चार दिन लामो ‘महाकाली नाच’ सकियो


अट्ठाइस वर्षपछि सुरु भएको चार दिन लामो महाकाली नाच आजदेखि सकिएको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा मिलन केन्द्र आबद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि यो नाच सञ्चालन गरिएको हो ।

गत २१ गते राति मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथको पूजा गरी सुरू भएको यो नाच प्रत्येक दिन टोलटोलमा गएर नचाइएको समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताए। नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिको विभिन्न टोल र चोकचोकमा नचाइएको थियो ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताए। नाचमा देवी एक, महालक्ष्मी एक, वेता चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्याः दुई, माकः दुई गरी १५ जना टोली हुन्छ ।

मध्यपुरथिमि नगरपालिका, कलाकार, समिति आबद्ध व्यक्ति, स्थानीय बासिन्दा र सङ्घसंस्थाहरुबाट रकम संकलन गरेर नाच सञ्चालन गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार यो नाच अब हरेक वर्ष सञ्चालन गरिने छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.