बुद्धराज र निरमाया प्रजाको परिवार माडी–९ कुसुमखोलाबाट बसाइँ सरेर परूवी खोलाको किनारमा बस्न थालेको पाँच वर्ष हुन लाग्यो।
बुद्धराजको परिवार ३० वर्षदेखि कुसुमखोला बस्दै आएको थियो। निरमाया राप्ती–१३ (साविकको लोथर गाविसको वाक्राङ) बाट बिहे गरेर कुसुमखोला आइपुगेकी थिइन्।
२०७७ साल साउनमा चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला बस्ती खाली गरायो। हात्तीसहित पुगेका निकुञ्जका कर्मचारी र नेपाली सेनाले कोर (भित्री/मुख्य) क्षेत्रमा पर्ने भन्दै बल प्रयोग गरेपछि यहाँका १६० परिवार घरबार विहीन भएका थिए। उनीहरूलाई माडी नगरपालिकाले परूवी खोलाको किनार, राई डाँडा लगायत स्थानमा ल्याएर राखेको थियो।
'हामीलाई त्यहाँ एकछिन पनि बस्न मिल्दैन भनेर लखेटे। अहिले हाम्रो जमिनमा अरू मान्छे गएर बस्न थालेका रहेछन्। निकुञ्जले हामीलाई लखेटेर अरूलाई बस्न दिन मिल्छ,' निरमायाले प्रश्न गरिन्, 'कानुन त सबैलाई बराबर लाग्छ होला नि!'
निरमायाले कुसुमखोलामै जिन्दगी बिताउने सोच राखेर २०७० सालमा माइतीसँग ३ लाख ८० हजार रूपैयाँ सापटी मागेर १ बिघा जमिन किनेकी थिइन्। त्यहाँ उब्जिने मकै, कोदोले उनीहरूको परिवारलाई खान पुग्थ्यो। तोरी आफूलाई पुर्याएर बेच्थे।
'केही वर्षमा निकुञ्जले लखेटिहाल्यो। घर, जमिन सबै छाडेर हिँडियो। माइतबाट लिएको सापटी अझै ५० हजार रूपैयाँ फिर्ता गर्न बाँकी छ। आफ्नो जमिनमा अहिले अरूले रजाइँ गरिरहेका रहेछन्,' उनले भनिन्।
उनीहरू कुसुमखोलाको घर भत्काउँदा निस्किएका काठ लिएर परूवी झरेका थिए। नगरपालिकाले दिएको ५० हजार रूपैयाँले जस्तापाता किनेर सानो घर बनाएका छन्। अहिले अधियाँमा ९ कट्ठा जमिनमा खेती गर्ने गरेको निरमायाले सुनाइन्।


'यहाँ आउँदा जनता आवास कार्यक्रममार्फत पक्की घर बनाइदिने कुरा भएको थियो। पाँच वर्षसम्म पनि त्यो सुविधा पाएका छैनौं,' उनले भनिन्, 'बस्न, खेती गरेर खान त उतै ठीक थियो।'
अञ्जली र कमल प्रजाको परिवारले निकुञ्जले चेतावनी दिने बितिक्कै गाउँ छाडेको थियो। उनीहरू अन्यत्र पक्की घर पाउने आश्वासन पाएर सजिलै गाउँ छाडेका थिए।
'आफै नहिँडे निकुञ्जले लखेट्छ रे भन्ने हल्ला थियो। दिएको खानु, भनेको मान्नु जस्तो भयो। भनेको मानेर गाउँ चटक्कै छाडेर हिँड्यौं। तर यहाँ आएको वर्षौं भइसक्दा पनि सरकारले आवास दिएन,' अञ्जलीले भनिन्।
उनीहरू अहिले आफ्नै कमाइबाट पक्की घर बनाउँदै छन्।
'यहाँ अरू केही नभए पनि छोराछोरीलाई पढाउन पाइएको छ। यसैमा सन्तोष मानेका छौं,' उनले भनिन्, 'तर कुसुमखोलामा हामीलाई बस्न नदिएको ठाउँमा अरू पुगेर बस्दा छाडिदिएको भन्ने सुनेर खिन्न लागिरहेको छ।'
परूवीमै बस्दै आएकी चरीमाया प्रजाको गुनासो पनि उस्तै छ। कुसुमखोलामा आफूले भोगचलन गर्दै आएको जमिनमा उब्जिएको अन्नले गुजारा चलाइरहेको उनको परिवारलाई अहिले बिहान–बेलुका खान मजदुरी गर्नुपर्ने बाध्यता छ।
'जंगल नजिक भएकाले बेला, बेलामा जनावरहरूले दुःख दिन्थे। तर खानका लागि समस्या थिएन,' उनले भनिन्, 'यहाँ त अर्काको काम नगरी खान पाइँदैन। अरूको काम गरेर जीवन चलाइरहेका छौं। तर हामीलाई लखेटेर हाम्रो ठाउँमा अरूलाई बस्न दिनु त हुँदैन नि।'
२०७७ सालमा लखेटिएका २० परिवार केही समयमै फेरि कुसुमखोला फर्किएका थिए। उनीहरूलाई निकुञ्जले फेरि हटाएको थियो।
निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले कुसुमखोला क्षेत्रमा केही महिनादेखि मानवीय चहलपहल बढ्न थालेको बताए। उक्त क्षेत्रमा अहिले १४ परिवार बसिरहेको जानकारी निकुञ्जले पाएको उनले बताए।
'हामीले यस विषयमा निगरानी गरिरहेका छौं। उनीहरूलाई खेतीपाती गर्न दिएका छैनौं। नेपाली सेनाको एउटा अस्थायी टुकडी पनि त्यस क्षेत्रमा बसेको छ,' थापाले भने, 'निकुञ्जको कोरक्षेत्रमा पर्ने भएकाले यहाँको बस्ती खाली गरेका हौं। अहिले गएर बसेकाहरू पनि यहाँ बस्न पाउँदैनन्। माडी नगरपालिकासँग समन्वय गरेर हटाउँछौं।'


