जिल्ला कारागार कास्कीमा मंगलबारको रात मात्रिका मानन्धरले एक्लै बिताउनुपर्यो। अरु कैदीबन्दी झोला बोकेर रातारात फरार हुँदा पनि उनी भागेनन्।
आफ्नो कैद भुक्तानी नगरी ननिसक्ने भन्दै कारागारमै रात बिताए।
स्याङ्जा हरिनास गाउँपालिकाका मात्रिकाको मुख बोल्दैन। युवा उमेरमै रहेका उनी हत्या अभियोगमा दोषी ठहर भएर कास्की कारागार चलान भएका हुन्।
जिल्ला कारागार कास्कीका प्रमुख राजेन्द्र शर्माले कारागारको ठूलो भवनभित्र मात्रिका एक्लै बसेको बताए। प्रदर्शनकारीको तोडफोड, आक्रमण र आगजनीले बिजुलीसमेत नभएको कारागार बन्दीगृहबाट अरु सबै भाग्दासमेत उनी एक्लै बसेको शर्माले बताए।
‘कुनै पनि घटनामा दोषी ठहर भएर सजाय भोगिरहेका व्यक्ति फेरि खराब होलान् भनेर सोच्न हुँदैन। कोहीकोही असल पनि हुन्छन्,’ उनले भने, ‘मात्रिका भाग्न पाउँदा पनि भागेनन्, उनी असल कैदी रहेछन् भनेर हामीले बुझेका छौं।’
बुधबार बिहान कारागार निरीक्षण गर्दा उनी एक्लै बसेको र कैद भुक्तानी नगरी बाहिर नजाने भनेका थिए। आक्रमणकारीले गरेको तोडफोड र आगजनीबाट कारागारमा भएको क्षति जाँचबुझ गर्न बुधबार दिउँसो कास्कीका सिडिओ रुद्रादेवी शर्मासहितको टोली कारागार पुगेको थियो।
कारागारमा प्रदर्शनकारीले गरेको तोडफोड र आक्रमणबाट भएको क्षति पुननिर्माण नगरी कैदीबन्दी राख्न सकिने अवस्था नरहेको शर्माले बताए।
मंगलबार राती भागेका केही कैदीबन्दी कारागारको सम्पर्कमा आएका छन् भने केही सुरक्षाकर्मीले पक्राउ गरेका छन्। भागेका कैदीबन्दीको खोजतलास गरिरहेको सुरक्षा निकायले जनाएको छ।
मात्रिकालाई भने परिवारको सदस्य बोलाएर जिम्मा लगाइएको छ। उनको इमान्दारिता हेरेर सुरक्षा निकायको समन्वयमा परिवारको जिम्मा लगाएको कारागार प्रमुख शर्माले बताए।
‘मात्रिकालाई हामीले परिवारको जिम्मामा पठाएका छौं, बोलाएको बखत आउने गरी कागज गरी कागज गरेका छन्,’ शर्माले भने, ‘कारागारमा पुननिर्माण गरेपछि फेरि बोलाउँछौं।’
यसरी नै कारागारका चौकीदार लगायत केही कैदीबन्दी पनि सम्पर्कमा रहेका छन्। सम्पर्कमा नभएका कैदीबन्दीको खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ।
जिल्ला कारागारमा ७७४ जना कैदीबन्दी थिए। मंगलबार राति प्रदर्शनकारीको आक्रमण पश्चात ३५ जना महिलासहित ७७३ जना भागेका थिए। कारागारमा सबैभन्दा धेरै बलात्कार मुद्धामा दोषी ठहर भएका कैदीहरु छन्। बलात्कार मुद्धामा २२० जना, हत्यामा १२८ जना र लागुऔषध दुर्व्यसनी एवं ओसारपसार मुद्धा लागेका १३२ जना कैदीबन्दी छन्।
त्यसपछि कारागारमा सहकारी ठगी, लेनदेन लगायतका मुद्दाका अभियुक्त र अदालतबाट दोषी ठहर भएका व्यक्तिहरु छन्। जिल्ला अदालत कास्की र उच्च अदालत पोखराबाट दोषी ठहर भएका र मुद्दा चलिरहेकाहरुका हकमा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी छन्।
प्रदर्शनकारी कारागार प्रवेश गरेर प्रशासनिक भवनमा आक्रमण गरेका थिए। कारागारका विभिन्न संरचनामा आगो लगाउँदै उनीहरु कारागारको गेट फोड्न पुगेको कास्की कारागारले जनाएको छ।
जिल्ला कारागार प्रमुख शर्माले फरार रहेका कैदीबन्दी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्न थालिएको छ। कारागारको सम्पर्कमा आएका कैदीबन्दी र फरार भएकाहरुलाई पक्राउ गरेर प्रहरीको थुनुवा कक्षमा राख्ने निर्णय भएको उनले बताए।