संखुवासभा र तेह्रथुमवासीको पूर्वी तराई जोड्ने सडक यात्रा जोखिमपूर्ण


निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण संखुवासभाको सदरमुकाम खाँदबारी र तेह्रथुमको वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

हिलो सडकमा सवारी गुड्न नसक्दा कृषि उपज र खाद्यान्न ढुवानीमा जिल्लावासीले सास्ती व्यहोर्दै आएका छन् । निर्माण व्यवसायीले कमसल निर्माण सामग्री प्रयोग गर्ने, समयमा काम सम्पन्न नगर्ने, ठेक्का सम्झौता भएको महिनौँसम्म सडक निर्माणस्थलमा देखा नपर्ने, पेश्की रकम लिएर सम्पर्कविहीन हुनेजस्ता गतिविधि गर्दासमेत सडक डिभिजन कार्यालयले रेखदेख नगरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अनन्त गौलीले गुनासो गरे।

सवारी सञ्चालन हुनै नसक्ने गरी सडक बिग्रिएको उनको भनाइ छ । भर्खरै मर्मत र कालोपत्र सम्पन्न भएको यो सडकको विभिन्न खण्डमा हिलो भएर सवारी फस्दा संखुवासभा र तेह्रथुमवासीका लागि यो सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको उनले बताए।

वसन्तपुर म्याङ्लुड २६ किलोमिटर लामो यो सडक मर्मत सम्भारमा यो वर्ष मात्र सात करोड बढी खर्च भएको छ । वसन्तपुर–चैनपुर सडकखण्डमा पनि वर्षात्अघि करोडौँ खर्च गरे पनि सडक मर्मत नभएको व्यापारी बताउँछन् । सडक डिभिजन कार्यालयले भने निर्माण कम्पनीको बचाउ गर्दै सडक मर्मत सम्भारको डिजाइन नै परिवर्तन गरी नयाँ ढंगबाट सडक मर्मत सम्भार गर्नुपर्ने अवस्था आएको जनाएको छ । “भत्किएको सडकको नयाँ स्टिमेट र सर्भे गरी काम शुरु गर्छौं”– सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले भने।

मर्मत सम्भारको नाममा वर्षेनी करोडौँ रुपैयाँ खर्च हुने यो सडकमा वर्षायाम शुरु हुनासाथ हिलो उठेर सवारी ओहोरदोहोरमा समस्या भएको छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.