सुखुम्वित सडक थाइल्यान्डको राजधानीको मध्यभागमा कोरिएको छ। दायाँबायाँ अनेकानेक सरसामान बिक्री हुने झिलिमिली मल, पसल, पार्लर, रेस्टुरेन्ट अनि बारका ताँती।
सडकको बीचबाट ठड्याइएका पिलरमाथि बैंकक मेट्रो रेल कुद्ने अकासे खण्ड। चौडा फुटपाथ छेउछाउ यदाकदा फलफूल, मासुको सेकुवा आदि बेच्ने सडक व्यापारी।
झमक्क साँझ परेपछि सुखुम्वित झनै गुलजार। वर्षको दस महिना उखरमाउलो गर्मी; अक्टोबरमा भारी वर्षापछि पनि हपहप।
सोइ (गल्ली) नम्बर १९ नजिकै पर्छ व्यस्त अशोक स्टेसन। देशी–विदेशी यात्रुको चहलपहल रहने यो क्षेत्रलाई सुखुम्भितको मुटु भन्दा फरक नपर्ला। टर्मिनल–२१ नामक विमानस्थल शैलीको भव्य मललाई वरिपरि ठडिएका आकाश छुने पाँचतारे होटलका भवनहरूले होचो बनाउन खोजेको भान हुन्छ।
पश्चिमा पर्यटक झुम्मिने खाओ सान सडक अलि टाढै पर्छ। बैंककको रेडलाइट (रातोबत्ती) क्षेत्र भनिने पाट पोङ पनि अलि परै पर्छ। तर अशोक स्टेसन वरपरका रेस्टुरेन्ट र बारमा रङरङका पर्यटक बियर र थाई परिकार चाख्न व्यस्त हुन्छन्। सडकतिर फर्काइएका हरेक टेबलमा विदेशी ग्राहकसँगै थाई युवती वा यदाकदा 'लेडी ब्वाई' (एलजिबिटीआइक्यू प्लस मध्ये एकथरि जसलाई ट्रान्सजेन्डर मानिन्छ) गफमा मस्त देखिन्छन्।
छेवैमा गाँजाको पात आकारको हरियो बत्ती बालिएको झिलिमिली पसल देखिन्छ। 'वीड हब' नामक पसलबाहिर सिसाको ढोकामा टाँसिएको कागजमा लेखिएको छ — सरकारी स्वीकृतिप्राप्त क्यानाबिस पसल। दुई ग्राम किन्दा एक ग्राम सित्तैमा।
हिँड्दै जाँदा अलि पर अर्को क्यानाबिस पसल देखा पर्छ — क्यानाबिस किंगडम।
लेखिएको छ – एक ग्रामको १०० भाट (नेपाली रूपैयाँ ४४०)।
सुराथानी प्रान्तमा रहेको को समुई टापूतर्फ गइरहेको ठूलो डुंगापछाडि देखिएको समुद्री दृश्य। फोटो: सुरेन्द्र फुयाल
सन् २०२४ मा तीन करोड ५५ लाखभन्दा बढी पर्यटक थाइल्यान्ड आएका थिए। कोभिड महामारीअघि यो दक्षिण पूर्वी एसियाली देशमा त्यसको झन्डै दुई गुणा बढी अर्थात् झन्डै चार करोड पर्यटक भित्रिएका थिए। त्यति धेरै पर्यटकबाट त्यो वर्ष भएको कमाइले थाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २० प्रतिशत हिस्सा ओगटेको थियो।
चीन, मलेसिया, भारत, रूस, दक्षिण कोरिया, युरोप र अमेरिकाका पर्यटक आकर्षित गरिरहेको थाइल्यान्डमा सन् २०२५ मा पर्यटक आगमन पोहोर जस्तै उत्साहजनक छ।
बंगालको खाडीपारिको नेपालको यो छिमेकी देशमा सन् २०२५ अक्टोबरसम्म दुई करोड ५० लाख बढी पर्यटक आइसकेका छन्। पर्यटन उद्योगबाट मात्रै थाइल्यान्डले यो वर्ष १.१५ ट्रिलियन भाट कमाइसकेको छ। त्यतिले नपुगेर थाई सरकार कोभिडअघिको जत्ति नै पर्यटक कसरी भित्र्याउने उपायबारे छलफल गरिरहेको छ।
आखिर देश–देशावरका पर्यटकहरू किन थाइल्यान्ड जान चाहन्छन्? थाइल्यान्डसँग पर्यटक तान्ने त्यस्तो के जादु छ? विगत केही वर्षयता नेपालकै विश्वविख्यात तराई, पहाड र हिमाल छाडेर नेपाली पर्यटक समेत किन थाइल्यान्ड गइरहेका छन्? त्यो पनि दसैंतिहारको बिदा पर्ने सुन्दर शरद याममा?
अधिकांश मानिस कृषि कर्ममा लागेको थाइल्यान्डमा सन् १९४० को दशकमा मात्र पर्यटन सुरू भएको थियो।
सन् १९४५ पछि युरोप र पछि अमेरिकाबाट यात्रुवाहक हवाईजहाज आउन थालेका थाइल्यान्डमा त्यसपछिका वर्षहरूमा सरकारले हवाई र सडक यातायाता पूर्वाधारमा लगानी गर्न थाल्यो। र, पर्यटक आगमन ह्वात्तै बढ्न थाल्यो।
त्यसको प्रमुख कारण हो थाइल्यान्डका मनोरम सुमद्री किनार, टापू, मन्दिर, कला तथा संस्कृतिका साथै मीठा परिकार। अनि छुटाउनै नहुने अर्को कारण हो भरपुर मनोरञ्जनका सम्भावना।
यौन पर्यटन
बैंककको सुखुम्वित क्षेत्रमा रहेको देशकै पुरानोमध्येको एक, द एट्लान्टा होटलमा यौन पर्यटन निषेध गरिएको छ। फोटो: सुरेन्द्र फुयाल
त्यसमा पनि पहिलो नम्बरमा आउँछ यौन पर्यटन।
सन् १९५४ देखि १८७५ सम्म चलेको भियतनाम युद्धमा अमेरिका समेत मुछिएपछि लाखौं अमेरिकी सैनिक यो क्षेत्रमा खटाइन थाले। उनीहरूले बिदा मनाउन छिमेकको शान्त देश थाइल्यान्ड रोज्न थाले। लगत्तै बैंकक, पटाया र फुकेट लगायत सहरमा एकपछि अर्को 'गोगो बार' तथा 'स्ट्रिप बार' हरू खुल्न थाले। अनि यो देशमा यौन पर्यटनको जग बसाले।
कानुनतः यौन धन्धाका लागि दलाली सौदाबाजी जस्ता क्रियाकलाप दण्डनीय अपराध हुन् तर लगभग सबै प्रमुख सहरमा रेडलाइट क्षेत्रहरू छन् जहाँ यस्ता क्रियाकलाप दिनरात भइरहन्छन्। थाइगर डट कममा प्रकाशित एक आलेख अनुसार यहाँको पर्यटन उद्योगमा यौनको ठूलो भूमिका छ।
किनभने, थाइल्यान्डमा करिब ३ लाख मानिस यौन व्यवसायमा रहेको गैरसरकारी अनुमान छ। थाई शाही प्रहरीको अनुमानमा भने अनुमति प्राप्त यौन अखडाहरूमा करिब ७६ हजार मानिस यौन व्यवसायमा लागेका छन्।
थाइगरमा प्रकाशित लेखले भन्छ — गैरकानुनी नै भए पनि यौन पर्यटनले अर्थतन्त्रमा वार्षिक रूपमा झन्डै साढे ६ अर्ब अमेरिकी डलरको योगदान दिने गरेको छ, जुन देशको जिडिपीको ३ प्रतिशत हिस्सा हो।
अन्य अध्ययनले जनाएअनुसार थाइल्यान्ड आउने र बस्ने विदेशी समेतले गर्ने गैरकानुनी यौनधन्धा जोड्दा त्यो धनराशी अझै धेरै हुन जान्छ।
गाँजा पर्यटन
सुखुम्वित सडक छेउको एक गाँजा पसल। थाइल्यान्ड भर करिब ११ हजार गाँजा–भाङका सरसामान बेच्ने पसल छन्। फोटो: सुरेन्द्र फुयाल
कोभिडपछि डरलाग्दो गरी पर्यटन उद्योग धराशायी भइरहेका बेला थाई सरकारले सन् २०२२ मा गाँजा सेवन र बेचबिखनमाथि लगाइएको प्रतिबन्ध हटाइदियो। थाइल्यान्ड गाँजालाई कानुनी मान्यता दिने पहिलो देश बन्यो। त्यसपछि गाँजा तथा भाङ उद्योगमा ठूलो लगानी हुन थाल्यो। दुई वर्षभित्रै देशभर अनुमतिप्राप्त करिब ११ हजार वटा गाँजा पसल खुले।
बैंककका प्रमुख सडकमा ५० मिटरको दुरीमा हरियो झिलिमिली नियोन प्रकाशले सिँगारिएको नयाँ गाँजा पसल भेटिन्छ। सुखुम्वित सडक पेटीबाट हिँड्दै जाँदा ठाउँ ठाउँमा गाँजाको धुवाँ नाकमा ठोक्किन आइपुग्छ। बैंककको ठमेल भन्न सकिने खाओ सान सडक छेउमा बनाइएको एउटा मल पूरै गाँजा र गाँजाका बोटबाट बनेका सरसामान बेच्न राखिएको छ।
तर गाँजा बेचबिखन र सेवन अनियन्त्रित हुन थालेपछि सन् २०२३ मा थाई सरकारले भन्यो — अब उप्रान्त चिकित्सकको सिफारिसबिना गाँजा र गाँजा मिसाइएका खानेकुरा बेच्न पाइँदैन।
विदेशी पर्यटकको हकमा भने त्यो नियम लागू भएको छैन।
धुवाँ उडाएर तान्ने गाँजासँगै गाँजा मिसाएर बनाइएका कुकिज र चुइङ गम पनि बजारमा खुल्लमखुला बेच्न राखिएको देखियो।
हालैको एक साँझ सुखुम्वितको वीड हब नामक झिलिमिली पसलमा भेटिइन् गंगा। नाकमा रिङ लगाएकी भएर म्यानमारी (बर्मेली) हो कि भनेर सोधेँ। जबाफमा उनले आफू पञ्जाबी मूलकी थाई भएको बताइन्।
टेबलमा गाँजा भर्न तयार पारिएका रोलिङ पेपरको थुप्रो थियो। ग्राहक कुर्दै गर्दा उनी पालैपालो ती पेपरमा गाँजा भर्दै एउटा सिसीमा राख्दै थिइन्। फरक फरक प्रकारका गाँजा अलग अलग सिसीमा राखिएका थिए।
भनिन्, 'यी सबै गाँजा थाइल्यान्डमा उमारिएका हुन्। त्यो चाहिँ क्यालिफोर्निया (अमेरिका) बाट ल्याइएको हो। त्यो अलि महँगो छ।'
गाँजा किन्न, तान्न वा खान यति सहज हुन थालेपछि कैयौं पर्यटक वा व्यापारीले कुरिअर र अन्य माध्यमबाट थाई गाँजा आफ्नो देश पठाएर व्यापार गर्न थालेका घटना पनि नेपाल लगायतका देशबाट बाहिर आउन थालेका छन्।
नेपालमा पनि थाइल्यान्डबाट गाँजा तस्करी हुन थालेको पाइएपछि नेपाल प्रहरीले थाईल्यान्डबाट आउने सरसामान कुरिअर र विमानस्थलका लगेजमाथि निगरानी बढाएको छ। हामी फर्किँदा कुकुरसहितका प्रहरी बैंककबाट आएका लगेज सुँघाउन व्यस्त हुनु त्यसको एक प्रमाण हुन सक्छ।
थाई समुद्री तट
को समुई टापूको एक समुद्री किनार। यहाँका बिचहरूले इन्डोनेसियाको बालीको झल्को दिन्छन्। फोटो: सुरेन्द्र फुयाल
सेतै बालुवा टल्किने सफा निलो पानी र सेता छाल देखिने थाई समुद्री बिच (तट) ले धेरै पर्यटकलाई थाइल्यान्ड घुम्न आकर्षित गर्ने गरेको छ। पश्चिम तटमा हिन्द महासागरको आन्दामन सागर र पूर्वतर्फ फैलिएको थाई खाडी वारिपारि फैलिएका सैयौं सफा बिच तथा समुद्री गाउँ तथा नगरले लाखौं पर्यटकलाई सम्मोहित तुल्याउने गरेको छ।
बैंकक नजिकैका पटाया वरपर रहेका को सामेत नामक टापूदेखि दक्षिणका फुकेट र क्राबी क्षेत्रका बिच, समुद्री खेल रूचाउने पर्यटकका लागि प्रख्यात छन्। इन्डोनेसियाको बालीको झल्को दिने को समुई लगायतका टापू पनि सफा बिच र डुंगा सयर लगायतका पानी गतिविधिका लागि प्रसिद्ध छन्।
बाह्रै महिना गर्मी हुने उष्ण हावापानी युक्त थाइल्यान्डमा बिचमा आराम गर्न र खेल्न हिउँदमा हिउँ र बरफले ढाकिने रूस लगायतका देशका पर्यटक ओइरिने गरेका छन्।
तर यो दक्षिण पूर्वी एसियाली देश धेरैभन्दा धेरै पर्यटक एकै पटक आएपछि हुने ओभर टुरिजम अर्थात् अति–पर्यटनको सिकार भइसकेको छ। लाखौं पर्यटक एकै पटक ओइरिन थालेका कारण सामाजिक असर त परेको छ नै; फुकेट क्षेत्रको फिफी लगायत क्षेत्रमा वातावरणीय समस्या समेत देखिइसकेका छन्।
को (टापू) फिफी लेहमा रहेको माया बे नामक बिचमा सन् २००० मा प्रदर्शित लिओनार्दो डिकाप्रिओ अभिनित 'द बिच' नामक चलचित्र छायांकन भएको थियो। त्यस क्रममा लिओनार्दोलाई पर्यावरणमा क्षति गरेको आरोप समेत लाग्यो।
कारण— चलचित्र सार्वजनिक भएपछि माया बेको बिचमा एकै दिनमा लाखौं पर्यटन पुग्न थाले। त्यसका कारण त्यहाँको पानीभित्रका सामुद्रिक जीव तथा जीवनमै असर पर्न थाल्यो। बाध्य भएर सरकारले त्यो बिचमा पर्यटकलाई प्रतिबन्ध लगाइदियो।
केही वर्षपछि सामुद्रिक जीवन फर्किन थालेपछि मात्र पर्यटकका लागि माया बे नियन्त्रित रूपमा खुला गरिएको छ।
थाई खाना, थाई मुस्कान
प्राउनको तरकारी र भात जस्ता धेरै थाई परिकार अहिले विश्वभरका मानिसले चाखिसकेका छन्। किनभने थाई सरकारले सन् २००२ देखि थाई खानामार्फत् पर्यटन विकास गर्ने अभियान नै चलाएको छ। फोटो: सुरेन्द्र फुयाल
पर्यटकलाई आफूतिर चुम्बक जसरी तान्ने थाइल्यान्डको अर्को विशेषता हो थाई स्माइल (मुस्कान) र थाई हस्पिटालिटी (अतिथि सत्कार)।
थाई स्माइल भन्ने शब्द यति प्रसिद्ध छ कि त्यही नाममा एक वायुसेवा कम्पनी नै खुलिसकेको छ। यसले नेपालसहित देश–देशावरका पर्यटक थाइल्यान्ड ओसारिरहन्छ।
हुन पनि बाटोमा हिँड्दा कुनै थाईसँग आँखा जुधिहाल्यो भने उनीहरू मुस्कुराइहाल्छन्। कुनै कुरा सोध्नुपरे वा कुनै सेवा लिनुपरे मुस्कुराउँदै सहयोग गर्ने थाई बानी पुरानै हो।
मुस्कान सहितको थाई अतिथि सत्कारसँगै जोडिएर आउने अर्को कुरा हो स्वादिष्ट थाई परिकार।
थाई स्वादको वाइवाइ चाउचाउ नेपालीको प्रसिद्ध खुराक हो। कुखुराको मासु वा माछा वा प्राउन वा श्रीम्पको लेमन ग्रास र अदुवादार तोम याम सुप, पाड थाई वा तुलसी पत्ता हालेर बनाइने कुखुराको मासु र भातको स्वाद धेरै सहरी नेपालीका लागि नौलो रहेन।
पर्यटकलाई दीर्घकालसम्म आकर्षित गर्न थाइल्यान्डले सन् २००२ मा निकै चलाखीपूर्ण कूटनीतिक कार्यक्रम सुरू गर्यो। 'ग्लोबल थाई प्रोग्राम' नामक त्यो कार्यक्रम संसारैभरि फैलाइयो र त्यस क्रममा थाई खानालाई केन्द्रबिन्दुमा राखेर सेवा दिइयो।
विदेश मन्त्रालयकै अगुवाइमा थाई सेफ संसारभरि पुर्याइयो र धमाधम सरकारी लगानीमा थाई रेस्टुन्टहरू खोल्न थालियो। फलतः विश्वमा थाई रेस्टुरेन्टको संख्या ५,५०० बाट बढेर अहिले बीस हजार पुगिसकेको छ।
त्यो कार्यक्रमका कारण पनि संसारभरिका मानिस थाई खानाको स्वाद थाइल्यान्डमै गएर चाख्न लालायीत हुन थालेको बताइन्छ।
प्रसिद्ध बौद्ध तीर्थस्थल
बैंककको अशोक स्टेसन नजिकै रहेको बेन्जाकिटी पार्क सामुन्ने रहेको कलात्मक सरस्वती देवीको मन्दिर। फोटो: सुरेन्द्र फुयाल
थाइल्यान्ड विश्वकै सबभन्दा ठूलो बुद्धिस्ट देश हो जहाँका सात करोड मानिसमध्ये ९५ प्रतिशत बौद्ध धर्म मान्छन्। अन्य धर्मावलम्बीको संख्या न्यून छ।
अन्तर्राष्ट्रिय पात्रो सुरू हुनु भन्दाअघिको तेस्रो शताब्दी बिसिईमा भारत वर्षका सम्राट अशोकले बौद्ध धर्म प्रचार गर्न थाइल्यान्ड, कम्बोडिया लगायत दक्षिण पूर्वी एसियाका देशमा भिक्षुहरू पठाएको विश्वास गरिन्छ। त्यसैले पनि थाइल्यान्डका हरेक टोल, गाउँ र सहरमा सुनौला गजुरयुक्त बुद्धका मन्दिर देख्न सकिन्छ।
सम्राट अशोकको सम्मानमा बैंककको मध्य भागमा उनकै नाममा मेट्रो रेल स्टेसन बनाइएको छ। उनको मूर्ति सहितका मन्दिर पनि थाइल्यान्डमा छन्।
हिन्दुत्वको प्राचीन प्रभाव नै मान्नुपर्छ, यो देशमा शिव, ब्रह्मा, विष्णु, लक्ष्मी, सरस्वती र गणेशका मूर्तिहरू जताततै देख्न सकिन्छ। हिन्दु देशहरूमा बिरलै देखिनै रावण (तोत्साकन) को मूर्ति पनि सुवर्णभूमि विमानस्थलसहित देशका कुना कुनामा देख्न सकिन्छ। तर थाईहरूले ईश्वरीयभन्दा पनि दानवीय शक्तिको प्रतीकका रूपमा तोत्साकनको मूर्ति ठड्याएको बताइन्छ।
को समुईको 'बिग बुद्ध' मन्दिर हातामा रहेको हिन्दु देशहरूमा बिरलै देखिनै रावण (तोत्साकन) को मूर्ति। फोटो: सुरेन्द्र फुयाल
थाई राजा वजिरालोङ्कोनलाई 'राम एक्स' पनि भन्ने गरिएको छ। हिन्दु धर्मको ग्रन्थ रामायण हरेक थाईले पढेको हुन्छ र बैंककदेखि करिब २ सय किलोमिटर उत्तरतर्फ थाईहरुले खुबै मान्ने अयुथया (अयोध्या) धाम पनि छ। त्यहाँ बर्मेली शैलीका बौद्ध चैत्यहरू देख्न सकिन्छ।
देशैभर छरिएका चैत्य र मन्दिरको दर्शन गर्न पनि दक्षिणपूर्वी एसियाका मानिसहरू थाइल्यान्ड आउँछन्।
कलात्मक अनि प्राय: सुनौला थाई बौद्ध मन्दिर तथा मूर्तिले देश–देशावरका कलाप्रेमी घुमन्तेलाई मोहित पार्ने नै भयो!
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal