काठमाडौंको थापाथली प्रसूति गृहमा दैनिक सयौं बिरामी आउँछन्। हरेक बिरामी चिकित्सकको सम्झनामा रहन सक्ने कुरै भएन, तर केही मनमस्तिष्कमा रहिरहन्छन्।
स्त्रीरोग विशेषज्ञ डा. सुप्रभा केसीलाई पनि केही त्यस्ता बिरामीको सम्झना छ।
एक अधबैंसे महिला महिनावारी हुँदा धेरै रगत बग्यो भनेर उपचारका लागि अस्पताल आएकी थिइन्। उनको मनमा कुनै गम्भीर रोगको शंका र डर पसेको थियो। ती महिलाले आफ्ना समस्या विस्तृतमा सुनाइन्।
डा. सुप्रभाले एकसरो परीक्षण गरिन्। थप केही तथ्य पहिल्याउन ल्याब (प्रयोगशाला) मा पठाइन्। ती महिला अर्को दिन ल्याबको रिपोर्ट लिएर उपस्थित भइन्। सबै सामान्य देखियो।
यति ढुक्क भएपछि डा. सुप्रभाले केही प्रश्न सोधिन्। प्रश्नहरू रोगसँगभन्दा बढी मनोवेगसँग सम्बन्धित थिए। पछिल्ला केही महिनामा भएका भावनात्मक परिवर्तनसँग सम्बन्धित थिए।
ती महिलाले सबै बेलीबिस्तार लगाइन्। महिनावारीमा धेरै दिनसम्म धेरै रगत बग्ने र अनियमित हुने समस्या रहेछ। यसले उनको मनोवेगमा पनि प्रभाव पारेको रहेछ।
'लक्षण र समस्याका आधारमा उनी मेनोपजको समयबाट गुज्रिँदै छिन् भन्ने मैले बुझेँ,' डा. सुप्रभाले भनिन्, 'शारीरिक र मनोवेगात्मक लक्षणहरू सोझै मेनोपजसँग सम्बन्धित थिए।'
उनले ती महिलालाई समस्याको मूल कारण बताइन्। कसरी समाधान हुँदै जान्छ भन्ने बुझाइदिइन्। बिरामी महिलाको मुहारमा खुसीका रेखा देखिए।
'उनलाई केही पनि थाहा थिएन। कुनै ठूलो रोग पो लागेको हो कि भनेर डराएकी थिइन्। सबै कुरा सम्झाएपछि खुसी भइन्,' उनले भनिन्।
जीवनको त्यही खण्डमा पुगेकी अर्की एक महिला पनि डा. सुप्रभाको सम्झनामा गढेकी छन्।

उनलाई ती महिलाले आफ्नो समस्या सुनाएकी थिइन् — शरीर तातो भएर सिरानी भिज्ने गरी पसिना आउँछ। यौन सम्बन्ध राख्न गाह्रो हुन्छ। महिनावारीमा गडबडी भएको छ। अरूले बोलेको झर्को लाग्छ। कहिलेकाहीँ धेरै नै रिस उठ्छ।
डा. सुप्रभाले उनको पाठेघरको र अन्य जरूरी परीक्षण गराइन्। सबै सामान्य थियो।
'ती महिला पेरिमेनोपजको अवस्थामा थिइन्,' उनले भनिन्, 'मेनोपज र पेरिमेनोपजबारे सबै थाहा भएपछि ती महिला सन्तुष्ट मन लिएर गइन्।'
डा. सुप्रभालाई भेट्न आउनेमध्ये ४५ देखि ५० वर्षसम्म उमेरका अधिकांश महिलामा मेनोपजका लक्षणहरू हुन्छन्। उनीहरू यो समयमा उत्पन्न शारीरिक र मनोवेगात्मक समस्याकै कारणले जँचाउन आएका हुन्छन्।
उनका अनुसार मेनोपजबारे अधिकांश महिला अनभिज्ञ हुन्छन्। लक्षणबारे थाहा नहुँदा महिलाहरू आतेसमा पर्छन्। मेनोपजको समयमा धेरै महिलालाई साधारण उपचार र काउन्सिलिङ आवश्यक पर्छ। यसो नहुँदा ठूलो दुर्घटना हुने सम्भावना पनि हुन्छ।
मेनोपज भनेको के हो? यसका लक्षण के हुन्? उपचारका हुन्छ कि हुँदैन?
यो स्टोरीमा हामीले यिनै प्रश्नको सेरोफेरोमा रहेर डाक्टर सुप्रभासँग कुरा गरेका छौं।
मेनोपज अंग्रेजी भाषाको शब्द हो। नेपालीमा रजनोवृत्ति शब्द प्रचलित छ। यो संस्कृत शब्द हो।
'मेनो' ले 'महिनावारी' र 'पज' ले 'रोकिनु' भन्ने अर्थ दिन्छ। यसै अनुसार मेनोपज शब्द बनेको हो।
मेनोपज भन्नु खास उमेरमा महिलाको महिनावारी बन्द हुनु हो। मेनोपज कुनै रोग होइन, सबै महिलामा हुने स्वाभाविक र प्राकृतिक प्रक्रिया हो। यो प्रक्रियाबाट कोही पनि महिला अलग रहन सक्दैनन्।
यस प्रक्रियामा कहिलेकाहीँ शारीरिक र मानसिक समस्या देखा पर्न सक्छ। यस्तो अवस्थामा चिकित्सकको परामर्श आवश्यक पर्छ।
सामान्यतया ४५ वर्षको उमेरमा पेरिमेनोपज सुरू हुन्छ र ५५ वर्षको उमेरसम्ममा महिनावारी पूर्ण रूपमा रोकिन्छ। कतिपयलाई यति लामो समय लाग्दैन, पेरिमेनोपज सुरू भएको दुई–तीन वर्षमै पनि रोकिन्छ। कसैको केही ढिला पनि हुन्छ।
यो प्रक्रियाको प्रारम्भमै पनि कतिपय महिलामा शारीरिक र मानसिक–संवेगात्मक परिवर्तन देखापर्छन्।
डा. सुप्रभाका अनुसार मेनोपजलाई तीन वटा चरणमा हेरिन्छ – प्रिमेनोपज, पेरिमेनोपज र मेनोपज।
यी तीनै वटा चरणमा अनेक समस्या झेल्नुपर्ने हुन सक्छ।
प्रिमेनोपोज
महिनावारी हुने उमेर (११–१५ वर्ष) देखि नियमित महिनावारी हुने (३५–४० वर्ष) उमेरसम्मको अवधि प्रिमेनोपज हो।
कतिपयलाई महिनावारी सुरू हुँदा धेरै रगत बग्ने, पेट दुख्ने, दुइटा महिनावारी बीचको समय लामो हुने समस्या हुन्छ। यसो हुनु सामान्य हो, बिस्तारै नियमित हुन्छ।
नियमित भएन भने चिकित्सकसँग परामर्श गर्नुपर्छ, बेवास्ता गर्नु हुँदैन।
सामान्यतया २८ देखि ३५ दिनभित्र हुने महिनावारीलाई नियमित मानिन्छ। यस्तो बेला पेट अलिअलि दुख्नु सामान्य हो। अधिक दुखाइ वा धेरै गडबड भए चिकित्सकको परामर्श लिनुपर्छ।
'कहिलेकाहीँ कम उमेरका महिलामा पनि पाठेघरमा सिस्ट हुने समस्या देखिने गरेको छ। यसमा चाँडो उपचार गर्नुपर्छ,' उनले भनिन्।

पेरिमेनोपज
सामान्यतया ४० वर्ष उमेर पूरा भएपछि महिलाहरू पेरिमेनोपजमा प्रवेश गर्छन्। त्यसपछि ४५ देखि ५५ वर्षको उमेरसम्म पेरिमेनोपजको अवधि हुन्छ।
पेरिमेनोपज भन्नु मेनोपज हुनुअघिको अवधि हो। यस अवधिमा मेनोपजका अधिक लक्षण देखिन्छन्। शारीरिक र संवेगात्मक रूपमा धेरै परिवर्तन आउँछ।
घुँडाको हड्डी खिइने र घुँडा दुख्ने, ढाड बेस्सरी दुख्ने, धेरै पसिना आउने, योनि सुख्खा हुने, यौन सम्बन्ध राख्न गाह्रो हुने, महिनावारी गडबड भइरहने, धेरै रगत बग्ने, छिटोछिटो पिसाब लाग्ने जस्तो शारीरिक समस्या हुन्छ।
धेरै रगत बगेपछि पाठेघरमा निकै ठूलो समस्या भएको हो कि भन्ने डर हुन्छ। यस्तो डर हुनु स्वाभाविक पनि हो।
'अत्यधिक रगत बग्नु गम्भीर रोगको लक्षण हुन पनि सक्छ। तर रगत बगेकै भरमा मात्र भन्न त्यसो सकिँदैन,' डा. सुप्रभाले भनिन्, 'धेरै दिन लगातार रगत बगे डाक्टरलाई भेट्नुपर्छ। पेरिमेनोपजका लक्षणसँगै अन्य कारणले पनि रगत बगेको हुन सक्छ।'
पेरिमेनोपजको समयमा दिकदार लाग्ने, निद्रा नपुगेजस्तो हुने, थकान महसुस हुने, मनमा निराशा हुने, सास फेर्न गाह्रो हुने, प्यानिक अट्याक हुने, एन्जाइटी हुने, नजिकमा मानिसहरू बोलेको मन नपर्ने जस्ता समस्याहरू पनि देखापर्छन्।
यस्ता समस्याहरू मानसिक–संवेगात्मक परिवर्तनसँग सम्बन्धित हुन्छन्।
शारीरिक तथा मानसिक परिवर्तन देखा पर्ने पेरिमेनोपजका लक्षणहरू पनि कहिलेकाहीँ फरकफरक हुन्छन्। यस आधारमा पेरिमेनोपजलाई पनि 'अर्ली–मेनोपज (चाँडै हुने)' र 'डिले–मेनोपज' (ढिलो हुने) मा छुट्ट्याएर हेर्ने गरिएको छ।
कसैलाई ४० वर्षको उमेरमै पेरिमेनोपजका लक्षण देखापर्छ। यो अर्ली–मेनोपजको संकेत हो। कोही महिलामा त ५५ वर्षको उमेरपछि मात्र पेरिमेनोपज देखिन्छ। यो डिले–मेनोपजको संकेत हो।
यी दुवै अवस्थामा चिकित्सकीय परीक्षण गर्नुपर्छ। पेरिमेनोपजको अवस्था सामान्यतया चारदेखि सात वर्षसम्म रहन्छ। कसैलाई १४ वर्षसम्म रहेको पाइएको छ।
पेरिमेनोपज महिलाका लागि जोखिमको अवस्था हो। कतिपय महिलाहरू पारिवारिक सम्बन्धमा पनि समस्या सिर्जना भएको गुनासो गर्छन्।
'पेरिमेनोपजको समयमा महिलाहरू झर्किने र रिसाउने हुन्छन्। परिवारका सदस्य र श्रीमानलाई महिलाको महिनावारीमा हुन थालेको परिवर्तनले त्यस्तो भएको हो भन्ने थाहा हुँदैन,' डा. सुप्रभाले भनिन्, 'सबैले रिसाएको र झर्किएको मात्र देख्छन्। किन त्यसो भएको हो भन्ने बुझ्न खोज्दैनन्। उल्टै विवाद गर्छन्, झगडा बढाउँछन्।'
उनले थप भनिन्, 'महिलामा त्यस किसिमको मानसिक परिवर्तनको कारण थाहा पाउने हो भने घरमा विवाद हुने थिएन, केही समयका लागि हो भन्ने हुने थियो। बरू सहज वातावरण बनाउने प्रयास हुने थियो।'
परिवारमा विवाद र तनाव सिर्जना हुँदा पेरिमेनोपजको अवस्थामा रहेका महिलामा डिप्रेसन हुने र आफैलाई हानि पुर्याउने सोच पनि आउन सक्छ।
पेरिमेनोपजको लक्षणसँग जुधिरहेका महिलामा यौन सम्बन्ध राख्ने इच्छा हुँदैन। शरीरमा हुने हर्मोन परिवर्तनले यौन चाहना स्वाट्टै घटाउँछ। यो अवस्थाको जानकारी नहुँदा श्रीमानसँग सम्बन्ध चिसिने सम्भावना हुन्छ।
'पेरिमेनोपज भोगिरहेका महिलाको योनि सुख्खा हुन्छ। यस्तो अवस्थामा जबर्जस्ती यौन सम्बन्ध राख्दा योनिमा घाउ हुने, भित्री भागमा झिल्ली फुट्ने समस्या हुन्छ,' डा. सुप्रभाले भनिन्, 'यौन सम्बन्धमा श्रीमती अनिच्छुक भएपछि सम्बन्धमा दरार आउन सक्छ।'
पेरिमेनोपजको समयमा महिलालाई क्यान्सर हुने सम्भावना पनि १० प्रतिशतले बढ्छ। बाहिरी रूपमा सामान्य जस्तो देखिए पनि हर्मोनहरूमा हुने तीव्र परिवर्तनले शरीरभित्र उथलपुथल नै भएको हुन्छ। अन्डाशयमा अण्डा उत्पादन घट्दै गएको हुन्छ।
'शरीरभित्र धेरै परिवर्तन हुने भएकाले भावनात्मक रूपमा पनि परिवर्तन हुन्छ। यस्ता लक्षणहरूसँग भिड्दाभिड्दै महिनावारी रोकिन्छ,' उनले भनिन्।

मेनोपज
एक वर्षसम्म महिनावारी बन्द भएपछि मेनोपज भएको मानिन्छ। अनियमित हुँदाहुँदै महिनावारी रोकिन्छ। महिनावारी रोकिएसँगै प्रजनन क्षमता पनि बन्द हुन्छ।
मेनोपज भएपछि पनि महिलाको स्थिति सामान्य भइहाल्दैन। डाढ दुख्ने, योनि सुख्खा हुने, घुँडाको हड्डी खिइने र दुख्ने भइरहन्छ। भावनात्मक रूपमा एक्लो अनुभव हुने, चिन्तितजस्तो भइरहने, झर्किने र एन्जाइटी हुने जस्ता पेरिमेनोपजका लक्षण करिब पाँच वर्षसम्म रहन्छन्।
बिस्तारै शरीरले परिवर्तनहरू स्वीकार गर्छ अनि मात्र शरीर र भावना स्थिर बन्दै जान्छ।
पेरिमेनोपजको समयमा महिलाको शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुपर्छ। यसनिम्ति स्वस्थकर खाना र फलफूल खानुपर्छ। शारीरिक व्यायाम गर्नुपर्छ। भावनात्मक रूपमा आफूलाई बलियो बनाउनुपर्छ।
मेनोपजमा पनि सास फेर्न गाह्रो हुने र प्यानिक अट्याक हुने समस्या बारम्बार दोहोरियो भने हर्मोनल थेरापी आवश्यक हुन्छ। भावनात्मक रूपमा बलियो र स्थिर रहन ध्यान र योग गर्न उनको सुझाब छ।
यसपछि पनि हुन सक्छ समस्या
कहिलेकाहीँ हर्मोनमा हुने परिवर्तनले पाठेघर तथा अण्डाशयमा केही समस्या उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।
कहिलेकाहीँ कृत्रिम (अन्य कारणले) मेनोपज पनि हुन्छ। डिम्वाशयमा ट्युमर भएर वा अन्य कुनै समस्या भएका पाठेघर निकाल्नुपर्ने हुन्छ। पाठेघर निकालेपछि महिनावारी रोकिन्छ। यो अवस्था चिकित्सकीय शब्दमा 'कृत्रिम मेनोपज' हो।
कसैलाई मेनोपज भएको पाँच–सात वर्षपछि पनि रगत बग्न सक्छ। तर त्यो महिनावारी होइन। अरू नै कुनै कारण हुन सक्छ। यस अवस्थामा अविलम्ब चिकित्सकको परामर्श लिनुपर्छ।
'मेनोपजको केही वर्षपछि रगत बग्नु एकदमै जोखिमको कुरा हो। क्यान्सर वा पाठेघरको संक्रमण भएको हुन सक्छ। योनिमा कुनै समस्या भएको हुन सक्छ,' डा. सुप्रभाले भनिन्।
मेनोपजपछि शारीरिक र मानसिक रूपमा आफूलाई तन्दुरूस्त राख्न जीवनशैली सुधार गर्नुपर्ने डा. सुप्रभा बताउँछिन्। खानपिनमा विशेष ध्यान दिनुपर्छ। हलुका कसरत र ध्यान गर्नु राम्रो हुन्छ। सम्भव भए पौडी खेल्नु निकै राम्रो हुन्छ।
महिलालाई पेरिमेनोपज र मेनोपजको समस्या सजिलो ढंगले पार लगाउन श्रीमान र परिवारका सदस्यहरू जानकार हुनुपर्छ र उनीहरूको सहयोग आवश्यक पर्छ। यस्तो भए परिवारमा तनाव सिर्जना हुने, विवाद हुने र सम्बन्धमा दरार आउने समस्या हुँदैन।
'मेनोपजको समय चलेको छ। यस्तै हो कहिलेकाहीँ रिसाउँछे, झर्किन्छे भन्ने भयो भने परिवारमा समस्या पर्दैन,' डा. सुप्रभाले भनिन्, 'परिवारमा सबैले समस्याको चुरो बुझेर साथ दिए भने पेरिमेनोपज र मेनोपजको अवस्था पार गर्न सजिलो हुन्छ। भावनात्मक रूपमा धेरै कमजोर हुनबाट जोगाउन सकिन्छ।'
डा. सुप्रभाले मेनोपज र त्यसपूर्वको शारीरिक तथा मानसिक अवस्थाबारे जनचेतना फैलाउन अभियान नै चलाउन आवश्यक देखेकी छन्। यस काममा चिकित्सक र शिक्षित मानिसहरू लाग्नुपर्ने उनी बताउँछिन्।
आजभोलि चिकित्सकहरूले पेरिमेनोपज र मेनोपजको लक्षण देखिएका महिलालाई श्रीमान साथमा लिएर आउने सल्लाह दिने गरेका छन्। दुवैलाई एक साथ कुरा बुझाउने गरेका छन्। छोराछोरी पनि साथमा ल्याउन सुझाव दिन्छन्।
***