दिनहुँ कलेज–अफिस गरिरहनुपर्ने २२ वर्षीया रेबिका खत्रीलाई कोठामा बसिरहन मनै लाग्दैन थियो। उनी बिदाको दिन पनि दाइ–दिदीकहाँ पुगिहाल्थिन्।
उनी बस्ने ठाउँबाट दाइ–दिदीको कोठा पनि नजिकै थियो। बाल्यकालदेखि नै अलि चञ्चले स्वभावकी उनी हुर्किँदै जाँदा पनि त्यस्तै भइन्।
२२ वर्षसम्म त्यसरी नै बाँचिन्।
आगामी दिनमा पनि उनी नेपालमै लोकसेवा गर्ने वा बैंकिङ क्षेत्रमा जाने सोचेकी थिइन्। विदेशको सपना देखेकी थिइनन्।
त्यसैले त दाइदिदी बिदेसिँदा रेबिका आफ्ना सपना स्वदेशमै पूरा गर्ने अठोटमा कटिबद्ध बनिन्।
सपनाको परीक्षण उडान बाँकी नै थियो। स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै बिल, भौचरहरू सम्बन्धी जानकारी होस्, लेखा सम्बन्धी ज्ञान मिलोस् भनेर उनी लेखापालको काम गर्दै पनि थिइन्।
'तलबले खर्च त पुग्दैन थियो। त्यैपनि काम सिक्नका लागि जान्थेँ,' उनले भनिन्, 'सपनाको यात्रामा पाइला चाल्न नपाउँदै अपांगता बेहोर्न पुगेँ।'
चैत १५ गते राजावादी समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनमा उनको सपनाको उडानमा रोक लाग्यो। तर पनि उनले हिम्मत हारेकी छैनन्।
त्यो दिन आन्दोलन भइरहेको छ भनेर सामाजिक सञ्जाल हेरेर थाहा पाएकी थिइन्। कलेजमा चर्चा भए पनि माहोल बनेको देखेकी थिइनन्।
उनी कलेजबाट ग्वार्कोस्थित कोठासम्म पुगेर खाना खाइन्। पौने ११ बजे त्यही बाटो कार्यालय गएकी थिइन्। उनी जडीबुटीको बसपार्कनजिकै काम गर्छिन्। उनी कार्यालय जाँदा आन्दोलनको चहलपहल केही देखिनन्।
दिनभर काममा व्यस्त भइन्। आन्दोलनमा केके भइरहन्छ भन्ने उनलाई थाहा नै भएन। सदाझैं ४ बज्नै लाग्दा कार्यालयबाट निस्किइन्। जडीबुटीमा मानिसको चहलपहल र भीडभाड देखेपछि उनले दाइ (काकाको छोरा) दिनेशलाई फोन गरिन्।
उनी जहिले निस्किने समय त्यही हो। प्राय:जसो कार्यालयमा खाजा खान्थिन्। तर त्यो दिन खाजा खाएकी थिइनन्, हिँडिरहन सकिनन्।
बाहिर मानिसको भीडभाड देखेपछि दाइलाई फोन गरेर आफू निस्किएको जानकारी गराइन्, उनी पनि आइहाले। दाइ आएसँगै भोक लागेकाले खाजा खान आग्रह गरिन्।
'दाइ कोटेश्वर भाटभटेनी अगाडि बस्नुहुन्थ्यो,' उनले भनिन्, 'आन्दोलन भएकाले कोठामै गएर खाजा खाने भनेर हामी भीड छल्दै हिँडिरहेका थियौं।'
कोठा पुग्न दुई घरमात्र बाँकी थियो। एक्कासि ड्याङ् ड्याङ्...आवाज आयो। मान्छेहरू दौडिन थाले। उनलाई भने आफ्नो खुट्टामा केही तिखो फलामले बेस्सरी छेडेको भान भयो। तर कहाँ लाग्यो के भयो भन्ने हेक्का भएन, याद रहेन।
'एक्कासि खुट्टामा भ्वाङ परेको जस्तो लाग्यो, रगतम्य देखेपछि त्यही ढलेँ,' उनले भनिन्, 'त्यसपछि हल्का–हल्का मात्र याद छ।'

मानिसहरू चिच्याइरहेका थिए, कतिले आफूलाई घिसारिरहेको जस्तो लागेको थियो। उनलाई प्रष्ट याद भने छैन।
'बेजोडले खुट्टा दुखेकाले 'मम्मी–मम्मी' भन्दै चिच्याइरहेँ,' त्यो बेलाको घटना सम्झिँदै उनले भनिन्। दाइले कपडाले आफ्नो खुट्टा बाँध्न लागेको धमिलो दृश्य उनको आँखामा कैद छ।
सिभिल अस्पतालको बेडमा पुगेको मध्यराति मात्र आफ्नो दायाँ खुट्टामा गोली लागेको उनलाई थाहा भयो। त्यति बेला आफूलाई सम्हाल्न नसकेको उनी बताउँछिन्।
'दायाँ खुट्टा पूरै बाँधिएको थियो। आफ्नो शरीरभन्दा गह्रुँगो लाग्यो,' उनले भनिन्, 'त्यतिबेला के गर्ने, के भन्ने भनेर सोच्नै सकिनँ, एकदम बेस्सरी दुखिरह्यो।'
उनी त्यो दिन सम्झिन पनि चाहँदिनन्।
सिभिल अस्पतालमै मात्रै ६/७ पटक अपरेसन भयो। बायाँ खुट्टाको नसा काटेर हाल्ने भनेर अपरेसन भयो। दुवै खुट्टा चिरफार हुँदा आफैलाई सम्हाल्न गाह्रो भएको उनी बताउँछिन्।
सिभिलमा जेठ २ गतेसम्म बसिन्।
उनलाई हेरिरहेको डाक्टर चीन जाने भएपछि आफूलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) सारिदिएको उनी बताउँछिन्।
'नसा खोज्न भन्दै पटकपटक बायाँ खुट्टा पनि चिरफार भयो,' उनले भनिन्, 'खुट्टाको नसाले नभएपछि पेटको समेत काटेर हालियो। तर त्यसले पनि काम गरेन।'
टिचिङ अस्पताल आएपछि पनि शरीरका विभिन्न भागबाट नसा निकालेर उनको खुट्टामा राख्ने काम भइरहेको छ। परीक्षणको रूपमा। त्यसले पनि काम गरेको छैन। जहाँको नसा काटेर हाले पनि केही छिनमै रगत बगिहाल्ने भइरहेको छ।
कृत्रिम नसा राख्दा पनि स्राब नरोकिएपछि खुट्टा काट्नुपर्छ भन्ने कुरा आयो।
जेठ ४ गते उनलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा लगिएको थियो। त्यहाँ खुट्टा काट्नुपर्छ भनेपछि उनी बेहोस नै भइन्।
उनकी आमा कमलकुमारी र भाउजू अनिषा खत्री पनि बेहोस नै भए। उनका बुवा तुलसीराम पनि छोरीको खुट्टा काट्नुपर्छ भनेपछि भौंतारिएर हिँडे।
'खुट्टै नभएपछि कसरी जीवन बिताउँछे भन्ने डरले ज्यान खायो,' रेबिकाको भाउजू अनिषाले भनिन्, 'झण्डै दुई महिनादेखि बचाइराखेको खुट्टा काट्नुपर्छ भनेपछि ज्यान काम्यो।'
उनले नन्दलाई हेर्न पनि सकिनन्। 'खुट्टा बचाउन पाए हुन्थ्यो भन्ने मात्र लागिरह्यो। आमालाई भनेकै थिएन। कसरी थाहा पाउनु भएछ त्यसपछि उहाँलाई पनि सम्हाल्न गाह्रो भयो।'

सुरूआती दिनदेखि नै रेबिकाको खुट्टा बचाउन पाए हुन्थ्यो भन्ने उनीहरूलाई लागिरहेको छ। रेबिकाको आमा कमलाकुमारी पनि त्यही भन्छिन्।
'खुट्टाबिना त छोरीलाई बाँच्न गाह्रो हुन्छ,' उनले भनिन्, 'छोरी कालबाट उम्की, खुसी लागेको छ। तर खुट्टा पनि बचाउन पाए हुन्थ्यो।'
छोरीलाई गोली लागेको भन्ने कुरा साँझ नै जेठी छोरीले फोन गरेर उनलाई सुनाएकी थिइन्। थाहा पाउना साथ सोही दिन राति काठमाडौं आउन चाहन्थिन्। तर त्यो दिन राति बस र दुई/चार पैसा जोहो गर्न नसकेपछि आउन नसकेको उनी बताउँछिन्।
भोलिपल्ट घाम झुल्किन नपाउँदै दम्पतीसहित देवर–जेठाजु पनि उदयपुरबाट काठमाडौंका लागि निस्किएको उनले बताइन्।
'आउनासाथ छोरीलाई अस्पतालको बेडमा देखे। नजिक जाने आँटसमेत आएन,' उनले भनिन्, 'टाढै बसेर स्वास्थ्यको कामना गरिरहेँ।'
उनका अनुसार रेबिकालाई यसअघि कहिले पनि अस्पताल आउनुपरेको थिएन, ओखतीमूलो खानुपरेको पनि थिएन। सामान्य रूघाखोकी लाग्दा घरमै आयुर्वेदिक औषधि खाएर निको पार्थिन्।
अहिले दिनमै १० प्रकारका औषधि खानुपरेको छ भन्दै कमलाकुमारीले आफ्नो आँखाको आँसु पुछिन्।
दाइ, दिदीहरू आआफ्नो काम गरेर गुजारा चलाइरहेका छन्। रेबिकाले पनि खाजा खर्च जोहो गर्दै थिई। अहिले अरूको सहारामा उभिनुपर्ने बाध्यता उनलाई आइपर्यो।
'यो सरकारको लापरबाहीले गर्दा हो। यसको जिम्मेवारी लिनुपर्छ,' कमलाकुमारी भन्छिन्, 'दु:खसुख गरेर हुर्कायौं। आफ्नो खुट्टामा उभिने बेलामा खुट्टै नरहने डर भयो।'
कमलाकुमारीले तीन सन्तानलाई जन्म दिएकी थिइन्। रेबिका कान्छी छोरी हुन्। उनका छोरा र एक छोरी भर्खरमात्र विदेश लागेका छन्।
पहिलादेखि नै प्रक्रिया अगाडि बढिसकेको थियो। ऋण गरेको पैसा डुब्छ जानुपर्छ भनेर पठाइदिएको उनले बताइन्।
'यहाँ उपचारमा पनि १०/११ लाख रूपैयाँ खर्च भइसक्यो,' उनले भनिन्, 'सय कडा ४ रूपैयाँले ऋण लिएको छु। आपत पर्दा दिए, कसरी तिर्ने थाहा छैन।'
उनका अनुसार अहिलेसम्म कति ऋण भयो भनेर हिसाबकिताब छैन। छोरी तग्रिंएपछि हिसाब गरूँला भनेर छोडिदिएको उनले बताइन्।
सरकारले खर्च व्यहोर्ने आश्वासन दिएको छ। भुक्तानी प्रक्रिया अघि बढाइदिए आफूहरूलाई खर्च टार्न सजिलो हुने उनले बताइन्।
उनीहरूको सिभिल अस्पतालमा मात्र ८/९ लाख रूपैयाँ खर्च भएको छ। त्यसैको भुक्तानी गरिदिए पनि अहिले टिचिङमा खर्च गर्न पुग्थ्यो भन्ने उनलाई लागिरहन्छ।
गृहमन्त्री रमेश लेखकले चैत २७ गते १५ गते घाइते भएका बिरामीहरूको अस्पतालै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। सो क्रममा उनले घाइतेहरूको सरकारले नि:शुल्क उपचारको व्यवस्थापन गरिदिने वचन दिएका थिए।
तर रेबिकाको परिवारले अहिलेसम्म उपचार खर्च पाएका छैनन्। आफैले खर्च गरिरहेका छन्। सरकारले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ। तर ताकेता गर्न कहाँ जाने? बाटो देखेका छैनन्।
मन्त्रिपरिषद् बैठक बसेर सरकारले घाइतेको उपचार गराउन स्वास्थ्य मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो। सोही अनुसार घाइतेहरूको उपचार भइरहेको अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले नै भुक्तानी गर्ने भनिएको छ।
त्यसैले घाइते रेबिकाको भुक्तानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोध्यौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म रेबिका उपचाररत रहेको अस्पतालले भुक्तानीको प्रक्रिया अगाडि बढाएका छैनन्।

उनलाई पहिला सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अहिले टिचिङमा छिन्। अस्पतालले भुक्तानीको प्रक्रिया अगाडि बढाउनसाथ निकासा हुने उनले बताए।
'हामीले अस्पतालाई घाइतेको नि:शुल्क उपचार गर्न भनेका छौं,' उनले भने, 'डाक्टरले बाहिर औषधि किन्न पठायो भने त्यसको पनि भुक्तानी हुन्छ।'
उनका अनुसार घाइतेहरूको उपचार अस्पतालले नि:शुल्क गरिरहेको छ। व्यक्तिगत खर्चमा कुनै औषधि किनेको बिल बुझाएमा त्यसको रकम पाउँछन्। तर त्योबाहेक कुरूवाको बसाइँ– खानामा लागेको खर्च दिँदैन।
अहिलेसम्म काठमाडौं मेडिकल कलेज (केएमसी) बाट मात्र भुक्तानीको लागि आएको छ। त्योबाहेक बिएन्डबी, सिभिल र टिचिङ अस्पतालबाट भुक्तानीको लागि नआएको उनी बताउँछन्।
गत शुक्रबार बिहान ११ बजे हामी पुग्दा उनी टिचिङको 'आइ वार्ड' को ४०१ नम्बरको कोठामा थिइन्। उनकी आमा, भाउजू, बहिनी र भाइ पनि उनको रेखदेखमा थिए।
उनी अहिले भने बोल्न सक्ने भएकी छन्। तर बेलाबेलामा दुखाइको पीडा सहन नसकेर रून्छिन्। अनि उनीसँगै आमा, भाउजूहरूको पनि आँखा भरिन्छ।
'डाक्टरले दु:खाइ कम गर्ने औषधि दिएका छन्। तर त्यसले पनि बेला बेलामा काम गर्दैन जस्तो लाग्छ,' उनले भनिन्, 'कहिले निको हुन्छ र हिँड्न पाउँला जस्तो लागेको छ। तर सक्दिनँ।'
उनको खुट्टामा कृत्रिम नसाले काम नगरेपछि मुख्य नसा जोड्न सकिएको छैन। अहिलेसम्म स–साना नसाले खुट्टा सामान्य चलिरहेको छ। अब मुख्य नसाबिना नै खुट्टा चलाउनुपर्ने हुन्छ।
अब कुनै समस्या देखिएन भने ससाना नसाले खुट्टा बचाउने प्रयास छ। तर दौडिन, भारी बोक्न वा कुनै पनि गाह्रो काम गर्न नहुने चिकित्सकहरूले बताएका छन्।
'भ्वाङ परेको ठाउँमा नसा नै क्षतविक्षत भएको थियो। त्यसैले मुख्य नसा चुँडिएको छ। त्यसलाई जोड्न नसकेको डाक्टरहरूले बताएका छन्,' उनले भनिन्, 'जहाँको नसामा हाल्दा पनि नभएपछि ससाना नसाबाट खुट्टा चलाएमान राख्ने प्रयास गरिएको छ।'
उनका अनुसार खुट्टा चल्ने भए पनि पहिलाकै जस्तो नहुने डाक्टरहरूले बताएका छन्। खुट्टा मात्र रहन्छ। शरीरको भरथेग गर्न सक्दैन। शरीर मोटायो भने खुट्टाले त्यसको भार थेग्न सक्दैन।
त्यसैले उपचार खर्च सँगै आफ्नो भविष्य सुनिश्चित गरिदियोस् भन्ने उनको चाहना छ।
'जे भयो भयो, जति दु:ख पाएँ मैले नै पाएँ। बाँचेँ। अब बाँचिरहने आधार पनि बनाइदिओस्,' उनले भनिन्, 'सरकारले मेरो उपचार खर्च दिएर भविष्य सुनिश्चित गरिदिओस्।'
आफूले बिबिएस अध्ययन गरेकाले त्यही अनुसारको काम दिए हुन्थ्यो भन्ने उनलाई लागेको छ। असार ६ गतेदेखि बिबिएस तेस्रो वर्षको परीक्षा सुरू हुनेछ। अहिलेसम्म कुनै पनि परीक्षा छुटाएकी थिइनन्। उक्त परीक्षा पनि दिन पाए हुने उनी बताउँछिन्।
उनका अनुसार अहिले पनि दुखाइका बाबजुद परीक्षामा सहभागी हुने उनको चाहना छ। कसरी परीक्षा दिन सकिन्छ भनेर कलेजसँग परिवारले कुरा गरिरहेको छ। यसबारे पनि सरकारले ध्यान दिओस् भन्ने उनको चाहना छ।





सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी