पूर्वी नवलपरासीमा सेकुवा पोल्दै गर्दा कोइला उछिट्टिएर आगलागी हुँदा पाँच जना घाइते भएका छन्।
देवचुली नगरपालिका-१७ पिप्रहरस्थित द सिशोर चितवन टाइगर रिसोर्टमा बसेका पाँच जनाले रिसोर्टबाहिर सेकुवा पोल्दै गर्दा कोइला उछिट्टिएर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार आगोले पोलेर कावासोती नगरपालिका-८ का पाँच जना घाइते भएका छन्।
घाइतेहरुमा ४४ वर्षीय प्रदीपकुमार भट्टराई, ४१ वर्षीया मिना पौडेल, ६ वर्षीया अन्नी भट्टराई, २६ वर्षीया अषिम राना,२४ वर्षीय अनुप गुरुङ घाइते छन्।
उनीहरूलाई देवचुली नगर अस्पतालमा सामान्य उपचार पश्चात चितवन मेडिकल कलेज भरतपुर पठाइको थियो।
भरतपुर अस्पतालबाट थप उपचारका लागि काठमाडौंको किर्तिपुर वर्न अस्पताल पठाइएको डिएसपी नेपालले जानकारी दिएका छन्।
'सेकुवा पोल्ने भाँडोमा अत्यधिक कोइला हालिएको रहेछ। त्यसको लप्काले भेटेको पनि भनिएको छ,' डिएसपी नेपालले भने। पछि कोइला उछिट्टिएर भाँडै घोप्टिएको र उनीहरूको जिउमा लागेको डिएसपी नेपालले भने।
सेकुवा पोल्दै गरेको स्थानवरपर अरू प्रज्वलनशील पदार्थ पनि हुनसक्ने प्रहरीको आकलन छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।