एक साता भयो!
काठमाडौं, माइतीघर मण्डलको चिसो सडकमा सुतिरहेका छन्, २७ वर्षीय यादव सिंह। उनी कात्तिक २५ गतेदेखि चौबीसै घन्टा त्यहीँ छन्।
भदौ २३/२४ गते जेनजी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मारिएका र घाइतेहरूको माग सम्बोधन नभएको भन्दै उनी आमरण अनसन बसेका हुन्।
प्रहरीको गोलीबाट मारिएका र घाइतेहरूको प्रतिनिधित्व गर्दै उनले ४ बुँदे माग राखेर आमरण अनसन बसेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई तुरून्त पक्राउ गरी कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनलाई कु-शासन र भ्रष्टाचार विरूद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने र भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
-1763464285.jpg)
'यी माग पूरा नभएसम्म ज्यान गए पनि सडकबाट उठ्दिनँ,' उनले भने, 'मौखिक सम्झौतामा पनि रोकिन्न, लिखित सम्झौता नै हुनुपर्छ।'
उनले थपे, 'सरकारले अटेर गरेमा घाइते साथीहरू आमरण अनसन बस्ने तयारी गरिरहेका छन्। लिखित सम्झौता नभएसम्म सडकबाट हट्दिनँ।'
उनी सडकमा बसेको एक सातासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहसचिव, गृहमन्त्री र स्वास्थ्यमन्त्री भेट्न आएका थिए।
उनीहरूले मौखिक रूपमा सम्झौता तोड्न भनेपछि आफू नमानेको यादव बताउँछन्। उनी यसपटक आफ्नो माग लिखित रूपमा हुनुपर्ने अडानमा छन्।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नाम लेखेरै कारबाहीको माग गरेको ब्यानर राखेका छन्। त्यसले गर्दा माग सम्बोधन गर्न गाह्रो भएको प्रतिक्रिया मन्त्रीहरूले दिइरहेको उनी बताउँछन्।
'प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट ओली र लेखकको नाम हटाएमा माग सम्बोधन हुनसक्छ भनिरहेका छन्,' उनले भने, 'नाम हटाएर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र लेख्छु भनिराखेको छु तर पनि सरकारले लिखित सम्झौता गर्न सकेको छैन।'
उनी मृतक परिवार र घाइतेहरूसँग छलफल गरेर आमरण अनसन बसेका हुन्। त्यही कारण उनीहरूको माग पूरा नभएसम्म सडकबाट नउठ्ने उनको भनाइ छ।
उनी आफै पनि जेनजी आन्दोलनमा सक्रिय र चर्चित पात्र हुन्। जेनजी आन्दोलनको क्रममा उनको एउटा तस्बिर भाइरल भएको थियो। त्यतिबेला उनले संसद भवनको गेटअगाडि सशस्त्र प्रहरीको भ्यानमा चढेर झण्डा बोकेको तस्बिर भाइरल भएको थियो।
-1763464285.jpg)
उक्त तस्बिरलाई जेनजीहरूले भ्रष्टाचार विरूद्धको विद्रोहको रूपमा सामाजिक सञ्जालमा भाइरल बनाएका थिए। तस्बिर भाइरल भएसँगै उनको चर्को आलोचना पनि भएको थियो। जसमा उनलाई मार्ने समेत धम्की आएको सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार माइतीघरबाट शान्तिपूर्ण गरेको प्रदर्शनी नयाँ बानेश्वरको संसद भवन अगाडि प्रहरीले अश्रुग्यास र पानीको छ्यापेपछि माहोल बिग्रिँदै गएको हो।
उनी प्रहरीसँग लडिरहेका थिए। प्रहरीले गोली चलाउँदा एक जना साथी उनकै अगाडि ढलेपछि आफूलाई पनि गोली हान्न भन्दै सशस्त्र प्रहरीको भ्यानमाथि चढेको बताउँछन्।
'आफ्नै अगाडि साथी ढलेको देखेपछि झण्डा बोकेर सशस्त्र प्रहरीको गाडीमाथि चढेर छाती थापेको हुँ,' उनले भने, 'तर प्रहरीले गोली चलाएन। नेपाली झण्डा बोकेर गएकाले गोली नहानेको हुनसक्छ।'
उनी विगतमा माओवादी केन्द्रसँग जोडिएका थिए। त्यही क्रममा उनको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग खिचिएको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भयो।
त्यसकारण आफूलाई माओवादीको मान्छे भनेर जेनजी आन्दोलन भड्काउन आएको आरोप लागेको उनी बताउँछन्। त्यसपछि नेकपा एमाले लगायतका अन्य पार्टीमा मान्छेहरूले आफूलाई गाली गर्न थालेको उनी बताउँछन्।
'माओवादीको मान्छे भनेर गालीसँगै भदौ २३ गते राति नै ज्यान मार्ने धम्की समेत आयो। त्यसले गर्दा २३ गते साँझ कोठा छोडेर भागेँ,' उनी भन्छन्, 'निकट साथीहरूले एमालेका कार्यकर्ता र प्रहरीले खोजिराको छ भनेपछि कोठा छोडेर अन्त्यै गएर बसेँ।'
उनी भदौ २३ गते राति नै सिनामंगलस्थित एक होटलमा गएर बसेका थिए। २५ गते साँझतिर मात्र उनी गृहजिल्ला पुगेको उनी बताउँछन्।
उनी विगतमा माओवादी निकट अखिल क्रान्तिकारीको गत महाधिवेशनमा उपमहासचिव थिए। जसमा १७ भोटले पराजय भए। त्यसको केही समयपछि नै आफू पार्टी छोडेर स्वतन्त्र भएको दाबी गर्छन्।
-1763464284.jpg)
जेनजी आन्दोलनमा स्वतन्त्र भएरै लागिपरेको थिए। त्यसैले जेनजी आन्दोलन सामाजिक सञ्जालमा आह्वान गरिएसँगै आफूले पनि भिडिओ बनाएको उनी बताउँछन्।
'सामाजिक सञ्जाल बन्द गरिएको थियो। भ्रष्टाचारले सीमा नाघिसकेको थियो। त्यसले पनि प्रर्दशनी हुनुपर्छ भनेर सडकमा आउन आह्वान गरेको थिएँ,' उनले भने।
उनी माइतीघरमा अनसन/धर्ना बस्ने हरेक पीडितलाई साथ दिन आइपुग्छन्।
७ वर्षअघि बलात्कारपछिको हत्या भएको निर्मला पन्तको न्यायका लागि पहिलोपटक सडकमा आएका थिए। कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको थियो।
आफ्नै गाउँको किशोरीको बलात्कारपछि हत्या भएपछि न्यायका लागि उनी सडकमा आएका थिए।
'त्यतिबेला आफ्नै गाउँको घटना भएकाले न्यायका लागि आएको थिएँ। त्यसपछि अरूको पीडामा पनि साथ दिन थालेँ,' उनी भन्छन्, 'आफू बोलिदिँदा न्याय पाउँछन् भनी किन चुप लागेर बस्नु भन्ने लाग्छ। त्यसैले साथ दिन सडकमा आइपुग्छु।'
उनी कञ्चनपुर पुनर्वास नगरपालिका-६ का स्थानीय हुन्।
उनी विद्यार्थी जीवनदेखि नै विद्रोही स्वभावका थिए। धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसबाट उनले स्नातक पास गरेका हुन्।
२०७३ फागुन २६ गतेको कुरा हो।
पुनर्वास नगरपालिका-८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोबिन्द गौतमको मृत्यु भएको थियो।
त्यतिबेला आफू पहिलोपटक ढुंगा बोकेर एसएसबीलाई हान्न गएको उनी सम्झन्छन्। त्यतिखेर उनी १८ वर्षको थिए।
'त्यहीबेला पहिलोपटक सामाजिक न्यायको लागि सडकमा उत्रिन थालेको हो,' उनले भने, 'सक्रिय रूपमा भने २०७५ को निर्मला पन्तको घटनापछि लागेको हो।'
-1763464284.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी