नवलपरासीदेखि पश्चिमबाट काठमाडौंका लागि छुटेका सवारी साधन बर्दघाटमा रोकिएका छन्।
बिहीबार रातिदेखि परेको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो गएको र अझै पहिरो जाने उच्च जोखिमका कारण नारायणघाट हुँदै काठमाडौं जाने सडक आवागमन बन्द गरिएको छ।
नारायणघाट-काठमाडौं सडकमा सवारी साधनको आवागमन बन्द गरिएपछि पश्चिमबाट काठमाडौं जाने सवारी साधनलाई पनि बर्दघाटमै रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले काठमाडौं जाने सवारी साधनलाई बर्दघाटको टिसिएन चोकमै रोकेर राखिएको जानकारी दिए।
यसअघि सामान्य वर्षा हुँदा समेत हिलो र पहिरोका कारण बन्द हुने दाउन्ने सडक खण्डमा कुनै समस्या नभए पनि तीन दिनका लागि नारायणगढबाट काठमाडौं जान रोक लगाइएपछि पश्चिमबाट आएका गाडीहरूलाई बर्दघाटबाटै फर्काइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार बुटवल-नारायणगढ सडक खण्डमा अहिलेसम्म पहिरोको कुनै पनि समस्या देखिएको छैन।
'दाउन्ने सडक खण्डमा कुनै समस्या भएर नभई नारायणगढ हुँदै काठमाडौं जाने सवारी साधनलाई मात्र बर्दघाटमा रोकिएको हो, नारायणगढ र त्यहाँबाट पूर्वतर्फ जाने सवारी साधनलाई जान दिइएको छ,' श्रेष्ठले भने।
जल तथा मौसम विज्ञान विभागले बागमती, मधेस र गण्डकीसँगै लुम्बिनी प्रदेशमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागको उक्त आग्रहपछि कतिपय जिल्लाका सडकहरूमा रातिको समय सवारी साधन सञ्चालन नगर्न भन्दै स्थानीय प्रशासनले सूचना जारी गरेका छन्। लुम्बिनी प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ।
जल तथा मौसम विज्ञान विभागले भनेजस्तो शुक्रबार दिउँसो २ बजेसम्म लुम्बिनी प्रदेशका जिल्लाहरूमा भारी वर्षा नभएको र कुनै पनि सडकको आवागमन नरोकिएको प्रहरीले जनाएको छ।
नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बिहीबार रातिदेखि अहिलेसम्म नवलपरासीमा सिमसिम पानी परे पनि ठूलो वर्षा नभएको बताए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले पनि वर्षापछिको बाढी तथा पहिरोका कारण शुक्रबार दिउँसोसम्म लुम्बिनी प्रदेशका कुनै पनि सडक अवरूद्ध नभएको बताए।
'पानी पर्न सक्ने सम्भावना र बाढी पहिरोको जोखिम त छ तर अहिलेसम्म प्रदेशका कुनै पनि सडक बाढी र पहिरोका कारण अवरूद्ध भएका छैनन्। बिहान पश्चिम रूकुमको मध्यपहाडी लोक मार्गमा सामान्य पहिरो झरेर सडक अवरूद्ध भएको थियो अन्यत्रका सडक सामान्य छन्,' शर्माले भने।
प्रहरी उपरीक्षक शर्माले भनेजस्तै रूपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी लगायत लुम्बिनीका अधिकांश जिल्लाका आकाशमा कालो बादलले ढाकिएको छ। बुटवल, भैरहवा लगायत रूपन्देहीमा पनि बिहानैदेखि आकाशमा कालो बादलले ढाकिए पनि पानी भने परेको छैन।