भक्तपुरमा साताव्यापी साक्षरता दिवस मनाइने


यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म देशभरका ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताए। जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा हुने प्रावधान छ । अझै ३७ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ ।

निर्देशक पौडेलले भने, “निर्वाचन आचारसंहिता लागू भएका कारण पूर्ण साक्षर घोषणा हुन तयारी अवस्थामा रहेका खोटाङ, डडेल्धुरा, पर्वत, म्याग्दी, संखुवासभा, सुनसरी र तेह्रथुम जिल्ला घोषणा हुन सकेका छैनन् ।” निर्वाचन सकिएपछि यस वर्ष सबै बाँकी जिल्लालाई पूर्ण साक्षर घोषणा गरिने उनले बताए।

यसैबीच केन्द्रले यस वर्ष साताव्यापी रुपमा ३८औँ राष्ट्रिय शिक्षा दिवस र ५१औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले आइतबारदेखि दिवस मनाइने बताए।

केन्द्रले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको हो ।

कार्यक्रमअनुसार भदौ १८ गते केन्द्रमा वृक्षरोपण, गुण्डु र काठमाडौँको नांलेभारेस्थित पटापमा सडक नाटक प्रदर्शन गरिने भएको छ । त्यस्तै साक्षरतासम्बन्धी लोकदोहोरी प्रतियोगिता, साक्षर भएपछिको परिवर्तन शीर्षकमा वृत्तचित्र प्रदर्शन गरिने निर्देशक पौडेलले जानकारी दिए। त्यसैगरी भदौ २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा जनचेतनामूलक कक्ष राखेर साक्षरता दिवस मनाइने छ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.