना।
मतिना त्यो घरमा भित्रिँदै छैनन्, जहाँबाट उनी विदा भएकी थिइन्। प्रतापमानले भर्खरै नयाँ घरको काम सके, जुन पुरानो नजिकै छ। पुरानो घरमा वैशाख १२ को भुइँचालोले क्षति पुगेपछि उनले नयाँ बनाउन थालेका हुन्। मतिना भित्रिने घरको पहिलो तल्ला ‘फिनिसिङ’ हुन बाँकी छ। छोरी भित्रिने दिन नजिकिएकाले अधुरा काम सक्ने र सामान सार्ने धपेडी छ। प्रतापमान, उनकी पत्नी सुनीता र मतिनाकी दिदी निजला अहोरात्र खटिएका छन्।
‘छोरीलाई नयाँ घरमै भित्र्याउँछु भनेर हतार–हतार काम सक्नुपर्यो,’ प्रतापमानले भने, ‘सोमबार साँझ मात्र मतिना घर फर्कंदैछिन् भन्ने निर्णय आयो। हामीलाई त कामको चापाचाप छ।’
यही तयारीबीच प्रतापमानले गुठी संस्थान केन्द्रीय कार्यालयलाई छोरीको फिर्तीमा सहभागी भइदिन चिठी पठाएका छन्। ‘मतिनालाई घर फर्काउँदा मुख्य अतिथि मतिना नै हुनुहुन्छ,’ प्रतापमानले भने, ‘उहाँको स्कुलमा पढ्ने विद्यार्थी, हाम्रो आफन्त, परिवार र छिमेकीसँगै बाजागाजासाथ हामी उहाँलाई घर ल्याउँदै छौं।’
[caption id="attachment_92238" align="alignnone" width="825"]
मतिनाका बाबु प्रतापमान शाक्य। तस्बिरः सेतोपाटी[/caption]
मतिनालाई २०६५ असोज २१ गते कुमारी घोषणा गरिएको थियो। उनी गणतन्त्र नेपालकी पहिलो कुमारी हुन्।
मतिना कुमारीघरमा प्रतिस्थापन भएपछि प्रतापमानको दैनिकी फेरिएको थियो। उनी सकेसम्म दिनहुँ छोरी भेट्न कुमारघर जान्थे। साताको एकदिन शनिबार त छोरीकै लागि छुट्याउने गर्थे। कुमारी घरमै बसेर दुई घन्टाजति छोरीसँग खेल्थे। कुराकानी गर्थे। उनको पढाइलेखाइबारे चासो दिन्थे।
पूजापाठको समयबाहेक अरू बेला परिवारका सदस्यलाई कुमारीसँग भेट्न रोकतोक हुन्न। प्रतापमान यही सुविधा उपयोग गर्दै आफ्नो अफिस र घरको कामबीच छोरीका लागि समय निकाल्थे।
‘हाम्री छोरी कुमारी हुनु गौरवको कुरा हो, तर बाबुको नाताले उहाँको भविष्यबारे चिन्ता हुने भइहाल्यो,’ उनले भने, ‘मैले उहाँको निम्ति आफूले गर्नुपर्ने सबै कर्तव्य पूरा गरेको छु भन्ने लाग्छ।’
मतिनाले स्कुलमा दिएका सबै जाँचको नतिजा उनले सुरक्षित राखेका छन्। उनले त्यसको एक प्रति कुमारीघर छाडेर सक्कल आफैं ल्याउने गरेका थिए।
छोरी फर्किने खबरले आमा सुनीताको पनि खुसीको सीमा छैन। नौ वर्षपछि बल्ल दसैं अनुभूति भइरहेको उनी बताउँछिन्।
‘हाम्रा लागि नौ वर्षअघिको दसैं विशेष थियो, त्यो वर्ष छोरी घरबाट बाहिरिएकी थिइन्। यो वर्ष झन् विशेष हुने भयो, छोरी घर फर्कंदै छिन्,’ उनले भनिन्।
उमेरले सात दशक पार गरेकी मतिनाकी हजुरआमा बालदेवी पनि नातिनीको घर फिर्तीसँगै साक्षात् देवीको प्रवेश हुन लागेको बताउँछिन्।
‘मतिना भगवानको स्वरूप धारणा गरेर विदा भए पनि उनी नहुँदा प्रत्येक चाडपर्व नुनविनाको तरकारीजस्तो हुने गरेको थियो,’ उनले भनिन्, ‘अब त्यो कमी हुनेछ, यो घरमा फेरि रौनक छाउनेछ।’
छोरी फर्कने खबरले उल्लासित मतिनाको परिवार उनको कुमारी यात्रालाई फर्केर हेर्दा उत्तिकै गर्व गर्छन्।
काठमाडौंमा कुमारी छनोट शाक्य वंशबाट हुन्छ। यहाँका १८ महाविहारमध्ये शाक्य कूलको निर्धारित लक्षणयुक्त कन्यालाई विधिपूर्वक कुमारी बनाइन्छ। कुमारी परिवर्तनको समय भएपछि झन्डै दुई–तीन महिनाअघि ती १८ विहारमा खबर गरिन्छ। यो काम गोप्य हुन्छ। सूचना प्राप्त भएपछि प्रत्येक विहारले आ–आफ्नो तर्फबाट कुमारी छनोट प्रक्रिया सुरु गर्छ। आफ्नी छोरीलाई कुमारी राख्न इच्छुक वा छोरी कुमारी हुन उपयुक्त देखेका आमाबाबुले विहारसमक्ष इच्छा जाहेर गर्छन्।
सबै विहारबाट मनोनीत भएर आएपछि तिनको चिना राजज्योतिषलाई देखाइन्छ। उनले चिना हेरेर बत्तीस लक्षणयुक्त बालिका छनोट गर्छन्। तलेजु भवानीका पुजारी अर्थात् बडागुरुले पनि कुनै घाउचोट नलागेका र बत्तीस लक्षणयुक्त बालिका छनोट गर्न सघाउँछन्।
त्यतिबेला मतिना पाँच जनामध्ये छनोटमा परेकी थिइन्। उनको चिनालाई विधिअनुरुप नेपालको राष्ट्रिय योगसँग मिलाइएको थियो। यो चलन गणतन्त्रपछि सुरु भएको हो। त्यसअघि राजाको चिनासँग मिलाउने गरिन्थ्यो। चिना मिलाउँदा राम्रो योग देखिएपछि मतिनालाई राजज्योतिषले कुमारी हुन योग्य भनेका थिए। तत्कालीन राष्ट्रपति रामवरण यादवले पानसुपारी चढाएर उनको पहिलो दर्शन गरेका थिए।
‘राजज्योतिषले हाम्री छोरीको चिना हेरेर राष्ट्रको हितमा छ भनेपछि उहाँ कुमारी देवी छानिनुभएको हो,’ प्रतापमानले भने, ‘भुइँचालो आउँदा अनेकौं मठमन्दिर, पाटीपौवामा क्षति पुग्दा पनि झन्डै तीन सय वर्ष पुरानो कुमारी घरमा क्षति पुगेन।’
घर फर्केपछि के?महाअष्टमीको दिन घर फर्केपछि चार दिनसम्म मतिनालाई कुमारी देवीकै रूपमा व्यवहार गरिनेछ। चार दिनसम्म उनको बाँधेको कपाल फुकालिँदैन। चौथो दिन तलेजुकी नीनी आएर त्यो कपाल फुकाल्छिन्। त्यसपछि बल्ल उनी सामान्य पहिरनमा फर्कनेछिन्। उक्त अवसरमा घरमुलीले सगुन दिएपछि नीनीलाई पनि कोसेली दिनुपर्छ। उनी त्यसै दिन सामान्य पहिरनमा कुमारीघर जानेछिन्। र, त्यहाँबाट फर्केपछि सामान्य मानिससरह उनको जीवनयापन सुरु हुनेछ।
सामान्य बालिकाका रूपमा मतिनाको पढाइलेखाइ कसरी अघि बढाउने भन्ने परिवारको सबभन्दा ठूलो चासो हो। मतिना अहिले सात कक्षा पढ्छिन्। सरकारले पूर्व कुमारीको शिक्षाको ग्यारेन्टी गरेको छ। तैपनि स्तरीय शिक्षाका लागि के गर्न सकिन्छ भनेर उनीहरूले स्कुलसँग छलफल गरिसकेका छन्।
‘अहिलेलाई उसको पढाइ कसरी राम्ररी अघि बढाउने भन्नेलाई हामीले प्राथमिकतामा राखेका छौं,’ आमा सुनीताले भनिन्, ‘पहिला कुमारी घरभित्र नियमअनुसार शिक्षा आर्जन गर्नुपरेकाले केही कमी–कमजोरी थिए होलान्, अब हाम्रो काम त्यसलाई सच्याएर उनको पढाइलेखाइ बलियो बनाउने हो।’