जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा रहेका महत्वपूर्ण भवनमा शृंखलाबद्ध आगजनी गरियो।
संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत सहित प्रहरीका अधिकांश कार्यालय, सरकारी कार्यालय, निजी तथा व्यापारिक भवनमा आगजनी गरिएका थिए।
यसरी आगजनी गरिएका सबैजसो भवनहरू केही घण्टाभित्रै ह्वारह्वार्ती बलेका थिए। ती महत्वपूर्ण सरकारी र निजी भवनहरूमा योजनाबद्ध रूपमा आगजनी गरिएको आशंका छ।
हालै अमेरिकी अखबार न्यूयोर्क टाइम्सले लेखेको समाचारमा पनि योजनाबद्ध रूपमा र आगो चाँडै सल्किने रसायन प्रयोग गरिएको हुनसक्ने उल्लेख छ।
भदौ २३ गते काठमाडौंको बानेश्वरमा युवाहरूको गोली हानेर हत्या भएपछि भोलिपल्ट सरकारी र निजी संरचनाहरूमा भएको व्यापक आगजनी बिनायोजना सम्भव नहुने समाचारमा उल्लेख छ।
त्यस दिन बिहानैदेखि सडकमा ओर्लिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन सकेको थिएन। हरेकजसो ठाउँ र टोलमा मानिसहरू थिए। त्यही भीडमा घुसेर कतिपय समूहहरूले व्यापक तोडफोड र आगजनी गरेको प्रहरीको आशंका छ।
'त्यस दिन हरेकजसो ठाउँमा मानिसहरू बिहानैदेखि थिए। बिहान ललितपुरका कतिपय ठाउँमा आगजनी सुरू गरिसकेपछि प्रहरी पुग्नै नसक्ने ठाउँमा थियो। त्यही बेलामा काठमाडौंका अरू ठाउँमा पनि आगजनी भए। थेगी नसक्ने प्रकारको काम भइसकेको थियो,' एक उच्च अधिकारीले भने।
ती आगजनीमा गएका कैयन व्यक्तिहरूका भिडिओ फुटेज प्रहरीले संकलन गरेको छ।
ती मानिस को हुन्? उनीहरूको परिचय के हो? के काम गर्छन्?
'अनुसन्धानपछि त्यो पत्ता लाग्न सक्नेछ। मुख्य सरकारी भवन र व्यावसायिक प्रतिष्ठानहरूमा गरिएका आगजनीमा निश्चित समूहहरूको संलग्नता थियो वा थिएन भन्ने पनि त्यसमा संलग्न मानिसहरू पक्राउ परेपछि र बयानबाट थाहा लाग्न सक्छ,' एक प्रहरी अधिकृतले भने।
यसरी आगजनी गर्न पेट्रोल, मट्टितेल लगायत मात्रै प्रयोग भएका थिए वा अरू कुनै रसायन नै प्रयोग भएका थिए भन्ने प्रस्ट भइसकेको छैन। कतिपयले रसायन पनि प्रयोग गरेर आगो लगाएको पनि आशंका गरेका छन्।
के साँच्चै नै त्यति बेला आगजनी गर्न रसायन प्रयोग भएको थियो?
यसबारे हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेसँग कुराकानी गर्यौं।
उनले यसबारे अहिले केही भन्न नसकिने बताए।
'केमिकलहरू प्रयोग भएको/नभएको भन्ने कुरा पछि खुल्छ। अहिले नै केही भन्न सकिने कुरा भएन,' उनले भने।
भदौ २४ गते काठमाडौं उपत्यकामा रहेका नेपाल प्रहरीकै भवनहरूमा आगजनी भए। आगजनी हुँदा प्रहरीको कामकारबाहीहरू समेत केही दिन रोकिए। कतिपय अनुसन्धान गर्ने सामग्री समेत जलेका थिए।
के अब हुने अनुसन्धानले त्यो खुल्छ कि अनुसन्धान गर्न ढिलो भइसक्यो?
आगजनी भएको महिना दिन भन्दा धेरै भइसक्यो। यतिका दिनपछि नमूना संकलन गरेर ती भवनमा भएको आगजनीमा के रसायन प्रयोग भएको थियो पत्ता लाग्न सक्छ?
के प्रहरीले आगजनी भएका भवनबाट फोरेन्सिक परीक्षणका लागि नमूना संकलन गरिसकेको छ?
हरेकजसो अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरी कार्यालयमा सिन अफ क्राइम अफिसर (सोको) हुन्छन्। उनीहरूले घटनास्थलमा खटिएर मुचुल्का उठाउने काम गर्छन्। अर्थात्, कुनै प्रमाण, फोटो, कागजात वा कुनै पनि विवरणहरू संकलन गर्ने गर्छन्।
भदौ २४ गते भएका घटनाहरूमा आगजनीपछि सोको शाखा लगायतबाट काम भएको डिआइजी घिमिरेले बताए।
'फोटो खिच्ने, मूल्यांकन गर्ने काम भएका छन्। आगजनी भइसकेपछि सुरूमा मुचुल्काको काम गर्ने हो त्यसपछि बल्ल सफा गरिने हो,' उनले भने, 'ल्याबभन्दा पनि सबै प्रमाणहरू संकलन गरिएको छ। आवश्यकता पर्यो भने जाँचबुझ आयोगले हेर्ला, सोध्ला। हाम्रो प्राविधिकहरू, सोकोका टोली खटिएका थिए।'
उनले प्रमाण संकलन लगायतका काम गरिएको बताए पनि परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको भने छैन।
स्रोतका अनुसार आगजनी गर्नका लागि के-कस्ता रसायनको प्रयोग भए भनेर अहिलेसम्म कुनै पनि नमूना प्रयोगशालामा पठाइएको छैन।
'अहिलेसम्म यस्तो कुनै पनि नमूना पठाइसकेको छैन। जाँचबुझ आयोग गठन भएकाले पनि होला कि! तर किन नपठाइएको हो भन्ने जानकारी भएन,' स्रोतले भन्यो।
विधि विज्ञान प्रयोगशालाकै एक अधिकारी पवन ढुंगानालाई उद्धृत गरी सोडियम वा म्याग्नेसियमको प्रयोग भएको हुन सक्ने अनुमान गरेको न्यूयोर्क टाइम्सको समाचारमा लेखिएको छ। दुवै रसायन प्रज्वलनशील भएकाले प्रयोग गरिएको हुन सक्ने ढुंगानाको अनुमान थियो।
यद्यपि यस्तो रसायन प्रयोग गरिएको थियो वा थिएन भन्नेबारे यकिन गर्न प्रयोगशालामा परीक्षण गर्नुपर्ने हुन्छ।
प्रहरी वा अहिले गठन गरेको जाँचबुझ आयोगले त्यसबारे बुझ्न उपयुक्त प्रमाण नै संकलन गर्न सक्यो कि सकेन भन्ने यकिन छैन।
काठमाडौंमा कार्यरत एक अधिकृतका अनुसार भदौ २४ गते भएको घटनाको केही दिनपछि खटिएका टोलीले तस्बिरहरू र अन्य मुचुल्काका काम मात्रै गर्यो। फरेन्सिक परीक्षणकै लागि भनेर गरेको थिएन।
'त्यति बेला फोटो र अरू डकुमेन्टेसनको काम भएको थियो। तर फरेन्सिक परीक्षणका लागि भनेर कुनै प्रमाण संकलन भएको ठ्याक्कै थाहा भएन,' ती अधिकृतले भने।
अर्का एक अधिकृतले पनि त्यति बेला फरेन्सिक टिमको माग गरिएको भए पनि नमूना संकलन गरी नपठाइएको बताए।
'फरेन्सिक परीक्षणका लागि भनेर नमूना संकलन भएन। मुचुल्काका काम भयो। फरेन्सिकको टिम मागिएको त थियो तर परीक्षण गर्न नमूना संकलन गरिएन। फरेन्सिक टिम आएको पनि याद भएन,' ती अधिकृतले भने।
यस कारण पनि त्यति बेला कुनै रसायन प्रयोग भए/नभएको भन्नेबारे यकिन हुन सकेको छैन।
एक प्राविधिक प्रहरीका अनुसार वैज्ञानिक परीक्षण गर्न कुनै पनि नमूना सकेसम्म चाँडो संकलन गरिनुपर्छ।
'कुनै पनि प्रकारको वैज्ञानिक परीक्षण गर्न नमूनाहरू सकेसम्म चाँडो संकलन गर्नुपर्छ। यसरी संकलित नमूनाले दिने नतिजा पनि यकिन गर्न सकिने खालको हुन्छ। ढिला गरी लिइने नमूनाबाट परीक्षण गर्न गाह्रो हुन्छ,' ती प्रहरीले भने, 'भदौ २४ गतेको केही दिनपछि वर्षा पनि भएको छ। त्यस कारण पनि रसायन प्रयोग भए/नभएको कुरा यत्तिकै भन्न सकिन्न।'
सरकारले विशेष गरी भदौ २३ र २४ गतेको घटनाको छानबिन तथा अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
जाँचबुझ आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी नियुक्त भएका थिए। आयोगले अनुसन्धान गर्न गृह मन्त्रालयले सात जना कर्मचारी पनि उपलब्ध गराउने निर्णय भएको थियो।
एक जना सहसचिव, एक जना उपसचिव, एक जना शाखा अधिकृत, एक जना नायब सुब्बा, एक जना कम्प्युटर अपरेटर, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगी पनि उपलब्ध गरिएको थियो।
त्यसबाहेक अनुसन्धान गर्न प्रहरीकै कर्मचारीहरू समेत त्यहाँ खटिएका छन्।
प्राविधिकसहित कम्तीमा पाँच जना प्रहरी कर्मचारीले आयोगलाई छानबिनमा सघाइरहेको उच्च स्रोतले बतायो।
अहिले आयोगले पहिलो चरणमा व्यक्तिगत र राजनीतिक दलको क्षति भएको सम्पत्तिको विवरणको माग गरेको छ। यस्तै विभिन्न प्रकारका भिडिओ, फुटेज र तस्बिरहरू समेत माग गरिएको छ। भिडिओ र तस्बिरको मद्दतले पनि त्यहाँ केकस्ता रसायनको प्रयोग भएका थिए भन्ने खुल्न सक्नेछ।
यस्ता प्राविधिक तथा भिडिओबाट विश्लेषण गर्नुपर्ने तथ्यहरूका लागि पनि प्रहरीका अनुसन्धान अधिकृतहरू खटाइएको उच्च स्रोतले बतायो।