काठमाडौंमा प्रहरी मुख्यालय नक्सालबाट करिब पाँच सय मिटरको दुरीमा प्रख्यात भाटभटेनीको मन्दिर छ।
जमिनमा खुट्टा नटेकेर आकाशमै झुन्डिएका देवी र देवताका मूर्ति पश्चिम फर्किएका छन्। जुन हाँडीगाउँ नजिकैको प्राचीन भाटभटेनी मन्दिरको अर्को अनौठो विशेषता हो।
राजधानीका रैथाने बासिन्दाले खुबै मान्ने भाटभटेनीको मन्दिरमा दसैंका बेला तीर्थारूको भीड लाग्छ।

यस्तो भुइँमा खुट्टा नटेकेकी 'आकासे देवता' को मन्दिरबाट करिब ५० मिटर पर नेपालको पहिलो भाटभटेनी सुपर स्टोर ठडिएको छ।
भदौ २४ गतेको आन्दोलन क्रममा भयंकर आक्रमण, तोडफोड, लुटपाट र आगजनीपछि यो भाटभटेनी सुपर स्टोर जलेर कालै भएको देखिन्छ। पूर्वतिर मोटरगाडी पार्क गर्ने आँगनमा पसलभित्र जलेर कालै भएका फलाम र स्टिलका फर्निचरका अस्थिपञ्जर असरल्ल थुपारिएको छ।
मन्दिर पारि सडकमा एक सरकारी बस पनि जलेर ध्वस्तै छ।
विध्वंसपछि उठ्ने प्रयास
हालैको एक बिहान म धेरै नेपालीले आफ्नै ठान्ने पहिलो भाटभटेनी सुपर स्टोरको हविगत हेर्न पुगेको थिएँ। तर गेट बन्द थियो।
भित्र उभिएका थिए चौकिदार कमल अधिकारी। साथमा थिए भारतको उडिसा घर भएका पानीको पाइप मर्मत गर्ने अर्का कामदार।
नक्साल भाटभटेनीको ६ मध्येका एक चौकीदार कमल अधिकारी। फोटो: सुरेन्द्र फुयाल
दसैंका बेला आकाश खुलेर वातावरण घमाइलो थियो। तर उनीहरुको अनुहारमा उज्यालो थिएन।
गेट बाहिरै उभिएर केही जान्न मनलाग्यो।
'कति जना गार्ड हुनुहुन्छ यहाँ?'
'६ जना छौं हामी।'
'मीनबहादुर गुरूङ जी कति बेला आउनु हुन्छ?'
'सर एघार बजेतिर आउनु हुन्छ।'
'भदौ २४ गते आक्रमण हुँदा तपाईंहरूले रोक्न सक्नुभएन?'
'कसरी सक्नु, एक सय जना जति आएका थिए करिब साढे दुई बजेतिर। गेट लगायौं तर गेट भत्काउने गरी जोडले हल्लाउन थालिहाले। हामीलाई पनि बालबच्चाको माया छ कि छैन भनेर धम्क्याउन थाले। हाम्रा १९ जना मारिएका छन् भन्दै डड्याङ डुडुङ ढुंगा हान्न थाले।'
'आगजनी चाहिँ कसरी भयो?'
'बियरको सिसीमा पेट्रोल हालेर आगो लगाएर भवनमा हान्न थाले। आगो फैलिन थाल्यो। कर्मचारीको भागाभाग भयो। लुटपाट पनि सुरू भइहाल्यो…।'
एकैछिनको सन्नाटापछि चौकिदार अधिकारीसँगै उभिएका उडिसाका भारतीय कामदारले थपे, 'बहुत आदमीका रोजगार खत्म हो गया।'
हुन पनि नक्सालको मात्र होइन, राजधानीको चक्रपथ वरपरका कम्तीमा पाँच ठूला भाटभटेनी सुपर स्टोरका भवनको हालत उस्तै छ। ती लगभग एकै समयमा आक्रमणमा परेका थिए। देशभरि रहेका २८ मध्ये २० वटा सुपर स्टोर भवन र एउटा गोदाम भवनमा लगभग उस्तै दृश्य देखिए— क्षतिग्रस्त।
तर केही दिनपछि नै सामान्य तोडफोड भएका चारसहित १६ वटा भाटभटेनी सुपर स्टोर यो दसैंमा खुलिसकेका छन्। बाँकीको सफाइ अध्ययन र नवनिर्माणको जिम्मेवारी अहिले सञ्चालक मीनबहादुर गुरूङ र उनका व्यवस्थापकको काँधमा आएको छ।
मीनबहादुर भन्छन् — मन भारी छ
ध्वस्त भाटभटेनी हेर्न आएका नयाँ मन्त्री कुलमान घिसिङसँग मीनबहादुर गुरूङ। फोटो: फेसबुक/भाटभटेनी सुपर स्टोर
भदौ २४ मा भाटभटेनीमा गरिएका आक्रमण र आगजनी लगत्तै गुरूङले मिडियासँग दुखेसो पोखेको सुनियो, 'भाटभटेनीमा फेरि किन आक्रमण भयो, यो कुरा चाहिँ मैले पनि बुझ्न सकेको छैन। यो एउटा निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य हो। यो निकै भर्त्सना गर्नु पर्ने काम हो।'
६ महिनाअघि राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो। कैयौं संदिग्ध लुटेरा पक्राउ परे र ती विरूद्ध कानुनी अनुसन्धान र मुद्दा चल्यो।
तर भदौ २४ मा प्रहरी कार्यालय मात्रै होइन, अदालत भवनहरू पनि जलेकाले ती मुद्दाबारे अनिश्चय लम्बिएका छन्।
यसपालि पनि महाराजगञ्जस्थित भाटभटेनीमा लुटपाटमा संलग्न भएको आशंकाका नेपाली सेनाले केही व्यक्ति पक्राउ गरेको समाचार भदौ २५ मा बाहिरियो। न्यायालयका लागि बलिया प्रमाण हुनसक्ने, तोडफोड, लुटपाट र आगजनीका हजारौं हजार भिडिओ तथा फोटोले सञ्जाल भरिएका छन्। तर अनुसन्धान र कानुनी कारबाहीको टुंगो नहुँदा धेरै पीडित खिन्न छन्।
तर लडेपछि धूलो टकटक्याउँदै उठ्ने वा आवश्यक परे मलमपट्टि गर्दै फेरि काममा फर्किनेको यहाँ कुनै कमी छैन।
भाटभटेनी सुपर स्टोरका परिकल्पनाकार एवं संस्थापक मीनबहादुर र उनका कर्मचारी ध्वस्त भएका आफ्ना भवन र पसलको नवनिर्माणको तयारीमा जुटिसेकका छन्। त्यसैले त आगजनी र आक्रमणको दुई साता नबित्दै कर्मचारीले भवन सफाइ थाल्दै डढाइएका फर्निचर आँगनमा थुपार्न थालिसकेका छन्।
अहिले नक्साल, महाराजगन्ज, बौद्ध लगायतका ध्वस्त भाटभटेनीका आँगन तिनै ध्वस्त फर्निचरको थुप्रोका पहाडले भरिएका देख्न सकिन्छ।
मीनबहादुर गुरूङ तिनै कामको अगुवाइमा लागेका छन्।
'यो वर्ष दसैंको उत्सव भएन, मन भारी छ। यो कुरा नै हजुरमा राखेँ,' लडेपछि फेरि उठ्ने तयारीमा अति व्यस्त गुरूङले आफ्नो छोटो एसएमएस प्रतिक्रयामा सेतोपाटीसँग भने।
थप कुराकानी गर्न कैयौं प्रयास गरे पनि उनको फोन उठेन। उमेरले ६० काटिसकेका भए पनि उनी दैनिक १८ घन्टा खटिने गरेको बताउँछन्।
आधुनिक ढाँचाका भव्य र उज्याला भवन क्षण भरमै ध्वस्त भएका दृश्य देखेका धेरै नेपाली विचलित भए। ती भवन धेरैको दसै किनमेल गन्तव्य बनिसकेका थिए।
त्यसैले भाटभटेनीका मालिक र कर्मचारी मात्र होइन, भाटभटेनीमा यो दसैंको किनमेल गर्ने योजना बुनेका लाखौं नेपाली निरास पाइएका छन्।
तैपनि विध्वंसलगत्तै मीनबहादुर गुरूङले मिडियासँग भनिसकेका छन् — आफ्ना १० हजार कर्मचारीमध्ये कसैले रोजगारी र सेवा तथा सुविधा गुमाउने छैनन्।
अझ महत्त्वपूर्ण कुरा त उनले ढिलोमा चार महिनाभित्र काठमाडौंका सबै स्टोरको पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइसक्ने आफ्नो अठोट सार्वजनिक गरिसकेका छन्।
भाटभटेनीको कथा
मीनबहादुर गुरूङ र श्रीमती साबित्री गुरूङ। दुवैले मिलेर सुरू गरेको व्यवसाय नेपालमा व्यावसायिक सफलताको उदाहरण बनेको छ। फोटोः फेसबुक भाटभटेनी सुपर स्टोर
भाटभटेनीका देशभरका २८ मध्ये २१ वटा भवनमा तोडफोट लुटपाट र आगजनी हुन भदौ २४ गते केही घन्टा मात्र लाग्यो। तर यो व्यावसायिक सञ्जाल एकै वर्ष वा दशकमा बनेको होइन।
भाटभटेनीका २८ वटा भवन निर्माण हुन कम्तीमा ४१ वर्ष लागेको थियो।
धेरै पाठकलाई थाहै छ त्यसको जग हाल्ने काम गरेका थिए खोटाङको दुर्गम गाउँबाट काठमाडौं आएका गुरूङले। त्यो पहिलो पसलको जग उनले भाटभटेनी मन्दिर नजिकै हालेका थिए, २०४१ जेठ ४ गते।
त्यति बेला नेपाल बैंक लिमिटेड, नयाँ सडक शाखामा जागिरे गुरूङले आफ्नी श्रीमती सावित्रीलाई व्यस्त राख्न भाटभटेनी किराना पसल खोलिदिएका थिए।
पहिलो दिन त्यो पसलबाट १३ सय रूपैयाँको व्यापार भएको उनले हालै क्यापिटल नेपाललाई बताएका थिए।
गुरूङ दम्पतीको मेहनतले अब फल दिन थाल्यो। व्यापार दिन दुई गुणा बढ्न थालेपछि त्यो किराना पसलको आकार बढ्न थाल्यो। दस वर्षपछि त्यसले भाटभटेनी सुपर स्टोरको सुरूआती आकार लियो।
त्यहाँ पनि एक पटक आगलागीका कारण गुरूङले ठूलो क्षति बेहोर्नुपरेको थियो। तर हरेस खाएनन्; उनीहरू अघि बढिरहे।
२०६३ सालमा माओवादी सशस्त्र द्वन्द्व सकिएपछि नेपालमा शान्ति फर्किन थाल्यो। त्यसपछिका वर्षमा काठमाडौं उपत्यकाभित्र भाटभटेनीहरू थपिने क्रम तीव्र भयो।
त्यो क्रम जारी रहेर कोभिड महामारी सकिएपछिका हालैका वर्षमा भाटभटेनी सुदूरपश्चिमको धनगढीदेखि तराई–मधेसका जनकपुरधाम र वीरगन्ज तथा झापाका सहरमा पनि खुलिसकेका छन्।
देशभरका भाटभटेनीमा ५० अर्बभन्दा बढी रूपैयाँको लगानी भइसकेको बताउने गुरूङका अनुसार ती सुपर स्टोरमा दैनिक अर्बौं रूपैयाँको व्यापार हुन्छ। कुनै बेला दक्षिण एसियाभर भाटभटेनी सुपर स्टोर खोल्ने योजना सुनाएका गुरूङले पछिल्लो समय देशभित्रै सुपरस्टोरको संख्या ५१ वटा पुर्याउने र साना साना 'मिनी' भाटभटेनी स्टोर खोल्ने योजना सुनाउने गरेका छन्।
भावुक तर अविचलित मीनबहादुर
मीनबहादुर गुरूङ। फोटोः फेसबुक भाटभटेनी सुपर स्टोर
मीनबहादुर गुरूङले पहिलो भाटभटेनी पसल खोल्दा उनी २४ वर्षका थिए। तर भदौ २४ गतेको अराजक आक्रमणपछि तीमध्ये धेरै सम्पत्ति कि त तोडफोड गरिए कि लुटिए वा जलाएर खरानी बनाइए। भाटभटेनीका अनुसार मोटामोटी करिब ११ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ।
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार अहिले क्षतिको हिसाबकिताब तथा मूल्यांकनको काम भइरहेको छ।
'नक्सालको मुख्य भवन र बौद्धको भवनको नवनिर्माण पनि गर्नु र्ने हुन सक्छ। हामी दसैंलगत्तै इन्जिनियरिङ अध्ययन गर्दैछौं,' उनले भने।
क्षति ठूलो भए पनि भाटभटेनीका भवन तथा सामानको बीमा गरिएकाले ठूला हिस्सा बीमा कम्पनीबाट पाइने आशा सञ्चालकको छ।
भदौ २४ गते आफ्ना एकपछि अर्को सुपर स्टोर ध्वस्त बनाइएपछि भाटभटेनीका धेरै कर्मचारीजस्तै मीनबहादुर पनि विक्षिप्त र भावुक बनेका थिए। भाटभटेनीका कलिला महिला कर्मचारीहरू आँसु पुछ्दै भवनबाट बहिरिरहेको देखिने भिडिओ सञ्जालमा धेरैले हेरे।
कालीकोटबाट काठमाडौं आएर भाटभटेनीमा रोजगारी पाएकी तर आक्रमणपछि निकै विक्षिप्त बनेकी एक महिलाको बिलौना र दुखेसो पनि धेरैले हेरे, सुनेँ।
मीनबहादुर गुरूङ पनि ध्वस्त भाटभटेनी अगाडि उभिएर मिडियाका क्यामरा सामु आँसु बगाउँदै, आँसु रोक्न संघर्ष गरिरहेका भिडिओ धेरैले हेरे।
तर उनले तुरून्तै साहस बटुल्दै भनेका थिए, 'मेरो जिम्मेवारी छ। मेरा पछाडि हजारौं भाइबहिनीहरु छन्। उनीहरूका पनि छोरा छन्, छोरी छन्। बैंकहरूलाई ऋण तिर्नु छ। आपूर्तिकर्ता भेन्डरहरूलाई पनि तिर्नुपर्ने छ।'
पटक पटक भाटभटेनीमा आक्रमण भएको सन्दर्भ कोट्याएपछि उनले सुनौलो नेपाल च्यानललाई भने, 'फेरि भत्कायो भने फेरि बनाइदिन्छौं। हाम्रो परिवारका सदस्यहरूले पहिलो विश्व युद्ध पनि लडेका थिए, दोस्रो विश्व युद्ध पनि लडेका थिए। हामी गोर्खालीमा हामी नेपालीहरूमा त्यति धेरै हिम्मत छ। त्यति धेरै साहस छ। हामीले गरेर देखाइ दिनुपर्छ।'
आक्रमणको केही दिनपछि नयाँ सरकार बने लगत्तै उनले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटेका थिए।
त्यस क्रममा भाटभटेनीले सुरक्षा पाउने आश्वासनपाएपछि उनले मिडियाकर्मीलाई भने, 'यो केही उदण्ड व्यक्तिहरूले गरेका हुन्। सबै त्यस्ता हुँदैनन्...तपाईँहरू जस्तो युवालाई म के भन्न चाहन्छु भने, नेपाल १५ वर्षभित्र विश्वको एक सुन्दर देश बन्छ। तर नचाहिने कुरा र हावादारी कुरा गरेर हिँड्नु भएन।'
उनका अनुसार भदौ २४ मा तोडफोट लुटपाट र आगजनी गरिएका भाटभटेनीका भवनको सफाइ तत्कालै थालियो।
त्यसपछि आवश्यक मर्मत सम्भार वा नवनिर्माणका लागि इन्जिनियरहरूको टोली लागिपरेको छ। विज्ञहरू सबै लागेर काम अघि बढाइसकेका छन्।
भाटभटेनी गएर किनमेल गर्ने बानी परेका धेरै नेपाली आफूलाई पायक पर्ने भाटभटेनी फेरि बनेको र फेरि खुलेको हेर्न व्यग्र देखिन्छन्।
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलको भनाइमा थुप्रै काम र्न बाँकी रहेकाले सबै ध्वस्त सुपर स्टोर बन्न र खुल्ल केही समय अवश्य लाग्ने बताउँछन्।
'आउने अंग्रजी नयाँ वर्ष (सन् २०२६ जनवरी) सम्ममा सायद हामीले धेरै प्रगति गरिसक्छौं,' उनले भने।
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal