सिराहा कारागारमा कैदीबन्दीहरूले रातभर विरोध गरेपछि जिल्ला सुरक्षा समिति बैठक बसेको छ।
कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा मंगलबार मध्याह्न साढे १२ बजे बैठक बसेको हो।
बैठकमा सुरक्षा स्थितिलगायतबारे कुराकानी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार १३ जना कैदीलाई नियन्त्रणमा लिएपछि कारागारमा अशान्त भएको थियो।
कारागारभित्र लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग भइरहेको छ भन्ने सूचनाको आधारमा सोमबार सर्च अपरेसन चलाइएको थियो।
अपरेसनको क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट पेस्तोल र १ लाख २० हजार रूपैयाँ नगद भेटिएको डिएसपी पालले जानकारी दिए।
'रकम र नगद भेटिएपछि १३ जनालाई नियन्त्रणमा लिएका थियौं। त्यसमध्ये एक जनाको हिजो नै रिहा हुने मिति भएकाले छोडिदिएका छौं,' उनले भने, '१२ जनालाई विभिन्न ठाउँमा पठाएका छौं।'
नियन्त्रणमा लिएका १२ मध्ये ३ जनालाई काठमाडौं केन्द्रीय कारागार, ७ जनालाई नुवाकोट र २ जनालाई रौतहट कारागार पठाइएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएसँगै कारागार रहेका अरू कैदीहरूले सोमबार दिउँसोदेखि नै विरोध गरिरहेका छन्।