आज बिहान ९ बजेतिर कैलालीको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा फोनको घन्टी बज्यो।
फोनमा बोल्नेले एक जना महिला बाटोमा छटपटाइरहेको भन्दै तत्काल आउन भने। कैलालीको गोदावरी नगरपालिका-१ बसन्तपुरस्थित गृहेश्वरी टोलको बाटोमा महिला छटपटाइरहेकी थिइन्।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालयले तत्काल प्रहरी चौकी खैरानीलाई जानकारी गरायो र त्यहाँ पुगिहाल्न भन्यो। चौकीबाट प्रहरी जवान चन्द्रीका देउवा र वरिष्ठ हवल्दार धर्मानन्द भट्ट खटिए र केहीबेरमा महिला भएको ठाउँमा पुगे।
‘हामीलाई महिला छटपटाइरहेको मात्र जानकारी थियो,' डिएसपी रणबहादुर चन्दले भने, 'त्यसैले एक जना महिला प्रहरी जवान र प्रहरी हवल्दार पठाएका थियौं, त्यहाँ पुग्दा महिलालाई सुत्केरी बेथाले च्यापेको भन्ने थाहा पायौं।'
महिला बाटोमा छटपटाइरहेकी थिइन्। महिलाको घर कहाँ हो थाहा थिएन, चिनजान नभएकोले स्थानीयहरूले उनलाई सहयोग गरेका थिएनन्।
तर महिला प्रहरीले ती गर्भवती महिलालाई बाटोबाट स्थानीयको घरको आँगनमा पुर्याएर सुत्केरी गराउन सहयोग गरिन्।
प्रहरी जवान चन्द्रीका देउवाले महिलालाई सुत्केरी गराउन आफूले सक्दो सहयोग गरेको बताइन्।
‘सुत्केरी बेथाले उहाँ छटपटाइरहनुभएको रहेछ, मैले कार्यालयमा जानकारी गराएर एम्बुलेन्स पठाइदिन भनेको थिएँ,’ उनले भनिन्, ‘एम्बुलेन्स आउन ढिला भयो, उहाँ पीडाले छटपटाइरहनुभएको देखेपछि सुत्केरी गराउन सक्दो सहयोग गरेकी हुँ।’
उनमा सुत्केरी गराउन सहयोग गर्ने अनुभव थिएन। तैपनि आफूले त्यहाँ भेला भएका स्थानीयहरूलाई सोध्दै सोध्दै सुत्केरी गराउन सहयोग गरेको उनले जानकारी दिइन्।
'त्यहाँ कसैले छुन नमानेपछि गर्भवती महिलालाई बल लगाउन भनेर बच्चा बाहिर निकाल्न सहयोग गरेको हुँ,’ उनले भनिन्, ‘आमा र बच्चा दुवैको ज्यान बचाउन मैले जोखिम मोलेँ।’
ती महिलाको छोरा जन्मिएको केही समयपछि एम्बुलेन्स पनि आइपुग्यो।
अनुसन्धानका क्रममा उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ की २४ वर्षीया चन्द्रा आचार्य रहेको खुलेको छ।
उनका श्रीमान् बझाङ थलारा गाउँपालिकाका २४ वर्षीय डम्बर जोशी भएको उनले बताएकी छन्।
डम्बरसँग विवाह गरेर उनी गोदावरी नगरपालिका- १ बसन्तपुरस्थित गृहेश्वरी टोलमा भाडामा बस्दै आएकी थिइन्।
'श्रीमान् भारतमा रहेको र आफूलाई बेथा लागेपछि अस्पताल जान निस्किएको उनको भनाइ छ,’ देउवाले भनिन्, 'तत्काल बोल्न नसक्ने अवस्थामा भएकाले थप सोधेनौं।'
आमा र बच्चालाई गोदावरीकै पञ्च अस्पतालमा राखिएको छ। आमाबच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
प्रहरी जवान देउवाले महिलालाई सुत्केरी गराउँदै गरेको भिडिओ मंगलबार सामाजिक सञ्जालमा पनि आएको छ। प्रहरी जवानले बच्चा बाहिर निकाल्न सहयोग गर्नेलगायत काम गरेकी थिइन्।