सर्लाहीको पर्सा गाउँपालिकास्थित एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब २ बजे पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतो अचानक बेहोस भएका थिए।
रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय महतो हाल सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवको रूपमा कार्यरत थिए।
बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।
दिउँसो करिब साढे २ बजे अस्पतालका चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको डिएसपी सरोज राईले जानाकरी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।