पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति तीन मिनेटको अन्तरमा दुइटा भुइँचालो गएका छन्।
राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भुइँचालो गएको थियो भने त्यसलगत्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए।
जाजरकोटका डिएसपी पुरूषोत्तम न्यौपानेका अनुसार भुइँचालोले केही घरमा चिरा परे पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
गत वर्ष कात्तिकमा पनि जाजरकोट र रूकुममा गएको भुइँचालोले १२८ जनाको ज्यान गएको थियो। त्यति बेला भुइँचालोको धक्का काठमाडौंदेखि भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।
केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो गइरहेका छन्। यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई दस्तक दिइरहेको छ।
वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको ५०० वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भूगर्भविद्हरूका अनुसार नेपालको हिमाली क्षेत्रमा इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत ५०० वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर ५०० वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।
२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविदहरूले बताउँदै आएका छन्।
भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त भूगर्भविदहरूले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
के अझै जान सक्छ ठूलो भुइँचालो?
धेरैलाई लाग्न सक्छ, जहाँ ८ वा ९ म्याग्निच्युडको भुइँचालो जाने खतरा छ, त्यहाँ ४, ५ वा ६ म्याग्निच्युडका भुइँचालाले जमिनमुनि थुप्रिएको शक्ति बिस्तारै बाहिर निकाल्छ होला। यही आधारमा पश्चिम नेपालमा ठूलो भुइँचालो जाने खतरा अहिलेलाई टर्यो कि भन्ने धेरैको अड्कल हुनसक्छ।
तर भौगर्भिक रूपमा हेर्ने हो भने साना–साना भुइँचाला धेरै गएर ठूलो भुइँचालोको शक्ति निष्कासन हुन सम्भव छैन।
वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार एक म्याग्निच्युडको अन्तर हुँदा भुइँचालोको शक्तिमा ३२ गुणा फरक पर्छ। भन्नुको मतलब, ६ म्याग्निच्युडभन्दा ७ म्याग्निच्युडको भुइँचालो ३२ गुणा ठूलो हुन्छ। त्यस्तै, ७ म्याग्निच्युडभन्दा ८ म्याग्निच्युडको भुइँचालो अर्को ३२ गुणा शक्तिशाली हुन्छ। यस आधारमा ५०० वर्षदेखि थुप्रिएको भूकम्पीय शक्ति निष्कासन हुन कति म्याग्निच्युडको भुइँचालो कतिचोटि जानुपर्छ भनेर हिसाब गरौं।
हामीले पश्चिम नेपालमा ९ म्याग्निच्युडको भुइँचालो जाने शक्ति थुप्रिएको छ भनेर माथि भनिसक्यौं। त्यो शक्ति जम्मै निष्कासन हुन ८ म्याग्निच्युडको भुइँचालो ३२ चोटि जानुपर्छ। त्यस्तै, ७ म्याग्निच्युडको भुइँचालो हजारचोटि गएपछि बल्ल ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन हुन्छ। यसलाई अझ सानो रूपमा हेर्ने हो भने ६ म्याग्निच्युडका भुइँचाला ३२ हजारचोटि जानुपर्छ, ५ म्याग्निच्युडका भुइँचाला त साढे १० लाखचोटि जानुपर्छ।
यही दरमा हिसाब गर्नुस् त, ४ म्याग्निच्युडका भुइँचाला कतिचोटि गएपछि ९ म्याग्निच्युड बराबरको शक्ति निष्कासन होला? यो ३ करोडभन्दा बढी हुन आउँछ।
भनेपछि, शुक्रबारको जस्तो भुइँचालोले पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको ठूलो भूकम्पीय शक्ति निष्कासन हुन व्यावहारिक रूपले सम्भवै छैन।
अर्को कुरा, हामीलाई झट्ट सुन्दा ५ भन्दा ६ म्याग्निच्युडको भुइँचालोमा एक अंकको फरक त हो नि भन्ने लाग्न सक्छ। तर शक्तिको हिसाबले ३२ गुणा फरक परिसकेपछि त्यसले ल्याउने क्षति पनि निकै ठूलो हुन्छ।
२०७२ को भुइँचालो ७.८ म्याग्निच्युडको थियो। ९ म्याग्निच्युड भनेको त्यसको तुलनामा ३२ गुणा शक्तिशाली हो।
म्याग्निच्युडका हिसाबले भुइँचालो शक्तिमा यति ठूलो अन्तर हुनुको कारण के त?
यसका लागि हामीले पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्डहरूबारे बुझ्नुपर्छ। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।
यी चट्टानी खण्डहरूलाई वैज्ञानिक भाषामा 'टेक्टोनिक प्लेट' भनिन्छ। यिनीहरू एकदमै चलायमान हुन्छन्। कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डमुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्।
भुइँचालो जान यी टेक्टोनिक प्लेट वा चट्टानी खण्डहरू सर्नुपर्छ। भूगर्भ वैज्ञानिकहरूले टेक्टोनिक प्लेटको कति ठूलो हिस्सा सर्दा कति म्याग्निच्युडको भुइँचालो उत्पन्न हुन्छ भनेर हिसाब निकालेका छन्।
यसअनुसार ४ म्याग्निच्युडको भुइँचालो जाँदा १ वर्गकिलोमिटर बराबर सर्छ भने ५ म्याग्निच्युडको भुइँचालोमा १० वर्गकिलोमिटर सर्छ।
त्यस्तै, ६ म्याग्निच्युडको भुइँचालोमा १०० वर्गकिलोमिटर, ७ मा १००० वर्गकिलोमिटर, ८ मा १०,००० वर्गकिलोमिटर र ९ म्याग्निच्युडको भुइँचालोमा १००,००० वर्गकिलोमिटर खण्ड सर्छ।
यसरी पृथ्वीको भूसतहमुनि रहेका चट्टानी खण्ड वा टेक्टोनिक प्लेटको जति ठूलो हिस्सा सर्यो, त्यति नै ठूलो भुइँचालो जाने हुँदा त्यसको शक्तिमा आनका तान फरक पर्छ।
अब आफैं अन्दाज लगाउनुस् त, सय वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा हजार वर्गकिलोमिटरको चट्टान सर्दा कति ठूलो कम्पन उत्पन्न हुन्छ होला?
त्यस्तै, दस हजार वर्गकिलोमिटरको चट्टान सर्दाभन्दा एक लाख वर्गकिलोमिटरको चट्टान सर्दा झन् कति ठूलो कम्पन महसुस हुन्छ होला?
भन्नुको मतलब, ५०० वर्षदेखि पश्चिम नेपालमा जति ठूलो भूकम्पीय शक्ति जम्मा भएर बसेको छ, त्यो शक्ति ५ वा ६ म्याग्निच्युडको भुइँचालोले निष्कासन हुन सम्भवै छैन। यसका लागि ठूलै धक्काको खाँचो पर्छ। र, त्यो धक्का जुनसुकै बेला जानसक्छ।
भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन। त्यसैले पश्चिम नेपालमा लगातार गइरहेका भुइँचालाबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। आगामी दिनमा पनि पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर अझै ठूलो भुइँचालो जाने खतरा छ भनेर तयार हुनुपर्छ। त्यसको केन्द्रविन्दु चाहिँ जहाँ पनि हुन सक्छ — जाजरकोट हुनसक्छ, बाजुरा वा बझाङ हुन सक्छ; अछाम हुन सक्छ, डोटी वा डोल्पा पनि हुन सक्छ!
यसबारे भूगर्भविद् दिपक चाम्लागाइँले केही समयअघि हामीसँग भनेका थिए, 'जमिनमुनि थुप्रिएको भूकम्पीय शक्ति भनेको टिकटिक गरिरहेको टाइम बमजस्तै हो। पड्किन त अवश्यक पड्किन्छ, कुन बेला पड्किन्छ भन्ने चाहिँ थाहा हुँदैन। पड्किन्छ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु नै बुद्धिमानी हुन्छ।'
कति ठूलो थियो सन् १५०५ को भुइँचालो?
पश्चिम नेपालमा गएको सन् १५०५ को भुइँचालोबारे हामीलाई धेरै कुरा थाहा छैन। यो भुइँचालोको तरंग नेपालको कहाँ–कहाँसम्म फैलिएको थियो भन्ने हालसम्म पुष्टि भएको छैन। त्यसले नेपालमा के कति क्षति पुर्याएको थियो भन्ने पनि रेकर्ड छैन।
उक्त भुइँचालोको केन्द्रविन्दु तल्लो मुस्ताङलाई मानिन्छ। त्यसैले यसलाई 'लो–मुस्ताङ भुइँचालो' पनि भनिन्छ। यसले भारतको नयाँ दिल्लीदेखि उत्तर भारतको ठूलो हिस्सा प्रभावित भएको थियो भनिँदै आएको छ।
पाँच सय वर्ष पुरानो उक्त भुइँचालोले नेपालको कहाँ कहाँ प्रभाव पारेको थियो भन्ने पत्ता लगाउन भूगर्भविद् दिपक चाम्लागाइँसहितको टोलीले केही समयअघि पश्चिम नेपालका विभिन्न ठाउँको जमिन उत्खनन गरेको थियो। उनको टोलीमा अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की र जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा पनि थिए।
यो टोलीले धनगढी वरिपरि र कर्णालीको माथिल्लो भेगमा केही दरार फेला पारेको थियो। त्यसको प्रकृति हेर्दा पाँच सय वर्षअघिकै हुन सक्ने देखिए पनि उनीहरूले उत्खनन गरेर वैज्ञानिक परीक्षण भने गर्न बाँकी छ।
धेरैअघि अमेरिकी वैज्ञानिक युलले कञ्चनपुरको मछडी खोलाछेउ उक्त भुइँचालोको दरार फेला परेको दाबी गरेका थिए। तर यसको विस्तृत विवरण उपलब्ध छैन।
भौगर्भिक अध्ययनबाट भुइँचालोको दरार फेला पर्ला कि नपर्ला यसै भन्न सकिन्न। तर पश्चिम नेपालमा भुइँचालोले लगातार दस्तक दिइरहेकै छ। हामी त्यो दस्तक सुनेर मात्र बस्ने कि सम्भावित जोखिम हेरेर पूर्वतयारी पनि गर्ने? पूर्वतयारीमा हामीले गर्न सक्ने के हो?
हामीले केही समयअघि यो प्रश्न चाम्लागाइँलाई सोध्दा उनले भनेका थिए, 'हामी भुइँचालोको प्रभाव मूल्यांकन गर्न सक्छौं। कुनै दिन ८ म्याग्निच्युडको भुइँचालो आयो भने के हुन्छ, कति ठूलो क्षति हुनसक्छ भनेर प्रभाव मूल्यांकन गर्न सक्छौं। प्रभाव मूल्यांकनपछि जोखिम न्यूनीकरणको पूर्वतयारी गर्न सकिन्छ।'
'आजको मितिमा पश्चिम नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा भइसकेपछि क्षेत्र विभाजन गरेर जनसंख्या बढी भएका ठाउँमा जमिनको कम्पन मापन गर्न सकिन्छ। यसलाई 'माइक्रो–ट्रेमर' परीक्षण भनिन्छ। यसले कुन ठाउँको जमिन भुइँचालोका हिसाबले कति जोखिममा छ भनेर छुट्टयाउँछ,' उनले भने।
यो अध्ययनबाट भुइँचालो जाँदा कुन ठाउँको माटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने थाहा हुन्छ। त्यसै आधारमा भूकम्पीय हिसाबले घर बनाउन योग्य जमिन निर्धारण गर्ने र कुन ठाउँमा कति अग्लो संरचना बनाउन दिने भनेर नियम लागू गर्न सकिने चाम्लागाइँ बताउँछन्।
***