मिस नेपाल सदिच्छा पढाइमा एआइटी टप

मिस नेपाल सदिच्छा पढाइमा एआइटी टप


थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का प्रेजिडेन्टले फेसबुकमा स्ट्याटस लेखे– ‘एआइटीमा यस वर्ष अध्ययनका लागि छनोट भएका २८ देशका ४३० जना नयाँ विद्यार्थीमध्ये एक जना तेजिली र सुन्दरी पनि छिन्। हामी उनलाई एआइटी परिवारमा स्वागत गर्न पाउँदा खुसी छौं।’

एआइटी थाइल्यान्डका प्रेजिडेन्ट वोरस्याक कानोक नुकुन्छाइले २०७२ भदौ १८ गते आफ्नो स्ट्याटससँगै ती सुन्दरीको फोटो पोस्ट गरेका थिए।

ती तेजिली र सुन्दरी थिइन्– मिस नेपाल २०१०, सदिच्छा श्रेष्ठ।

सदिच्छा मिस नेपाल भएको पाँच वर्षपछि २०१५ को सत्रमा बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गर्न एआइटी गएकी थिइन्। प्लस–टू सकेर विदा उपयोग गर्दै मिस नेपाल बनेकी उनले त्यसपछि सेन्ट जेभियर्स कलेजबाट बिजनेस स्टडिजमा स्नातक गरिन्।

उनी सेन्ट जेभियर्समै स्नातकोत्तर (एमबिए) पढ्दै थिइन्, जब एआइटीमा उनको नाम निस्कियो। उनी नेपालको पढाइ छाडेर थाइल्यान्ड पुगिन्। सदिच्छालाई कलेजका प्रेजिडेन्टसमेत रहेका प्राध्यापक वोरस्याकबाट सुरुआतमै तारिफ र स्वागत मिल्यो। र, सँगसँगै थपियो पढाइको चुनौती।

मोडलिङ वा कलाकारितामा लाग्नेप्रति नेपालमा एक प्रकारको टिप्पणी सुनिन्छ– ‘पढ्नवर्न सकेन, मोडलिङमा लागेछ।’

हुन पनि यी यस्ता क्षेत्र हुन्, जहाँ औपचारिक शिक्षाले क्षमता तय गर्दैन। त्यसले कसैको कलाकारिता वा मोडलिङ कत्तिको पोख्त छ भन्ने निर्धारण पनि गर्दैन। औपचारिक शिक्षाले समेट्ने दायराभन्दा माथि व्यक्तिको शिल्प, खुबी र सिर्जनशीलतासँग जोडिएको यो क्षेत्रलाई सधैं नै उही शिक्षाको संकीर्ण तराजुले तौलने सामाजिक प्रवृत्ति छ। यस्तोमा एकाध निस्कन्छन्, जो समाजले बनाएको यो शिक्षारुपी तराजुमा पनि अब्बल ठहरिन्छन्।

सदिच्छा त्यस्तै थिइन्– मिस नेपालको टाइटलमै भनेजस्तो ‘ब्युटी विथ ब्रेन’।

सानैदेखि पढाइमा अब्बल सदिच्छाको मिस नेपाल हुने कुनै सपना पनि थिएन। सेन्ट जेभियर्सबाट आइएस्सी सकेर बस्दा मिस नेपालको आवेदन खुलेको थाहा पाइन्। घरमा आमाबुवालाई सोधिन्। परिवारले सहमति जनायो।

त्यसपछि जे भयो, सबैलाई थाहा छ।

सदिच्छाले २०१० सेप्टेम्बर १ मा मिस नेपालको ताज पहिरिइन्।

यो ताजले सदिच्छालाई निकै व्यस्त बनायो। आयोजक हिडन ट्रेजरको नियममा बाँधिइन् उनी। प्रायोजकहरूका कार्यक्रममा जानैपर्ने दबाब पर्यो। साथीहरूले भने, ‘तेरो पढाइमा एक वर्ष ग्याप हुने भयो।’

सेप्टेम्बरमा मिस नेपाल बनेकी उनलाई अक्टोबरमै मिस वर्ल्डमा सहभागी हुनु थियो। तयारी गर्ने मौकै नपाई उनी चीन पुगिन्।

ग्ल्यामर दुनियाँको चकाचौंधले सदिच्छाको पढाइप्रति लगाव भने रत्ति घटाएन। अझ पढाइलाई निरन्तरता दिने र सफल हुने उनले चुनौती नै मोलिन्। परिवारमा पनि हजुरआमादेखि आमाबुवा सबै पढाइमै जोड दिन्थे।

आफ्नो लगाव र परिवारको सुझावले डोरिएर सदिच्छा मिस नेपालको ताजसहित सेन्ट जेभियर्स भर्ना भइन्। उनले बिजनेस स्टडिजमा स्नातक पढाइ सुरु गर्दा ताज पहिरिएको चार महिना मात्र भएको थियो।

‘कक्षा बिहान ६ देखि ९ बजेसम्म चल्थ्यो,’ सदिच्छाले भनिन्, ‘मलाई कसरी समय मिलाउँछौ भनेर धेरैले सोध्थे, म भन्थेँ– आधा काठमाडौं उठ्दै गर्दा मेरो पढाइ सकिएको हुन्छ।’

‘त्यो मेरो निम्ति साँच्चै चुनौतीपूर्ण बेला थियो,’ सदिच्छाले मिस नेपालको ताज र पढाइलाई एकसाथ अघि बढाउँदाको चुनौती खुलाउँदै भनिन्, ‘कुनै दिन बिहान ६ बजे हिँडेर बेलुका घर आइपुग्दा ६–७ बजिसकेको हुन्थ्यो। म थाकेर लखतरान पर्थें। घर आएपछि फेरि कलेजको काम पूरा गर्नुपर्थ्यो। महिनौं समय यही तरिकाले बिताएँ।’

यति हुँदा पनि सदिच्छाले हार मानिन्।

उनको यो अविराम संघर्षको देन परिवारलाई पनि जान्छ। पढाइलेखाइ सदिच्छाले विरासतमै पाएकी हुन्।

उनकी हजुरमुमा सत्यभामा अमात्य पाटनको आदर्शकन्या स्कुलमा प्रिन्सिपल थिइन्। उनी ललितपुरबाटै पहिलो एसएलसी दिने महिला हुन्। सदिच्छाकी आमा पनि पढाइलेखाइलाई निकै जोड दिन्थिन्। उनलाई सानैदेखि एउटै कुरा सिकाइयो, ‘जीवनमा पाएको शिक्षा कसैले लैजान सक्दैन। धनसम्पत्ति कहिले हुन्छ, कहिले हुन्न। शिक्षा मान्छेसँग सधैं रहन्छ।’

‘मोडलिङमा रुचि छ भने पनि पढाइ छाडेर होइन, पढाइसँगसँगै गर्न सकिन्छ भने ठिक छ, नभए पहिलो प्राथमिकता पढाइलाई नै दिनू भन्ने परिवारको चाहना थियो,’ सदिच्छाले भनिन्।

सदिच्छालाई आफैं पनि पढाइलाई निरन्तरता दिन नसके पछि परिन्छ भन्ने लाग्थ्यो। त्यसैले त, एआइटी जानुअघि एस ट्राभल्स र फोक्सवागनमा काम गरेकी सदिच्छाले जति व्यस्त भए पनि पढाइलाई पहिलो प्राथमिकतामा राखिन्। पैसा र ग्ल्यामरको चमकले पढाइप्रति ध्यान हट्ला भन्ने उनलाई ठूलो डर र चिन्ता थियो। यसमा उनी सधैं सतर्क रहिन्।

सेन्ट जेभियर्समा जति मिहिनेत गरेर स्नातक सकिन्, त्यत्तिकै मिहिनेत एआइटी थाइल्यान्डमा पनि देखाइन्। उनले एआइटीको स्कुल अफ म्यानेजमेन्ट नै टप गरिन्। र, ‘विलियम हिल प्राइज’ समेत जितिन्।

‘मास्टर्स गर्न घरबाट त्यति टाढा आएपछि जतिसक्दो राम्रो गर्छु भन्ने भयो, रमाइलो गर्नुपर्छ भन्नेतिर त ध्यानै गएन,’ उनले भनिन्, ‘त्यसैको फल हो, आज राम्रो रिजल्ट आयो।’

एआइटी टप गरेको उनलाई सुरुमा थाहा थिएन। ग्रायजुएसन समारोह अगाडि त्यसको अभ्यास हुँदै थियो, मिस नेपालजस्तै। प्राध्यापक र विद्यार्थी लाममा थिए।

स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, स्कुल अफ रिसोर्सेस एन्ड डेभलपमेन्ट हुँदै स्कुल अफ म्यानेजमेन्टको पालो आयो। अभ्यासमा सदिच्छालाई उत्कृष्ट विद्यार्थीको सूची दिइयो जसमा लेखिएको थियो– सदिच्छा श्रेष्ठ, रिसिपेन्ट अफ विलियम हिल प्राइज।

सूचीमा आफ्नो नाम देखेर उनी छक्कै परिन्।

‘त्यतिबेला बल्ल मैले अवार्ड पाउँदैछु भन्ने थाहा भयो,’ सदिच्छाले भनिन्, ‘ममी–ड्याडी मेरो ग्रायजुएसनका लागि दुई दिनपछि थाइल्यान्ड आउँदै हुनुहुन्थ्यो। तर, उहाँहरूलाई केही भनिनँ।’

आइएस्सीमा ‘आउटस्ट्यान्डिङ’ विद्यार्थीको अवार्ड पाएकी सदिच्छाले केही त जित्लिन् भन्ने उनको बुवालाई आशा थियो। सदिच्छाले भने ढाँटिन्, ‘यत्रो ठूलो कलेजमा कहाँ पाउँछ अवार्ड।’

२०१७ मे १९ को दिन ग्रायजुएसन समारोह थियो।

स्कुलका अरू साथीले अवार्ड थापिरहेका थिए। त्यही बेला मञ्चबाट सदिच्छाको नाम उद्घोष भयो। उनले मञ्चमा गएर रातो रिबन भएको प्रमाणपत्र हातमा लिइन्।

‘त्यसपछि बल्ल ममी–ड्याडीले थाहा पाउनुभयो,’ उनले भनिन्, ‘उहाँहरूलाई त सरप्राइज भयो। म आउटस्ट्यान्डिङ एकेडेमिक पफर्मेन्सका लागि विलियम हिल प्राइज थाप्दै थिएँ। मेरो खुसीमा रमाउने परिवारका लागि मिस नेपालपछि खुसी हुने अर्को मौका थियो।’

उनले थाइल्यान्डमा गएर ल्याएको अब्बल नतिजा नेपाल सरकारले पनि कदर गर्दैछ। उनी यही भदौ २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट विद्याभूषण पदक लिँदैछिन्।

‘मिस नेपालको क्राउन लगाउनु र राष्ट्रपतिबाट विद्याभूषण पदक लिनु मेरो लागि उत्तिकै सम्मानको विषय हो,’ उनले भनिन्।

सदिच्छाले भण्डारीको हातबाट अवार्ड थाप्न लागेको यो दोस्रो अवसर हो। भण्डारी रक्षामन्त्री हुँदा उनले ‘भ्वाउ टप टेन कलेज’ को अवार्ड पाएकी थिइन्। ‘त्यतिबेला उहाँ नेपालकै पहिलो महिला रक्षामन्त्री हुनुहुन्थ्यो। यसपालि विद्याभूषण लिँदा उहाँ पहिलो महिला राष्ट्रपति हुनुहुन्छ,’ सदिच्छाले भनिन्।

विद्याभूषण लिन नेपाल आएकी सदिच्छाको फर्कने मुड छैन। ‘म वान–वे टिकट लिएर आएकी हुँ,’ सदिच्छा भन्छिन्, ‘आई एम ओपन टू अल एक्सपेरियन्स।’

सदिच्छालाई अब करिअर बनाउने अफर चाहिएको छ।

‘टेन टू फाइभ काम मेरा लागि होइन जस्तो लाग्छ। फेरि त्यस्तै स्टेबल कामबाट माथि पुग्न सकिन्छ कि भनेर पनि सोच्छु,’ उनले भनिन्।

तत्काल काम सुरु गरिहाल्ने इच्छा भने उनलाई छैन। ‘पहिला त दसैं मनाउँछु’, दुई वर्षदेखि दसैं नमाएकी सदिच्छालाई यसपालि यो चाडप्रति खुबै उत्साह छ।

केही समय काम गरेपछि उनी फेरि पढाइलाई निरन्तरता दिन चाहन्छिन्। उनको पिएचडी गर्ने धोको पनि छ।

‘प्रोफेसनल करिअर सुरु गरेकै छैन। ब्याचलर्स पढ्दै गर्दा सानो सानो काम गरेको थिएँ,’ उनले भनिन्, ‘मलाई मेरो आफ्नै कम्पनी होस् भन्ने छ। त्यो अलि पछि सुरु गर्छु। म्यानेजमेन्ट स्किल सिकेँ। एकैचोटि आफ्नो कम्पनी खोल्नुअगाडि कम्पनी कसरी चल्छ भनेर व्यवहारिक ज्ञान लिन्छु। त्यो सिकेपछि मलाई आफ्नै कम्पनीको बोस हुन मन छ, कसैको मुनि बसेर काम गर्न मन छैन।’

करिअरमा आँखा दौडाइरहेकी सदिच्छाको घरमा विवाहको कुरा पनि चलेकै छ। उनको दृढ इच्छासामु परिवारको जोड भने चलेको छैन।

‘अर्को ३ देखि ५ वर्षपछि होला विवाह,’ उनले भनिन्, ‘केटीहरूको लाइफमा अलिकति त्यस्तै हो। एजुकेसन एउटा लेभलमा पुगेपछि विवाह गर्ने त होला भन्ने प्रश्न सुरु हुन्छ। कामभन्दा पहिला विवाहको कुरा आउँछ, तर म काम गर्न चाहन्छु। प्रोफेसनल करिअर बनाउँछु भन्ने छ।’

मिस नेपालपछि पढाइलाई निरन्तरता दिँदै एआइटीमै उत्कृष्ट हुन सकेकोमा उनलाई अर्को खुसी पनि छ- मोडलिङमा लागेपछि पढाइ चौपट हुन्छ भन्नेलाई यसले गतिलो जवाफ दिएको उनी ठान्छिन्।

‘आफ्नो तारिफ आफैं गर्न एकदमै अप्ठेरो हुन्छ, तर सानो हुँदादेखि नै स्कुलमा सधैं फस्ट भएर मैले आमाबुवालाई गर्व गर्ने वातावरण दिएँ। मेरो घरमा रेड रिबन भएका मेडल टन्नै छन्,’ उनले भनिन्।

एआइटी टपेर पाएको विलियम हिल प्राइज र विद्याभूषण अब त्यसैमा थपिनेछन्।

तस्बिरहरूः अनिश रेग्मी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.