बिपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएपछि बीचमा कुनै गाडी अलपत्र अड्किएका त छैनन् भनेर हामीले सिन्धुली प्रमुख जिल्ला अधिकारीलाई सोधेका छौं।
उनका अनुसार बिपी राजमार्गमा अहिले कुनै पनि गाडी अड्किएका छैनन्। रोकिएका गाडीहरूलाई मदन भण्डारी राजमार्ग हुँदै काठमाडौं पठाइएको छ। कतिपयलाई फर्काइएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले सूचना जारी गरी तीन दिनका लागि बिपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न रोक लगाएको थियो।
भारी वर्षापछि झरेको पहिरोका कारण काभ्रेका विभिन्न स्थानमा सडक अवरूद्ध भएपछि प्रहरीले खुर्कोट, मूलकोट, नेपालथोक लगायतका स्थानमा सवारी साधन रोकेर राखेको थियो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले काभ्रेमा सडक अवरूद्ध भएपछि बिपी राजमार्ग भएर बर्दिबास, सिन्धुली, काभ्रे हुँदै काठमाडौं जाने सवारी साधनलाई फर्काएर मदन भण्डारी राजमार्ग हुँदै काठमाडौं पठाइएको बताए।
कतिपयलाई भने जहाँबाट आएको त्यतै पठाइएको उनले जानकारी दिए।
पहिरो लगायतका अवरोधका कारण अहिले बिपी राजमार्गमा सवारी साधन रोकिएको अवस्था नभएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।
भुसालका अनुसार पहिरोको जोखिमका कारण बिपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको भए पनि जिल्लाका अरू सडकमा भने सवारी साधन सञ्चालन भइरहेका छन्।