दस बज्नै लागेको थियो, भरतपुर–२५ किसान टोलका बालबालिकाहरू पनि विद्यालय जान थालेका थिए।
सधैं समयमै आफ्ना छोरा, छोरी र दाइको छोरालाई स्कुटरमा राखेर विद्यालय लैजाने लिलराज गिरी घरबाट निस्किएका थिएनन्।
विद्यालयको घण्टी बज्ने समयमा गाउँमा एकाएक अप्रत्यासित हल्ला फैलियो–लिलाराजले आफ्नी छोरी र दाइको छोरालाई कोठामा थुनेर हत्या गरे। त्यसपछि आत्महत्याको प्रयास गरे।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी रविन्द्र खनालका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा ४२ वर्षीय लिलराजले ७ वर्षीया छोरी प्रभा र ५ वर्षीय भतिजा सजनलाई खुर्पाले हानेर घाइते बनाएका थिए। कोठाभित्र थुनेर खुर्पाले हानी छोरी र भतिजालाई घाइते बनाएपछि उनले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरे।
घटनाको बारेमा थाहा पाएपछि दाइ दया गिरीले छिमेकीलाई खबर गरे। अनि उपचारका लागि भरतपुर ल्याए। उपचार सुरू गरेको केहीबेरमा चितवन मेडिकल कलेजले सजन र प्रभाको मृत्यु भएको जानकारी गराएको थियो। अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार लिलाराजको घाँटीमा गहिरो चोट लागेको छ। उनको शल्यक्रिया गर्न लागिएको जानकारी डा.लम्सालले दिए।
डिएसपी खनालले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भीक अनुसन्धानबाट लिलाराजले डिप्रेसनको औषधि प्रयोग गर्ने गरेको जानकारी पाएको उनले बताए।
लिलाराज गिरी नेपाली सेनाका निवृत्त जमदार हुन्। सेनामा कार्यरत छँदा सवारी दुर्घटनामा घाइते भएका थिए। उनको स्वास्थ्यमा समस्या हुन थालेको आफन्त रामकृष्ण पुरीले जानकारी दिए।
‘दुर्घटनामा एउटा आँखामा समस्या आएको थियो। विस्तारै मानसिक समस्या पनि सुरू भयो। त्यो अवस्थामा उनी सैनिक सेवाबाट निवृत्त भएका थिए,’ पुरीले भने, ‘निवृत्त भएपछि नियमित रूपमा डिप्रेसनको औषधि खाइरहेका थिए। हिजो आज खान छुटाएछन् कि। त्यो चाहिँ थाहा छैन।’
पुरीका अनुसार करिब एक वर्षअघि त्यस्तै समस्या भएर उनलाई सेना र प्रहरीले नियन्त्रणमा लिनुपरेको थियो।
‘त्यसपछि समस्या भएको थाहा थिएन। एक्कासि बिहान घटनाबारे थाहा पाउँदा छक्कै परें,’ उनले भने।
छिमेकी सूर्य नगरकोटीले बिहीबार साँझ भेट हुँदा लिलाराजको अवस्था ठीकठाक देखेको बताए।
‘बिहान खाना खाएर अफिस गइसकेको थिएँ। अप्रत्यासित कुरा सुन्नुपर्यो। हतार हतार अस्पताल आएको आइपुगेको थिएँ,’ उनले भने।
लिलाराजका ११ वर्षीय छोरा बिरामी भएर श्रीमती बिमला गिरी बिहीबारदेखि चितवन मेडिकल कलेजमै थिइन्। उनी अस्पतालमै हुँद घरमा लिलाराजले छोरी र भतिजाको हत्या भएको हो। उनीहरू विद्यालयको पोशाकमै थिए। लिलाराजका छोरा, छोरी र भतिजा घर नजिकै रहेको मदरल्याण्ड स्कुलमा पढ्थे।