सामाजिक सञ्जाल फेसबुकमा फागुपूर्णिमा (होली) को दिनको एउटा भिडिओ भाइरल छ।
भिडिओ भक्तपुरस्थित सूर्यविनायक नगरपालिका ५ सुवर्णेस्वर मन्दिर नजिकै सडकको हो। जहाँ तीव्र गतिमा गुडिरहेको एउटा गाडी निमेषमै सडकमा पल्टिन्छ, गाडीभित्र रहेका मानिसहरू सडकमा यत्रतत्र छरिन्छन्। जर्याकजुरूक उठेर सडक किनारामा पुग्छन्।
गाडीको विपरीत दिशाबाट दुई पाङ्गे सवारीमा एक जना अघि बढिरहेका देखिन्छन्। तीव्र गतिमा गाडी आइरहेको देखेर उनी हत्तपत्त सडक किनारामा उत्रन्छन्,र दुर्घटनामा पर्नबाट जोगिन्छन्, सार्वजनिक भएको सिसीक्यामेरा फुटेजमा यस्तै दृश्य देखिन्छ।
भिडिओ स्रोत: नमस्ते भक्तपुर
प्रदेश ३ बिएए ०८३४ नम्बरको गाडी कटुन्जे हुँदै गुण्डुतर्फ गइरहेका बेला पल्टेको थियो।
हात्तीगौडा चोकबाट दायाँबायाँ हुँदै अघि बढेको गाडी करिब सय मिटर अघि पुगेपछि सडकमै पल्टेको थियो।
होलीका दिन सार्वजनिक बिदा थियो। जसका कारण सडकमा सवारीको संख्या पातलो देखिन्थ्यो। यही मौकामा उक्त गाडी हुइँक्याइएको थियो।
यो गाडी कसले चलाएका थिए, लाइसेन्स प्राप्त चालक थिए कि थिएनन्, गाडी कहाँ जाँदै थियो, किन दुर्घटनामा पर्यो भन्नेजस्ता चासो छ।
यतिमात्र होइन, सडकमा बेलगाम गाडी हाँक्न पाइन्छ? भन्ने कोणबाट पनि प्रश्न उठाइएका छन्। सडक विभाग र ट्राफिक प्रहरीले सडकमा गति सूचकसमेत टाँसेका हुन्छन्।
हामीले यो गाडी दुर्घटनामा पर्नुका कारणबारे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डिएसपी ढुण्डीराज न्यौपानेलाई सोधेका छौं।
उनले तीव्र गतिको गाडीलाई नियन्त्रणमा लिन नसक्दा गाडी सडकमै पल्टिएको देखिएको बताए।
‘गाडीको पछाडी भागमा मानिसहरू एकैतर्फीमात्रै बसेकोले ब्यालेन्स नहुँदा गाडी कोल्टेर पल्टन पुगेको चालकको भनाइ छ, गाडीको ब्रेक पनि नलागेको देखिन्छ,’ उनले भने।
गाडी चालक भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बागेश्वरीका २९ वर्षीय मनोज लामिछाने हुन्। गाडी आफ्नै भएको उनले प्रहरीलाई बताएका छन्।
भक्तपुरको राधेराधेबाट साथीलाई गाडीमा राखेर अर्को साथीलाई लिन उनीहरू कटुन्जे पुगेका थिए। सबै साथीहरू भेला भएर होली मनाउने तयारी उनीहरूको थियो।
गाडीमा चालकसहित ११ जना थिए।
‘साथीहरू गाडीको पछाडी एकापट्टीमात्रै बस्नुभएको थियो, ओरालो सडकमा ब्रेक लागेन, पल्टियो,’ चालक लामिछानेले प्रहरीलाई भनेका छन्।
यो दुर्घटनामा ११ जना नै घाइते भएकोमा एक जना डिस्चार्ज भइसके भने १० जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ।
‘चालकले मादक पदार्थ सेवन पनि गरेका थिएनन्, लाइसेन्स पनि छ,’ डिएसपी न्यौपानेले भने।
घाइते भएकाहरूबाट जाहेरी आएमा थप कारबाही अघि बढ्ने प्रहरीको भनाइ छ। घाइतेहरूले जाहेरी दिएमा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६२ को अंगभंग भएमा हुने सजायअनुसार कानुनी कारबाही अगाडि बढ्छ।
दुर्घटनाको कारणबाट अंगभगं भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
यदि चालकसँग अनुमतिपत्र नभएको हकमा थप ५ हजार रूपैयाँ जरिवाना हुने भनिएको छ। भने अर्काको गाडी चलाएको र अनुमति पत्र नभएको व्यक्तिको हकमा भने सवारी दिने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने कानुनमा उल्लेख गरिएको छ।
बिहीबार गुण्डुमा भएको दुर्घटनामा भने अहिलेसम्म सवार कसैले पनि जाहेरी दिएका छैनन्। उनीहरूले जाहेरी दिएनन् भने चालक लामिछानेविरूद्ध मुद्दा चलाउने कानुनी आधार छैन।
बेलगाम गाडी हाँक्नेलाई कानुन अभावका कारण उन्मुक्ति दिँदा यस्ता प्रवृत्ति दोहोरिने र दुर्घटनाका जोखिम बढ्ने गर्छन्।प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना भने लाग्छ।
दुर्घटनामा परेकाहरू वा उनीहरूका परिवारले जाहेरी दिएमा उपचार खर्च तिराउनेजस्ता काममा सहजीकरण गर्ने काम पनि ट्राफिक प्रहरीले गरिदिन्छ।
‘जाहेरी आएन भने चालकलाई जरिवाना तिराएर २४ घन्टाभित्रै छोड्ने गरिएको छ,’ उनले भने, ‘यस घटनामा जाहेरी परेन भने ट्राफिक नियम पालना नगरेको (तीव्र गतिमा सवारी साधन चलाएको) भनेर जरिवाना तिराउँछौं।’
गाडी अनियन्त्रित हुँदा विपरीत दिशाबाट आएको दुईपाङ्गे सवारीमा सामान्य क्षति पुगेको देखिएको प्रहरीको भनाइ छ। 'उक्त सवारी धनीले क्षतिपूर्ति मागेमा हामी त्यो पनि दिलाउँछौं,' डिएसपी न्यौपानेले भने।
उनका अनुसार लापरबाही गरी सवारी साधन चलाएको भनेरै कारबाही अघि बढाउन कुनै पनि प्रावधान छैन।
यातायात व्यवस्थापन ऐन २०४९ को दफा १४७ मा 'कुनै चालकले सवारी चलाउँदा लापरवाहीसाथ सवारी चलाउन हुँदैन' मात्र भनिएको छ।
लापरवाही गरे भने मुद्दा चलाउन सक्ने उल्लेख छैन। ‘तीव्र गतिमा चलाउन नपाइने नियम छ। यो घटनामा पनि त्यही लागू हुन्छ,' डिएसपी न्यौपानेले भने।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार कुनै पनि सवारी दुर्घटना हुँदा त्यसले कति मानवीय तथा भौतिक क्षति पुर्याएको छ भन्ने कुरामा भरपर्छ।
कुनै पनि सवारी साधन तीव्र गतिमा चलाएर दुर्घटनामा परेमा मृत्यु भएको खण्डमा चालकविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाइन्छ। यदि सामान्य घाइते भएका छन् भने त्यसको सम्पूर्ण उपचार खर्च चालक वा गाडी धनीले बेहोर्छ।।
साथै तीव्र गतिमा गाडी चलाउने चालकलाई जरिवाना र सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ।
लाइसेन्स नभएका व्यक्तिले सवारी चलाएको, दुर्घटनामा परेको र मानिसको मृत्यु भएको छैन भने दुई हजार रुपैयाँ जरिवाना र एक घन्टाको सचेतना कक्षा लिने व्यवस्था छ।
तर लाइसेन्स लिएको चालक छ र उसको पहिलो गल्ती हो भने पाँच सय रुपैयाँ जरिवाना लिएर सचेतना कक्षामा राखिन्छ। पटक-पटक गल्ती गरेको चालक भएका खण्डमा जरिवाना रकम बढ्दै जान्छ।
‘गल्ती गरेको भए कानुनअनुसार कारबाही हुन्छ तर झन्डै मान्छेलाई लागेको थियो भन्ने आधारमा कानुनी कारबाही हुँदैन,’ उनले भने, ‘तीव्र गतिमा चलाउनेलाई जरिवाना भने लिन्छौं।’
ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा, सवारी रोक्न निषेध गरिएको ठाउँ वा समयमा रोकेमा, सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी दिएमा, सडकमा गलत साइड तर्फबाट सवारी चलाएमा, एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा, अवस्था ठीक नभएको सवारी चलाएमा, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा, राती बत्ती नबाली सवारी चलाएमा लापरवाही गरेको मान्ने व्यवस्था छ।
त्यस्तै सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा, नम्बर प्लेट नराखी सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजनभन्दा बढी वजनको सवारी चलाएमा, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएमा, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएमा, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा, निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएमा, लापरवाहीका साथ सवारी चलाएमा,बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा कानुन उल्लघंन वा लापरवाही गरेको मानिन्छ।
'यी आधारहरूलाई हेरेर नै ट्राफिकले कानुनी कारबाही अगाडि बढाउँछ,' उनले भने।