जिल्ला कारागार सिरहाबाट पेस्तोलसहितका हातहतियार बरामद भएको छ।
कटुवा पेस्तोल, त्यसमा लाग्ने ७.६२ लेखिएको गोली २ थान र विभिन्न घरेलु हतियार बरामद भएको हो।
घटनामा संलग्न रहेको आरोपमा इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार साँझ कारागार परिसरभित्र गुटबन्दी गरेको आरोपमा आँखा पट्टी र हात बाँधी १० जना कैदीबन्दीलाई घरेलु हातहतियारले कुटपिट गरी कारागार कोठाभित्रबाट बाहिर निकालेर गेटमा ताल्चा लगाई होहल्ला मच्चाएका थिए।
त्यसपछि सुरक्षा निकायले सतर्कता र सक्रियता बढाएको थियो।
हात र आँखा बाँधिएका १० जना कैदीबन्दीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो।
थप अनुसन्धानपछि कारागारभित्र हतियार लुकाइछिपाइ राखिएको आशंकामा सोमबार बिहान नेपाली सेनासहितको सुरक्षाकर्मी तथा कुकुरको मद्दतले कारागारभित्र खोजबिन गरेको थियो।
सो क्रममा कारागारभित्र रहेको जिम हलमा पुरानो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र विभिन्न घरेलु हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।