जिब्रोको स्वादका लागि देवीका नाममा पशु बलि


प्रत्येक वर्ष नवरात्र सुरू भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन्।

मासु मीठो लाग्नेले देवतालाई चढाउने नाममा बलि प्रथालाई प्रश्रय दिएको अर्थ्याइन्छ। तर बलि प्रथा शास्त्रसम्मत हो भन्नेहरूले वर्षभर विभिन्न नाममा काटिने पशुको विरोध नगरी बलि प्रथाको विरोध गर्नु शंकास्पद भएको तर्क गर्छन्।

पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताउँछन्। बलिको विपक्षमा रहनेले देवी माता भएकाले सन्तानको बलि नखाने बताउँछन्।

संस्कृतिविद् जगमान गुरुङ आदिमकालदेखि बलि चढाउने परम्परा रहेको बताउँछन्। ‘पशुलाई मुक्ति मार्गमा जा भनी पशु दीक्षा मन्त्र सुनाएर एकै मारमा छिनाएर बलि दिइने परम्परा आदिमकालदेखि चल्दै आएको हो। यसरी बलि दिनु अघि विधिवत् रूपमा खड्गको पूजा गरिन्छ,’ उनले भने।

दसैँको मुख्य दिन नजिकिँदै जाँदा पशु बलिको पक्ष र विपक्षमा बहस गर्ने क्रम वर्षेपिच्छे दोहोरिन्छ। गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।

‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ। प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ। राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्र शक्तिको आवश्यकता पर्छ। राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साह शक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ,’ उनले भने।

दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ। दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात भएको प्रा डा गौतमले बताए। महाकाली शक्तिकी अधिष्ठात्री देवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता छ।

राज्य सञ्चालन गर्ने क्षेत्रीले बलि दिनै पर्ने मान्यता छ। सात्विक, राजस र तामस गरी तीन प्रकारका बलि हुन्छन्। चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ। पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस भनिन्छ।

सात्विक र राजस दुवै विधिसहित रक्सी समेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ। गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ। पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिइन्छ। शाकाहारीले बलि दिएर सुँघेर छोड्ने परम्परा छ।

केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयाग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिएका घटना अझै चर्चामा छ। अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ।

हाल शाक्त र तान्त्रिक सम्प्रदायमा बलि प्रथा प्रचलनमा छ। दुवै सम्प्रदायमा परम्परागत रूपमा बलि प्रथा थिएन। इच्छा पूर्तिका लागि पछि यो परम्परा सुरू भयो। बलि प्रथा कहिले र कसरी सुरू भयो भन्ने यकिन छैन।

पशु अविवेकशील प्राणी हो। उसले मुक्तिको चाहना गरेको हुन्छ। विवेकशील प्राणी मानवले मुक्ति पाउन अनेक तीर्थ, व्रत, दान, धर्म, उपकार जस्ता अनेक साधना गर्न सक्छ। तर, अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ।

‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुन बलि हुन पाउनु पशुको अहोभाग्य हो। अदालतले जस्तोसुकै आदेश गरेपनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ,’ प्रा गौतमले भने।

कालिका पुराणमा भनिएको छ –
यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा ।
अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।।

अर्थात् पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन्। म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन।

बलिअघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ।

संस्कृतिविद् प्रा डा दीर्घराज घिमिरे मासु खानेले देवतालाई चढाएर खान बलि प्रथाको सुरूआत भएको बताउँछन्। ‘खाने कुरा आफूले उपभोग गर्नुअघि देवी देवतालाई चढाएर खानुलाई बलि भनिन्छ। हामी खाना खानुअघि दाल, भात, सब्जी आदि खाद्य सामग्री चढाउँछौँ। यसैले अग्रभागलाई बलि भनिन्छ, मासु खानेले पनि पहिले चढाएर खाने परम्परा बसेको हो,’ उनले भने।

विश्व जागरण अभियानका संरक्षक प्रा विनोद शर्मा मध्यकालमा तान्त्रिक परम्परा अनुसार उपासनाका लागि शुरु भएको बलि प्रथा अहिले तान्त्रिक समुदायमै हटेको बताउँछन्। काम, क्रोध, लोभ, मोह र अहंकार पाँच खराब प्रवृत्तिलाई पञ्चबलिका रूपमा त्याग्ने परम्परा रहेकामा अहिले पशु बलि दिइनु गलत भएको उनको भनाइ छ।

‘३६५ दिन गाउँ सहरमा काटिने पशुको विरोध नगर्ने तर दशैँ र मठ मन्दिरमा शास्त्रीय विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो। म जन्मसिद्ध शाकाहारी हुँ, तर पशुबलि शास्त्रसम्मत छ’, पूर्व नायब बडा गुरुज्यू एवम् राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराईले भने।

देवपूजा, पितृपूजा र विशिष्ट अतिथिको सत्कार गरी तीन सन्दर्भमा बलि दिने परम्परा चल्दै आएको हो। शास्त्रमा जहाँ बलिको प्रसङ्ग छ, त्यहाँ मासु नखानु राम्रो भनिएको छ। खाने हो भने देवता र पितृलाई चढाएर खाए दोष लाग्दैन भनी उल्लेख गरिएको उनी बताउँछन्।

‘देवान् पितृन् समभ्यच्र्य खादन् मांसम् न दोषवाक्’

भरसक काटमार नगर्नू, मासु नखानू महा फलदायक हुन्छ तर मानिसको प्रवृत्ति मासु खाने हुने भएकाले विधिपूर्वक बलि दिएर र चढाएर खाने शास्त्रीय व्यवस्था भएको हो।

बलि प्रथाको विरोधमा अभियान चलाइरहेका संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन शुक्ल यजुर्वेदमा ‘पशून् मा हिंसात् सर्वाणि भूतानि’ अर्थात् पशुलाई पनि अन्य जीव सरह मान, हिंसा नगर भनेकाले पशु बलि शास्त्र विरुद्ध रहेको बताउँछन्।

‘मानिसमा हुने बोकाको जस्तो काम भावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन। बलि दिएर पशु मुक्त हुने होइन, मुक्ति यति सजिलो छैन, ईश्वरले मात्र मुक्ति दिन सक्छन्’, उनले भने।

एक किलो मासुका लागि १६ किलो अन्न र पाँच लिटर पानी नष्ट हुँदा ‘इको सिस्टम’ नै बिग्रिएको, अक्सिजन कम भएको र जंगल सखाप हुने गरेको छ। शान्तिका नायक गौतम बुद्ध जन्मिएको नेपालमा पशु बलि प्रथा नसुहाउने डा टण्डनको भनाइ छ।

बलि प्रथाविरुद्ध अभियान चलेपछि नरिवल चढाउनेको संख्या बढेको छ। पशु बलि यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशु बलिविरुद्धको अभियान चलाइएको संयोजक बिकेश श्रेष्ठले बताए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.